0
गोल्डेन न्यूज संवाददाता
नियमित मर्मत नभएको फेवातालको बाँध पछिल्लो पटक आएको बाढीपहिरोले जोखिममा परको छ । प्राविधिकहरूका अनुसार बाँधको संरक्षणका लागि बनाइएका संरचना भत्किन थालेका छन् । तत्कालै मर्मत नगरिए मुख्य बाँधलाई असर पुग्ने भन्दै प्राविधिकले विस्तृत अध्ययन गरी बृहत् मर्मत गर्नुपर्ने बताएका छन् । २०३९ मा पुनर्निर्माण सम्पन्न बाँध ३३ वर्ष पुग्दासम्म खासै मर्मत गरिएको छैन । फेवातालमा पटक–पटक आउने बाढी, त्यसले ल्याउने ढुंगामुढाले बाँधलाई ठक्कर दिइरहेको र जोगाउन तल्लो तटमा बनाइएका संरचना भत्किन थालेका छन् । ‘अहिलेसम्म ताल पुरियो, अतिक्रमण, प्रदूषित भयो, जलकुम्भीले ढाकियो भन्ने कुरामात्रै आउने गरका छन्,’ सिँचाई विकास डिभिजन कास्कीका प्रमुख तुलसीराम भट्टराईले भने,–‘बाँधबाट पानी खस्ने ठाँउको संरचना बगेको छ । तत्कालै मर्मत गर्न नसकिए बाँध जोखिममा पर्छ ।’
 
फेवाताल मानव निर्मित ताल भएकाले बाँधको संरक्षण मुख्य काम रहेको भन्दै उनले नियमित बजेटले काम गर्न नसकिने र बृहत् मर्मतका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने बताए । विशेषगरी रानीवनतर्फको नुवाकोटे नहरको संरचना बगेर पहिरो खस्न थालेको छ । रिटेनिङ वालहरू पनि बगेका छन् । साउन दोस्रो साता फेवाताल जलाधार क्षेत्रमा आएको भीषण बाढीपहिरोले बढी क्षति पु¥याएको छ ।
 
बाँधमा रहेका ४ मध्ये एउटा ढोका खुल्दैन । ढोकाका रबर सिलसमेत सबै बिग्रेको छ । कतिपय स्विचहरू काम नलाग्ने भएका छन्। ‘पहिले कोठाबाटै पूर्णरूपमा अटोमेटिक सिस्टमबाट काम हुन्थ्यो,’ गेट अपरटरे रेशम आलेले भने,–‘तर अहिले त्यो सिस्टम सबै बिग्रेकाले सानो कामका लागि पनि दौड्नुपर्छ । समग्रमा सबै सिस्टम बिग्रिएको छ ।’ पानीको सतह नाप्ने सूचकदेखि रिमोट कन्ट्रोल कोठामै हुने गरकोमा अहिले सबै बिग्रिएको उनले बताए ।
 
बाँधमा रहेका फलामका उपकरणमा खिया लागेको छ । हाल करिब ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको फेवातालमा ५ करोड ३० लाख क्युविक मिटर पानी भण्डारण छ । यदि बाँध भत्किन पुगे तालको पानीले तल्लो क्षेत्रका बस्तीमा असर पुग्न सक्छ । २०१८ माघ ३ गते भारत सरकारको सहयोगमा बनेको बाँध २०३१ पुस ११ गते भत्केको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको सहयोगमा २०३९ मा पहिलेको भन्दा केही तल बाँध पुनर्निर्माण गरिएको कान्तिपुरमा खबर छ । तालको पानीबाट ३ सय २० हेक्टर जमिनमा सिँचाइ हुँदै आएको थियो । त्यो नहरसमेत पूरै जीर्ण बन्दै गएको छ । तालको पानी लगेर १ मेगावाटको फेवा जलविद्युत् आयोजना पनि सञ्चालनमा छ । ताल, सिँचाइ र जलविद्युत् उत्पादन गर्ने उद्देश्यसहित बाँध बनाइएको थियो । फेवा नहर सिँचाइ जलउपभोक्ता समिति अध्यक्ष पुण्डरी बरालले समस्या देखिनासाथ इस्टमेटसहित केन्द्रमा जानकारी गराएको र मन्त्रीलाई समेत देखाउदा सुनुवाइ नभएकाले समस्या बढ्दै गएको बताए । ‘हामी उपभोक्ताले खर्च गररे मर्मत गर्न सकिने कुरा भएन,’ उनले भने,–‘समस्या देखाएर समाधानमा दबाब दिने हो । तर, सुनुवाइ नभएपछि केही लागेन ।’ उनले संरक्षणकर्ताको पहल नथालिए बाँध उच्च जोखिममा रहेको र यसले राष्ट्रिय सम्पदा र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य फेवातालको अस्तित्वसमेत खतरामा रहेको बताए ।

Post a Comment

 
Top