0
गोल्डेन न्यूज संवाददाता
फेवा तालबाट जलकुम्भी झार हटाउने कार्यलाई पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि निरन्तरता दिएको छ । मिलियन्स अफ टुरिस्ट्स, मिलियन अफ अपरचुनिटिज अर्थात जति धेरै पर्यटक, उति धेरै अवसर भन्ने नारा सहित आयोजित यसपटकको विश्व पर्यटन दिवसका अवसरमा आइतबार यो कार्यक्रम आयोजना गरिएको हो । युएसएड, विश्व बन्यजन्तु कोष, केयर, राष्ट्रिय प्रकृति संरक्षण कोष र सामुदायिक बन उपभोक्ता महासंघ नेपालले कार्यक्रमलाई सघाएका थिए । कार्यक्रममा संघका पदाधिकारी, सदस्य, आमा समूह, सुरक्षाकर्मी, युवा क्लव र गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो । जलकुम्भी झारका कारण फेवा तालको अस्तित्वमा धक्का लागेपछि संघले विगत वर्षहरुबाट नै तालबाट जलकुम्भी हटाउँदै आएको छ ।
यसपटक संघले क्याम्पिङचोक नजिकबाट गैराको चौतारासम्म ताल र ताल र ताल किनारको जलकुम्भी हटाइएको थियो । फेवा ताल नरहे पोखराको पर्यटन समेत संकटमा पर्ने कारण आफूहरुले यस्तो अभियानलाई निरन्तरता दिंदै आएको संघका अध्यक्ष भरतराज पराजुलीले बताए । फेवा तालको जलकुम्भी हटाउन संघले हरेक दिन डुंगाको व्यवस्था समेत गरेको उनले जानकारी दिए । फेवा तालको संरक्षण गरौं भन्ने नारा सहित संघले हरेक वर्ष नेपाली नयाँ वर्षका अवसरमा फेवा नयाँ वर्ष महोत्सव समेत आयोजना गर्दै आएको छ । कतिपय वर्षहरुमा तालबाट जलकुम्भी हटाउने प्रतियोगिता र डुंगा दौड प्रतियोगिता समेत संघले महोत्सवको अवसरमा आयोजना गर्ने गरेको छ । होटल संघ फेवा तालको संरक्षणप्रति सचेत रहेको बताउँदै पराजुलीले फेवा तालको नाममा खोलिएका संस्थाले व्यवहारमा पनि संरक्षणको काम गर्न जरुरी भएको बताए । फेवा ताल हरेक वर्ष प्रदूषण र अतिक्रमणबाट आक्रान्त बन्दै आएको छ । २०१७ सालमा नौ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवा ताल २०५५ सालमा आइपुग्दा चार सय ४३ हेक्टरमा सीमित हुन पुगेको तथ्यांक रहेको छ ।

Post a Comment

 
Top