0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीचोकमा रहेको पृथ्वी वहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनका अवसरमा बोल्दै सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीका सहकारी प्रशिक्षक बालकृष्ण ढुंगानाले पृथ्वी सहकारीले छोटो समयमा राम्रो प्रगति गरेको बताए । ‘बचत तथा ऋणबाट शुरु भएको सहकारी छोटो समयमा बहुउद्देश्यीय बनेको छ,’ उनले भने,–‘अब बचत तथा ऋणमा मात्र सीमित नबनी सहकारीले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गर्नु आवश्यक छ ।’
 
फेवा विकास बैंकका सञ्चालक अर्जुन बञ्जाराले सम्भावनाहरुको पहिचान गरी सहकारीले लगानीलाई बढाउनुपर्ने बताए । ‘बैंकहरु ठूला लगानीमा मात्र केन्द्रित भइरहेको अवस्थामा साना लगानीका लागि सहकारीले जोड उत्तम देखिन्छ,’–उनले भने । सहकारीका अध्यक्ष ओमबहादुर कार्कीको अध्यक्षतामा भएको साधारणसभाले वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने दुई जना शेयर सदस्यलाई सम्मानित गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । शेयर सदस्यका छोराछोरीहरु मध्येबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई पनि सहकारीले नगदसहित पुरस्कृत गरेको छ । सहकारीको शेयर पुँजी आर्थिक वर्ष २०७१÷७२ को असार मसान्तसम्मा १ करोड ६६ लाख ५९ हजार रूपैयाँ पुगेको सचिव किरणप्रसाद बञ्जाराले जानकारी दिए । सोही आवमा सहकारीले ५ करोड ६२ लाख ७६ हजार रूपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । अघिल्लो आव २०७०÷०७१ मा सहकारीको निक्षेप संकलन २ करोड ५२ लाख १ हजार रूपैयाँ थियो । सहकारीले आव २०७१÷७२ मा ४ करोड ५७ लाख ४६ हजार रूपैयाँ कर्जा लगानी गरेको सहकारीका सञ्चालक सदस्य शोभित बस्यालले जानकारी दिए । सहकारीले आगामी दिनमा लगानीको क्षेत्रलाई फराकिलो बनाउँदै शेयर पुँजीलाई पनि बृद्धि गर्ने प्रवन्धक किसान अधिकारीले जानकारी दिए । सहकारीका शेयर सदस्यहरु १ हजार ३ सय ३० जना छन् ।
 
यसैगरी अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्था लिमिटेडको चौथो अधिवेशनले अनन्ता पोखरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी छिन् । आठौं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रतिनिधि प्रकाशचन्द्र भूजेलले महिलाहरुको सक्रिय आर्थिक सहभागिताले घाचोकको विकास हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । ७२ जना सेयर सदस्य रहेको सहकारीले विनाधितो ५० हजार रुपैयाँ लगानी गर्दै आएको छ । २०६४ सालमा स्थापना भएको सहकारीले रु २० रुपैयाँ रकम संकलन गर्दै हाल २ सय ५० रुपैयाँ मासिक बचत गर्दै आएका छन् । संस्थाकी अध्यक्ष अनन्ता पोखरेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन कोषाध्यक्ष पार्वती पोखरेलले गरेकी थिइन भने ७२ जना सेयर सदस्य लगायत अन्यको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
 
