0
गोल्डेन न्यूज संवाददाता
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी खुलाउन कूटनीतिक पहल थालिएको बताएका छन् । पोखरा उपमहानगर पालिकालाई ‘पूर्ण खोप सुनिश्चित नगर’ घोषणा गर्न आइतबार  पोखरामा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले दुई÷चार दिन अघिदेखि नै भारतले अनेक बहानामा मालवाहक सवारी साधानलाई सीमानामा रोकेको विषयमा कूटनीतिक प्रयत्न थालिएको र त्यो छिट्टै समाधान हुने बताए ।  छिमेकी मुलुकविरुद्ध नेपालको भूमि कुनैपनि हालतमा प्रयोग हुने नदिने उल्लेख गर्दै मन्त्री अधिकारीले छिमेकी मुलुकका जायज चासोको सम्मान गरिने बताए । चीनतर्फको सीमानाका खुलाउने बारेमा चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको पनि उनले जानकारी दिए । कसैको सहयोग बिना नै १० जिल्लाका एक हजार गाविसलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सकेकाले सन् २०१७ सम्म नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोषणा गर्न सकिने उनको दाबी थियो । पोखरा नगरका दुई वर्ष मुनिका बालबालिकाले पूर्ण खोप लगाएको भन्दै पोखरालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
 
यस्तै संविधान जारी भएको खुशियालीमा मन्त्री स्वयंले लेखनाथमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले नाकाबन्दीबाट दिइएको दबावले संविधानमा कुनै संशोधन नहुने भन्दै घोषित अघोषित नाकाबन्दीबाट दवाव सिर्जना गरेर कसैको संविधान संशोधन गर्ने अभिलाषा पुरा नहुने बताए ।
 
परराष्ट्र मन्त्रीको समेत कार्यभार सम्हालेका मन्त्री अधिकारीले सिमामा उत्पन्न भएको परिस्थितिको भारतीय अधिकारीलाई बोलाएर आफूले जानकारी लिएको उल्लेख गर्दै, उनले आन्दोलनलाई देखाएर अघोषित नाकाबन्दी गरिएको आरोप लगाए । मधेसमा आन्दोलन चलिरहँदा पनि दैनिक एक हजार तीन सय मालबाहक सवारी नेपाल भित्रिने गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले अहिले एउटा गाडी छिर्न नदिएको जानकारी दिए । विश्वमै यतिधेरै सहभागिताका साथ नेपालमा संविधान बनेको स्पष्ट पार्दै, मन्त्री अधिकारीले कोही बेखुशी हुन नपर्ने बताए । मधेश, जनजाती, दलित लगायतका माग छुटेका भए संविधान संशोधनबाट सम्वोधन हुन सक्ने उल्लेख गर्दै उनले बाह्य हस्तक्षेप सह्य नहुने बताए । नालापानी युद्धमा जस्तै अहिले सवै नेपालीमा राष्ट्रिय स्वाभिमानको भावना विकास भएको उल्लेख गर्दै, मन्त्री अधिकारीले दशगजा क्षेत्रमा अनाधिकृत रुपमा आन्दोलनकारी लाई आश्रय दिइएको बताए । उनले भुपरिवेष्टित राष्ट्रले पाउने सुविधा प्रयोगबाट बन्चित गराइए त्यसलाई अन्तर्राष्ट्रियकरण गरिने उल्लेख गरे । मन्त्री अधिकारीले अहिलेको विद्यमान परिस्थितिमा सवै नेपाली एक ठाउँमा रहनुको विकल्प नभएको समेत स्पष्ट पारे । नेकपा एमाले क्षेत्रीय कमिटीका संयोजक टिकाराम पगेनीको अध्यक्षतामा भएको कार्यक्रममा नगर समन्वय समितिका संयोजक शंकरनाथ पौडेलले संचालन गरेका थिए । चियापान कार्यक्रममा एमाले सहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top