0
पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्माले विश्वविद्यालय को घेराभित्र बसेर कसैले पनि राजनीतिक नारा दिन नहुने बताएका छन् । पोखरा विश्वविद्यालयको हाताभित्र आइतबार आयोजित नवनियुक्त पदाधिकारीको स्वागत कार्यक्रममा उनले भने–‘तपाई हामी सबैमा राजनीतिक आस्था छ, यसबाट कोहि पनि अछुतो छैन, तर राजनीति गर्नु छ भने विश्वविद्यालय बाहिर बसेर गर्नुपर्छ, आस्थाको बलबाट अब विश्वविद्यालय बन्द हुनेछैन ।”
 
उपकुलपति प्रा. शर्माले भने–‘मैले ४० वर्ष त्रिवि सेवामा व्यतीत गरेको छु, प्राध्यापक संघ लगायत धेरै संघ संस्थामा मेरो सक्रिय आबद्धता छ, मैले मान्छेको मनोविज्ञान पनि राम्ररी बुझ्दछु त्यसैले विश्वविद्यालयको व्यवस्थापन मा कुनै तलमाथि हुने छैन ।’ उपकुलपति शर्माले आफूले आर्जन गरेको ज्ञान र अनुभवललाई पोखरा विश्वविद्यालयको समग्र विकासमा समर्पित गर्ने स्पष्ट पारे । शिक्षक, कर्मचारीको योग्यता, दक्षता अभिवृद्धि गर्न पारदर्शिपूर्ण किसिमले सबैसँग बसेर कार्य गर्ने विचार व्यक्त गर्दै उनले जवाफदेहिता, उत्तरदायित्वलाई अनुभूति दिलाउने गरी विश्वविद्यालयको नीति, नियममा आवश्यक परिवर्तन र परिमार्जन गरिने बताए । उनले करार प्राध्यापकलाई बेहाल भएर जान नदिने उल्लेख गर्दै त्रासको वातावरणमा नबसी एकताबद्ध भएर कार्य गर्न सबैलाई आग्रह गरे ।  कार्यक्रममा बोल्दै विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह–प्राध्यापक गोविन्द प्रसाद शर्माले विश्व विद्यालयको विकास र उन्नतिमा मर्यादित तवरले सबैसँग हातमालो गरी स्वार्थ भन्दा माथि उठेर कार्य गर्न आफू दृढ संकल्पित रहेको बताए । उनले विसंगतिले दुर्घटना निम्ताउने उल्लेख गर्दै विश्वविद्यालयभित्र जहाँ–जहाँ विसंगति छन्, तीनको अन्त्य गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयलाई कुनै क्षति नहुने किसिमले आफूले कार्य गर्ने उल्लेख गर्दै उनले छलफल र सहमतिका आधारमा विश्वविद्यालयलाई नियमित गतिमा डो¥याउँन सकारात्मक भएर सबै लाग्नुपर्ने स्पष्ट पारे । मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. ईन्दप्रसाद तिवारीले संकुचित दायराभन्दा माथि उठेर कार्य गरे विश्वविद्यालयको छविमा अभिवृद्धि हुने बताए । कार्यक्रममा व्यवस्थापन संकायका डीन डा. कर्णवीर पौडेलले ८० प्रतिशत जनसहभागितामा चलेको पोखरा विश्वविद्यालयलाई अगाडि बढाउन नवनियुक्त पदाधिकारीले कमाण्डर भएर विश्वविद्यालयलाई गति दिनुपर्नेमा जोड दिए । कार्यक्रममा परीक्षा नियन्त्रक बलराम भट्टराईले विश्वविद्यालयमा व्यक्ति केन्द्रीत राजनीति हावी भएको भन्दै विश्वविद्यालयलाई आफ्नै नियम कानूनभित्र चलाउनु पर्नेमा जोड दिए । पोवि प्राध्यापक संघका सभापति उपप्राध्यापक निराजन बमले विश्वविद्यालयमा सुधारको खाँचो औल्याउँदै नयाँ कलेजको सम्बन्धन भन्दा चालु कलेजको अवस्थालाई सुधार्नुपर्ने, आंगिक कलेजको विस्तार गर्नुपर्ने, करार प्राध्यापकको समस्यालाई दुई तीन महिनाभित्र सम्बोधन गर्नुपर्ने, शिक्षकको नन टिचिङ्ग एलाउन्सेसमा वृद्धि गर्नुपर्ने, शिक्षक कर्मचारीलाई आवासको व्यवस्था गर्नुपर्ने, भेदभाव रहित किसिमले अध्ययन विदा स्वीकृत गरिनुपर्ने, विश्वविद्यालयलाई राजनीतिक निर्देशनमा सञ्चालन गर्न नहुने तथा संकायका डीनको क्षेत्राधिकार लाई बढाउनुपर्ने लागयतका सुझाव एवं माग प्रस्तुत गरेका थिए ।
 
पोवि कर्मचारी संघका अध्यक्ष उपप्रशासक रविन्द्रप्रसाद बरालले अख्तियारको त्रास र भयले जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृति बढ्दै गएकोले त्यस्तो प्रवृत्तिलाई निरूत्साही पार्न विश्वविद्यालयमा जवाफदेहिताको विकास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन उपप्रशासक रजनी के.सी.ले गरेकी थिइन ।

Post a Comment

 
Top