0
गोल्डेन न्यूज संवाददाता
ज्येष्ठ नागरिकहरुका लागि पोखरामा पहिलो पटक खुलेको सुबिधायुक्त स्याहार केन्द्रले अब घरमै बसेका ज्येष्ठ नागरिकहरुको माग बमोजिम स्याहार सुबिधा प्रदान गर्ने भएको छ । ज्येष्ठ नागरिकहरुको हक हित र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ‘नेपाल जेरियाट्रिक सोसाईटी’ नामक संस्थाले स्याहारकर्ता घर घरमा पठाएर उक्त सुबिधा प्रदान गर्ने भएको हो । उक्त सेवा प्रदान गर्न संस्थाले तत्कालै केयर गिभर तालिम दिन थालेको छ । अशक्त र घरमा बाबुआमाको हेरबिचार गर्ने प्रशस्त समय नभएका परिवारहरुका सदस्यहरुका लागि यो कार्यक्रम अति उपयोगि मानिएको छ ।  ‘घर घरमा स्याहार गर्ने मानिसको आवश्यकता हामीले पुरा गर्ने जमर्को गर्दै छौं’ सोसाईटीका अध्यक्ष रहेका डा.अमृत घिमिरेले बताए । अति ब्यस्त घर परिवारलाई आ–आफ्नो काममा लागि रहन यस्तो कार्यक्रमले सघाउनका साथै त्यस्ता पारिवारिक सदस्यहरुको माया अब स्याहारकर्ताले प्रदान गर्ने छन् । यस प्रकारको कार्यक्रमले ब्यस्त शहरी जीवन भएकाहरुका लागि आफ्नो ब्यापार ब्यवसाय, उद्योग संचालनमा निरन्तर लाग्न मद्दत पुग्ने दावी स्पर्श आयुर्वेद अस्पतालका डा.सुवर्ण पौडेलको छ । डा.पौडेलका अनुसार अस्पताल र सोसाईटीका बिच सहमति गरी अगाडि बढाईएको उक्त कार्यक्रम तत्कालै संचालन गरिने छ । डाक्टर र नर्सिङ्ग सेवा समेत प्रदान गरिने यस प्रकारका कार्यक्रमका लागि सेवाग्राहीले केही रकम भने ब्यहोर्नु पर्ने छ । घरमा त्यस्तो वातावरण छैन र घर परिवारका सदस्य कामको शिलशिलामा घर बाहिर जानुपरेमा संस्थाले संचालन गर्दै आएको स्याहार केन्द्रमा आफ्ना बुबाआमालाई राख्न सकिने ब्यवस्था समेत मिलाईएको छ । पोषण युक्त खानपान, ध्यान, मनोरञ्जन, र फिजियो थेरापी, जडिबुटीको तेलबाट मसाज, बिरामी अनुसारको औषधि लगायतका स्वास्थ्य उपचारका सेवा स्याहार केन्द्रमा प्रदान गरिने संस्थाका कोषाध्यक्ष गोमा पराजुलीले बताएकी छन् ।
 
ज्येष्ठ नागरिकहरुको बिशेष खालको बिस्मृति हुने रोग जसलाई डिमेन्सिया भन्दछन्, त्यसको राम्रो ख्याल र उपचार गरिने छ । उनिहरुको मन खुशी बनाई राख्ने खालका आध्यात्मिक प्रबचन, धार्मिक भ्रमणको ब्यवस्था, भजन किर्तनका नियमित कार्यक्रम गरिने छन् । अनुभवी डाक्टर एवं बिभिन्न बिशेषज्ञ, नर्स, मनोबिज्ञानका अनुभवी ब्यक्तित्वहरु र कुशल स्याहारकर्ताहरु बाट प्रदान गरिने सेवाले ज्येष्ठ नागरिकहरु अवश्य रमाउने छन् । कार्यक्रमका बारेमा बिस्तृत जानकारी चाहिएमा पोखराको न्यूरोड स्थित स्पर्श आयुर्वेद अस्पताल र नेपाल जेरियाट्रिक सोसाईटीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Post a Comment

 
Top