0
गोल्डेन न्यूज संवाददाता 
मुलुकको सर्वोच्च संबैधानिक पदका लागि पहिलो ठूलो दल नेपाली कांग्रेसले पार्टीका पुराना नेता कुलबहादुर गुरुङलाई अघि सारेको छ भने सत्तारुढ दल नेकपा एमालेले सरकारमा सहभागी एक दर्जन साना दलको समर्थनमा पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई अगाडि सारेको छ । दोस्रो संविधानसभाको निर्वाचन लगत्तै २०७० माघ २६ गतेदेखि राजनीतिक सहमति र सहकार्य गर्दै जटिल परिस्थितीमा पनि एकजुट भएर मुलुकको नयाँ संविधान जारी गरेका कांग्रेस र एमाले संविधान घोषणा पश्चात नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया देखि एकअर्काबाट टाढिएपछि राष्ट्रपति पदमा भिड्न लागेका हुन्।
सरकार गठनमा कांग्रेसको आन्तरिक विवादका बाबजूद पार्टी सभापति सुशील कोइराला नै प्रधानमन्त्री पदको प्रत्यासी बनेपछि एमालेले एमाओवादी, राप्रपा नेपाल लगायत साना दलको समर्थनमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्दै सत्ताको बागडोर लिन सफल भयो। सरकार गठनको तीन हप्ता वित्नै लाग्दा एमालेले आफ्नो नेतृत्वमा रहेको गठबन्धनको समर्थनमा उपाध्यक्ष भण्डारीलाई प्रष्ट बहुमतका आधारमा जित्ने आशाका साथ अघि सारेको छ। तर कांग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा कोइरालाको पक्षमा मतदान गरेको आन्दोलनरत मधेसवादी दलले बुधबारको मतदानमा भाग नलिने अडानका बाबजूद पनि सत्तारुढ दलभित्रैका कतिपय सदस्यहरुको मत खोस्ने अपेक्षाका साथ पार्टी नेता गुरुङलाई अघि सारेको छ। एमालेको अहिलेको रणनीति भनेको प्रधानमन्त्रीको निर्वाचनमा प्राप्त ३ सय ३८ मत भन्दा बढी मत राष्ट्रपतिका उम्मेदवार भण्डारीको पक्षमा पार्न कसरत गरिरहेको छ भने कांग्रेसले सकभर मधेसवादी दल तथा अन्य साना दलको समर्थनमा बहुमत हासिल गर्ने। नभएमा पहिलो चरणमा मधेसवादी दल अनुपस्थित रहँदा पनि एमाले उम्मेदवारको मत कटाएर कुनै पनि उम्मेदवारको पक्षमा स्पष्ट बहुमत पुग्न नदिने रणनीतिमा नेताहरु व्यस्त रहेका छन्।
संविधानको कार्यान्वयन गरी स्थानीयतह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न गरी नयाँ संविधानको प्रावधान अनुसार तेस्रो कार्यकालका लागि राष्ट्रपतिको चयन नहुँदासम्मका लागि संक्रमणकालिन व्यवस्था अर्न्तगत भोलीको संसदको मतदानले दोस्रो कार्यकालको राष्ट्रपति चयन गर्ने अपेक्षा गरिएको छ। संसद् सचिवालयले राष्ट्रपति पदको निर्वाचन संविधानसभा भवनको ल्होत्से हलमा गर्ने भएको छ। सचिवालयले निर्वाचनका लागि ल्होत्से हलमा तीन वटा बुथको व्यवस्था गरेको छ। सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्मा रहेका ५ सय ९७ जना सांसद्लाई वर्णानुक्रम अनुसार तीन भागमा बाँडेर तीन वटा बुथको व्यवस्था गरिएको जानकारी दिए। सचिवालयले मतपत्र छापेर मतदान स्थलमा मतपेटिका समेत राखिसकेको छ। नेपाल मजदूर किसान पार्टीका उमेद्वार नारायण महर्जनले उमेद्वारी फिर्ता लिएका कारण नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी र नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ राष्ट्रपतिको दौडमा छन्। महासचिव भट्टराईले सांसद्हरुले दुईमध्ये एक उमेद्वारको नाममा रेजा लगाएर गोप्यरुपमा मत दिने व्यवस्था गरिएको र निर्वाचनका लागि करिब एक सय जना कर्मचारी परिचालन गरिएको जानकारी दिए। राष्ट्रपति पद्का लागि बुधबार विहान ११ बजे मतदान सुरु गर्ने कार्यक्रम छ। संसद्मा ५ सय ९७ जना सांसद् रहेका कारण २ सय ९९ मत ल्याउने उमेद्वार विजयी हुने छ ।
यता, नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी)का शीर्ष नेताबीच मंगलबार भएको भेटघाटमा सहमतिका आधारमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड दिइएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको द्विपक्षीय छलफलमा एमाओवादीका अध्यक्ष दाहाल र काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी थिए । दुई पार्टीबीच राष्ट्रपति निर्वाचन लगायत मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्नेमा एमाओवादीले जोड दिएको अवस्थामा दुई पार्टीबीच छलफल भएको हो ।  छलफलमा कुनै पनि ठोस निर्णय भने हुन नसकेको बताइएको छ ।
यसैबीच व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दलका तर्फबाट उम्मेदवारी दिएकी भण्डारीले आफू विजयी भएमा राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई अझ उँचो बनाउने अठोट व्यक्त गरिन् । उनले भनिन्,– “मलाई जुन विश्वासका साथ राष्ट्रिय ठूलो जिम्मेवारी सुम्पिन लागिएको छ, त्यो विश्वासलाई अझ उँचो राख्ने प्रयास म गर्नेछु ।”
 