उक्त अवसरमा घाचोक दुग्ध सहकारीका अध्यक्ष कुलप्रसाद पोखरेल, घाचोक बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हरिदत्त पोखरेल, पिपलबोट दुग्ध सहकारीका अध्यक्ष केशव पोखरेल, अन्नपूर्ण संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष रविलाल पोखरेल, सस्थाका सल्लाहकार राजाराम पौडेल लगायतले अन्नपूर्ण कृषि सहकारीले थोरै लगानी गरेर पनि समाज परिवर्तन र आर्थिक विकासमा टेवा दिएको बताएका थिए । कृषि सहकारीले १० रोपनी जग्गामा बदाम, धान, फापर, आलु, मकै जस्ता सामूहिक खेती गर्दै आएको छ । सहकारीको चौथो अधिवेशनले उपाध्यक्षमा मीना पोखरेल, कोषाध्यक्षमा पार्वती पोखरेल, सचिवमा शिव भण्डारी र सदस्यहरुमा मीना पोखरेल, सीता जिसी, राधिका के.सी., सुशिला पोखरेल, गायत्री पोखरेललाई निर्वाचित गरेको छ । सहकारीको लेखा समितिमा जमुना पोखरेल संयोजक रहेको समिति समेत चयन गरेको छ । लेखा सदस्यहरुमा मालती पोखरेल र सकुन्तला पोखरेल रहेको सहकारीले जनाएको छ ।
 
यसैगरी पोखरा–८, सृजनाचोक स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लि. को १६औंैं वार्षिक साधारणसभा एक समारोहका बीच शनिबार सम्पन्न भयो । संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन संस्थाका सचिव शम्भुराज बाँस्तोलाले गरेका थिए । कूल अधिकृत पूँजि रु. सात करोड र चुक्ता पुँजी दुई करोड ३३ लाख रुपैयाँ रहेको संस्थाको १६औं वार्षिक साधरणसभाको बन्द–सत्रमा संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गद्वारा प्रस्तुत आ.व. ०७१÷ ०७२ को वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक दिल बहादुर के.सी. द्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष फणिन्द्र प्रसाद शर्माद्वारा प्रस्तुत आ.व. ०७१÷ ०७२ को वार्षिक आयव्यय प्रतिवेदनका साथै आ.व. ०७३÷ ०७४ का लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट लगायतका विविध एजेण्डाहरु उपर छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो । सोही अवसरमा वि.सं. २०७१ मा प्रवेशिका परिक्षा उत्तीर्ण संस्थाका शेयरसदस्यहरुका छोराछोरीहरु सिजन उदास, सविन अधिकारी, स्वस्तिका बाँस्तोला, प्रकृति गुरुङ्ग, निरुता देवकोटा, अञ्जन अधिकारी र प्रशान्त गुरुङ्ग लगायतलाई नगद पुरस्कार सहित बधाई ज्ञापन÷ सम्मान गरिएको थियो ।
 
त्यसैगरी आ. व. २०७१÷०७२ का लागि शेयर सदस्यद्वय नर बहादुर पुन र चक्रपाणी आचार्यलाई क्रमशः वर्षको असल बचत÷ निक्षेपकर्ता र उत्कृष्ट कारोवारिक सदस्यको रुपमा सम्मानित गरिएको सोही कार्यक्रममा संस्थाको टेलर पदमा कार्यरत शोभा घर्तीमगरलाई पनि नगद पुरस्कार सहित वर्षको उत्कृष्ट कर्मचारीको उपाधि प्रदान गरिएको थियो । संस्थाका उपाध्यक्ष सुरेन्द बहादुर गोदारले स्वागत मन्तव्य राखेको कार्यक्रममा सञ्चालक समितिका सदस्य एवम् कार्यक्रम संयोजक शिव कुमार पौडेलले कार्यक्रमको उद्देश्यमाथि पकाश पारेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष बिजय महर्जन, सल्लाहकार हरुको तर्फबाट फणिन्द्रराज शर्मा, सम्मानित हुनेहरुको तर्फबाट यस वर्षको उत्कृष्ट कारोवारिक शेयरसदस्य चक्रपाणि आचार्य, साधारण शेयर सदस्यको तर्फबाट दामु अधिकारी र महिला शेयर सदस्यहरु को तर्फबाट विधाता श्रेष्ठ द्वाले पनि आ–आफ्नो भनाई राखेका थिए ।

Post a Comment

 
Top