0
राजाराम पौडेल÷गोल्डेन
नेपाली चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाईसकेका पोखरेली अभिनेता राजबल्लभ कोइरालाले सधंै चलचित्र क्षेत्रमा मात्र लागेर बाँच्न सक्ने स्थिति नभएको बताउँछन् । एक समय आफ्नो सम्पूर्ण ध्यान अभिनय क्षेत्रमा लगाएपनि अब भने यस क्षेत्रको विकल्प खोज्नु परेको उनी बताउँछन् । यो क्षेत्रमा लागेर नाम कमाएपनि जीवन धान्न मुश्किल हुने उनको दुःखेसो छ । ‘पेशाले मात्र कलाकार बनाएको छ, माहोल छैन’ उनले भने–‘अब फूल टाइम काम गर्दिन, पार्ट टाइम मात्र काम गर्छु’ । हुन त पछिल्लो समय अमेरिकामा बस्दै आएका उनले विगत दुई वर्षदेखि नेपाली चलचित्रमा अभिनय गरेका छैनन् । ‘सधैं चलचित्र क्षेत्रमा लागेर मात्र बाच्न सक्ने स्थिति छैन’ उनले थपे–‘परिवारको दवावका कारण पनि अमेरिका जानु परेको हो ।’ अब चलचित्रमा स्तरलाई ध्यान दिएर मात्र अभिनय गर्ने योजना उनको छ । ‘अफर आए भन्दैमा जस्तोसुकै चलचित्रमा अभिनय गर्दिन’–उनले भने । बढि बोल्नु भन्दा कम बोलेर मुसुक्क हाँसेको राम्रो भएझैं छनौट गरेर उत्कृष्ट थोरै चलचित्रमा अभिनय गर्ने उनको भनाइ छ । उनी विगत केहि वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।
यसैक्रममा उनै पोखरेली अभिनेता कोइरालाले अभिनय गरेको चलचित्र ‘हाईवे टु धम्पुस’ शुक्रबारबाट नेपालमा रिलिज भएको छ । नेपाली कथावस्तु समेटेर बनेको हाइवे टु धम्पुसु रिजिल गर्न अभिनेता राजबल्लभ कोइराला नेपाल आएका छन् ।  नेपालका मल्टिप्लेक्स हलमा यो  चलचित्र प्रदर्शन भएकोे छ ।
चलचित्रमा नेपालका विभिन्न साँस्कृतिक र भौगोलिक पक्ष समेटिएको छ । यो फिल््म आफ्नो करिअरका लागि महत्वपूर्ण रहेको उनले बताए । चलचित्रमा कोइराला सहित बेलायती अभिनेत्री रिचेल हर्ड उड, सुयशा राना, देशभक्त खनाल र सयुश गुरुङ लगायतले अभिनय गरेका छन् । चलचित्रमा पोखराका साथै आसपासको क्षेत्र, सोलुखुम्बुको फाप्लुका रोमाञ्चक दृश्यका अलावा बेलायत, अमेरिका र कुवेतका केही दृश्य रहेको कोइरालाले बताए । चलचित्रको पात्र नेपाली हरेक चिज नेपाली भएको यो चलचित्रले दर्शकको मन जित्ने उनको विश्वास  छ । ‘विदेशमा राम्रो रिस्पोन्स र नेपालमा पनि मन जित्नेमा आशावादी छु’–उनले भने ।
नेपालका झण्डै ८ हलमा प्रदर्शन हुने चलचित्र पोखराको श्रीकृष्ण हलमा प्रदर्शन भैरहेको छ । चलचित्र एक मिलियन डलर को लागतमा निर्माण भएको हो । चलचित्र प्रदर्शनको क्रममा नेपाल आएका उनी शनिबारनै अमेरिका फर्कनेछन् । चलचित्रलाई नेपालमा आइसफल प्रोडक्सनले वितरण गरेको हो । चलचित्रले पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उनको विश्वास छ । चलचित्रलाई निर्देशक रिक म्याक फारल्याण्डले निर्देशन गरेका हुन् । चलचित्रले यसअघि हर्टल्यान्ड चलचित्र फेस्टिभल, मेड्रिड अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल र सोहो अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल लगायतमा विभिन्न अवार्ड जित्न सफल भइसकेको छ । चलचित्रको सुटिङ करिब दुई वर्षअघि सम्पन्न भएको थियो । चलचित्र असोज २२ गतेदेखि अमेरिका लगायत देशमा समेत रिलिज हँुदैछ । यो चलचित्रमा अभिनय गर्न पाएको अवसरले उत्साहित बनेका उनी दर्शकको मन जित्नेमा ढुक्क छन् । चलचित्रमा नेपाली भाषाका अलावा सरल अंग्रेजी भाषा प्रयोग गरिएको छ । यो चलचित्रका लागि अडिशन मार्फत उनी छनोट भएका थिए ।
हालसम्म २७ नेपाली चलचित्रमा अभिनय गरिसकेका कोइरालाले यसअघि २० लाख भन्दा कम लगानीमा उनले बनाएको चलचित्र ‘राघव’  युटुवबाट रिलिज गरेका थिए । रिलिजमा नयाँ प्रयोग गरेका कारण यो चलचित्रबाट उनको चर्चा राम्रो चलेको थियो । 
त्यसो त यस क्षेत्रमा प्रवेश गर्नु भन्दा अगाडि नै उदेष श्रेष्ठको ‘किन मायामा’ र कर्णदासको ‘भेटिएर छुटिनु’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरी मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेका उनी विभिन्न प्रचार–प्रसार सामाग्रीमा पनि काम गरिसकेका छन् । अहिलेसम्म डेढ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरी सकेका छन् उनले । बुबा तीर्थराज र आमा माता रमा कोइरालाको कोखबाट पोखराको गैह्रापाटनमा जन्मिएका उनी सानैदेखि अभिनयमा रुचि देखाउने गर्दथे । बाल्यकालमा हसाँउने, अभिनय, कविता सुनाउने उनको बानी थियो ।
पोखराको कुम्दिनी होम्स उच्च माविमा पढ्ने क्रममा नै उनले विभिन्न कार्यक्रममा भाग लिने गरे । एफ.एम. रेडियोको क्रेज एकदम बढि भएको तत्कालिन समयमा पोखरामा स्थापित पोखरा एफएममा कार्यक्रम सञ्चालकको रुपमा उनले काम गरे । सबैलाई हसाउँने उद्देश्यका साथ ‘ब्रेक फेल’ नामक कार्यक्रमले उनको चर्चा चुलिएको थियो । यसै क्रममा चलचित्र पनि पढाइने भन्ने विज्ञापनमा उनको आँखा प¥यो र  चलचित्र सम्वन्धी ज्ञान हासिल गरी नेपाली चलचित्र क्षेत्रमा केहि गर्ने सोच उत्पन्न भयो । आफ्नो जन्म भूमि र श्रोतालाई छोडी उनी काठमाडौं  हानिए । चलचित्र सम्बन्धी अध्ययन सकिए लगत्तै नेपाल टेलिभिजन बाट प्रसारित ‘सुपर एक्टिङ्ग कम्पिटिसन’ भाग लिएर आम नेपाली दर्शकको मन उनले जिते ।  अनि दिपक श्रेष्ठले आफुले निर्देशन गर्ने पिल्म ‘पर्खि बसे’ मा राज बल्लभ कोइरालालाई चान्स दिइहाले । यो चलचित्रले विभिन्न ठाउँमा प्रर्दशनको सयौं दिन मनाउन पनि सफल भयो । यसरी यस चलचित्र पश्चात उनले नेपाली चलचित्र क्षेत्रमा आफ्नो ओजनदार छवि बनाउन सफल भए । जुन हालसम्म पनि निरन्तर कायम छ । अभिनेता कोइराला धर्मकर्ममा विश्वास गर्छन् । धर्मकर्मले मानिसलाई अनुशासित बनाउने उनको भनाइ छ ।
प्रतिक्रियाका लागि ः

Post a Comment

 
Top