नयाँ संविधान जारी भएपछि नेपाल नयाँ ढङ्गले अगाडि बढ्ने, नेपाली महिलाको पनि सहभागिता बढ्ने तथा संविधानको मर्म र भावना अनुरुप मुलुक अगाडि बढ्न लागेको सन्देश आफ्नो उम्मेदवारीले दिएको नेत्री भण्डारीले बताइन ।  राष्ट्रपति जस्तो जिम्मेवार पदमा आफूलाई पार्टीहरूले अगाडि सारेर जिम्मेवारी दिने प्रयास गर्नुलाई आफूप्रतिको विश्वासका रुपमा लिएको बताउँदै उनले दलहरू बीचको सहमति र विश्वासलाई कसैले पनि डगमगाउन दिनु नहुने धारणा राखिन् । “हामी सङ्क्रमण कालमै छौँ, हाम्रा सामु थुप्रै चुनौती छन्, त्यसैले राष्ट्रपति चयनका लागि सकेसम्म मिलेर जाँदा राम्रो हुन्थ्यो भन्ने मेरो धारणा रहेको छ,” उनले भनिन् । आफ्नो उमेदवारीलाई अहिले गठबन्धनमा रहेका सबै दलले समर्थन गरेको र बुधबार सम्ममा संसद्मा रहेका सबै दलको समर्थन प्राप्त हुने  विश्वास उनले व्यक्त गरिन् । नेपालको एकता, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समृद्ध लोकतन्त्र र समृद्ध जीवनका लागि आफ्नो उम्मेदवारीले नयाँ मार्गप्रशस्त गरेको उनको भनाइ थियो ।
 
यस्तै नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिएका नेता गुरुङले काँग्रेस लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको पुरानो पार्टी भएकाले विजयी हुने विश्वासका साथ पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताए । “जित हार भन्ने कुरा लोकतान्त्रिक प्रक्रियामा भइरहन्छ, जित हारको कुरा होइन, पार्टीमा लागेपछि निर्वाचन लड्नुपर्छ, निर्वाचन लड्ने जित्छु भनेर नै हो”–उनले भने ।  काँग्रेसको इतिहास र भूमिकालाई सम्झेर सबै पार्टीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्दै उनले आफू व्यक्तिगत रुपमा नभई काँग्रेस नै निर्वाचनमा लडेकाले विजयी हुने आधार धेरै भएको बताए । व्यवस्थापिका–संसद्मा काँग्रेस जस्तै अरू पनि लोकतान्त्रिक पार्टी भएकाले उनीहरूबाट आफूले समर्थन प्राप्त गर्ने उनको भनाइ थियो । सहमतिको प्रयास अझै भइरहेकाले बुधबार मतदान गर्ने बेलासम्ममा सहमति हुन सक्ने उनले बताए ।
यता, नेकपा(एमाले) संसदीय दलको बैठकले सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बनेकी पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारीलाई विजयी तुल्याउन सबैले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको उक्त बैठकले सरकारमा सामेल भएका र समर्थन गरेका सबै पार्टीका सांसदलाई अनिवार्य उपस्थित गराई राष्ट्रपतिका उम्मेदवार भण्डारीका पक्षमा मतदान गर्न÷गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।
 
