0
गोल्डेन न्यूज संवाददाता
पोखरामै पहिलोपटक शनिबार कविता र संगीतको सम्मिश्रण ‘कविता कन्सर्ट’ हुँदैछ । समाचारमूलक अनलाइन नेपाल रिपोर्टस् डटकमको प्रस्तुति तथा सहकार्यमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‘कविता कन्सर्ट’ का कार्यक्रम संयोजक उपेन्द्र पौडेलले जानकारी दिए । “कार्यक्रमको सबै तयारी सकिएको छ ।” मल्लले भने–“मोफसलमा पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं । कवितालाई सुन्ने र सुनाउने भन्दा माथि उठाएर यसको व्यवसायिकता को खोजीको गतिलो माध्यमको एउटा खोजी अभियानका लागि कार्यक्रम गर्न लागिएको हो ।”
 
शनिबार साँझ ५ बजेपछि सुरु हुने कार्यक्रममा पोखराका कविहरु सरस्वती प्रतीक्षा र ईश्वरमणि अधिकारी तथा काठमाडौंबाट श्रवण मुकारुङले आफ्ना कविता संगीतको सम्मिश्रणसंगै वाचन गर्नेछन् । कार्यक्रममा हरेक कविले आफ्ना चार÷चार वटा कविता प्रस्तुत गर्न दिइनेछ । इभेन्ट संयोजक सञ्जय मल्लले कवितामा सुगन्ध थप्नका लागि संगीतको प्रयोग गरी फरक गनै खोजिएको बताए ।
 
“यो नयाँ कार्यक्रम नभएपनि फरक किसिमको इभेन्ट गर्ने एउटा सूत्र हो ।” मल्लले भने–“सधैं केही न केही फरक साहित्यीक कार्यक्रम भैरहने पोखरामा यो कार्यक्रमले साहित्यप्रेमीलाई पक्कै पनि फरकपनको अनुभूति गराउनेछ ।” कार्यक्रममा पोखराको स्थानीय लक्ष्य ब्याण्डले कवितामा संगीत भर्नेछ । मौलिक बाजाको धुन प्रस्तुत गरेर ख्याती कमाएको यो ब्याण्डले कवितासँग–सँगै मौलिक संगीत पृष्ठभूमिमा बजाउनेछ ।
 
कार्यक्रममा सहकार्य गरेको नेपाल रिपोर्टस् डटकमका प्रकाशक तथा निर्देशक विज्ञान कँडेलले साहित्य विधालालाई अझै पनि मिडियाले दिनुपर्ने ठाउँ दिन नसकेको भन्दै यसको सकारात्मक प्रचारमा जोड दिनुपर्ने बताए । “कविता कन्सर्टमा सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं ।” उनले भने–“सधैं मिडियाले अरुसँग विज्ञापन माग्ने र समाचार लेख्ने काम मात्रै गर्नुपर्छ भन्ने छैन । सामाजिक क्षेत्र र साहित्यिक क्षेत्रको प्रवद्र्धनका लागि हाम्रो टीम प्रतिबद्ध छ ।” शनिबार साँझ ५ बजेपछि पोखराको दरबारथोक ब्याँकेटमा सुरु हुने कार्यक्रममा सहभागी हुनका लागि आयोजकले रु. दुई सय र पाँच सय दरको टिकटको व्यवस्था गरेको छ ।

Post a Comment

 
Top