बैठकपछि एमाले सांसद गुरुप्रसाद बुर्लाकोटीले प्रमुख तीन दलबीच सहमतिको अझै पनि खाँचो रहेकाले नेपाली काँग्रेसलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने, “भर्खरै सम्पन्न सभामुखको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारले प्राप्त गरेको मतभन्दा हाम्रो राष्ट्रपतिको उम्मेदवारले बढी मत प्राप्त गर्ने निक्र्योल बैठकले निकालेको छ ।” पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सो बैठक बसेको थियो ।
फरक–फरक पृष्ठभूमि
 
राष्ट्रपति पदका दुई दाबेदार कुलबहादुर गुरुङ र विद्यादेवी भण्डारीको व्यक्तित्व तथा राजनीतिक पृष्ठभूमि बिल्कुलै फरक छ । कांग्रेस नेता गुरुङ २००७ सालदेखि राजनीतिमा होमिएका अनुभवी राजनीतिज्ञ हुन् भने एमाले उपाध्यक्ष भण्डारी स्वर्गीय मदन भण्डारीको विरासत बोकेकी सशक्त नेतृ हुन् । विगतमा कांग्रेस महामन्त्रीसम्म भए पनि गुरुङको कांग्रेसमा बलियो पकड भएन । प्रायः ‘लो प्रोफाइल’मा बस्न चाहने उनको स्वभावले गर्दा कार्यकर्ता बीच पनि उनी राम्ररी घुलमिल हुन सकेनन् ।
 
ज्येष्ठ सदस्य भएका आधारमा गुरुङले संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने अवसर पाएका थिए । आफ्नो अध्यक्षतामा बसेको वैठकले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरेको सुखद स्मृति गुरुङसित रहेको छ । यद्यपि विगतमा उनलाई पटक(पटक राजावादीको आरोप लाग्ने गरेको थियो । गुरुङ २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन तथा २०६२र६३ सालको दोस्रो जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका थिए । विभिन्न समयमा गरी कुल चार वर्ष जेल जीवन व्यतीत गरेका गुरुङले पाँच वर्ष निर्वा्सित जीवनसमेत बिताएका थिए । राष्ट्रिय मेलमिलापको नीति लिएर विपी कोइराला भारतको निर्वासनबाट स्वदेश फर्किदा गुरुङ पनि त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए । गुरुङले इलाम हाइस्कुलमा उपप्रधानाध्यापकका रुपमा लामो समय अध्यापन गराए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा पूर्व सभामुख सुभाष नेम्वाङ त्यतिबेला गुरुङका विद्यार्थी थिए ।
 
यता, एमालेकी उपाध्यक्ष भण्डारीले भने नेपाली कम्युनिष्ट आन्दोलनका सर्वा्धिक चर्चित हस्ती मदन भण्डारीको बिरासत बोेकेकी छिन् । मदन भण्डारी जीवित रहँदासम्म जीवनसंगीनीको रुपमा उनलाई सघाएकी विद्या श्रीमानको मृत्यूपछि सक्रिय राजनीतिमा होमिइन् । यद्यपि उनी ०३५ सालदेखि नै राजनीतिमा संलग्न रहेकी हुन् । विद्या ०५० सालको उपनिर्वाचनमा तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित गर्दै उनी राष्ट्रिय राजनीतिमा स्थापित भएकी थिइन् । ०५१ सालमा उनले दमननाथ ढुंगानालाई चुनावमा हराइन् । मदनपत्नी हुनुको लाभ उठाएर राजनीतिक खुड्किलो उक्ले पनि विद्याले आफूलाई निखार्दै सशक्त महिला नेतृको पहिचान निर्माण गरिसकेकी छिन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसित उनको विगतदेखि नै सुमधुर सम्वन्ध रही आएको छ । विद्या राष्ट्रपति चुनिएमा नेपालको राजनीतिमा ओलीको एक छत्र प्रभूत्व कायम हुने चर्चा चल्ने गरेको छ । शालीन स्वभावकी विद्याले नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास निर्माण गर्ने अवसर चुम्न अब केही घण्टामात्रै बाँकी छ ।

Post a Comment

 
Top