0
नेपालको राजनीतिक घटनाक्रम सँग जोडिएर आएको ‘अघोषित नाकाबन्दी’ हटाउन भारत सरकारले तत्कालबाट कुटनीतिक परामर्श, सुरक्षा स्थितिको समीक्षा र बिभिन्न तहमा संवादको उपाय पहिल्याउने बताएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ताका लागि सोमबार अपरान्ह मन्त्री निवास पुगेका बाणिज्य तथा आपुर्ती मन्त्री सुनिलबहादुर थापाले नाकाबान्दीका कारण नेपाली आम जनताले बेहोरेको कठीनाइ र समस्या समाधानमा रहनुपर्ने तदारुकताका बारे ‘ब्रिफिङ’ गरेका थिए । ‘भारतले नेपालसँग पारवहन तथा ढुवानीका बिषयमा कहींकतै पनि नाकाबन्दी गर्ने निर्णय गरेको होइन’, मन्त्री स्वराजको भनाइ उद्घृत गर्दै मन्त्री थापाले भने–‘तर सिमावर्ती क्षेत्रमा देखिएको धर्ना÷जुलुससहितको असुरक्षित अवस्थाका कारण ढुवानीमा संलग्न व्यवसायीले आफ्नो सुरक्षामा चिन्ता देखाएपछि स्वतस्फुर्त पारवहन रोकिन गएको हो । यो समस्यामा तत्काल हल खोज्न नेपाल–भारत दुबै पक्षको पहलकदमी जरुरी छ ।’ नाकाबन्दीको बिषय फैलदैं गएर द्वैदेशीय मामलाले गम्भीर रुप लिंदै गएपछि भारत सरकारले तत्कालका लागि यो सरोकारमा ‘सेफल्याण्डिङ’ खोजेको संकेत पाइएको छ ।  मन्त्री थापाले नेपालमा संविधान जारी भएपछि केही सिमावर्ती क्षेत्रमा देखिएको बिरोध र असन्तुष्टिलाई सम्बोधन गर्न उच्चस्तरीय वार्ता टोलीले सोमबारबाटै काम थालिसकेको जानकारी गराउँदै सिमासम्म आएको सामानलाई सुरक्षित ढङ्गमा पारी पुर्याउने जिम्मा नेपाल सरकारको भएको ध्यानाकर्षण गराएका थिए । मन्त्री थापाले नेपालको संविधान आफैंमा प्रगतीशिल तथा संशोधनका लागि सधैं खुला रहेका कारण वार्ताका माध्यमबाट नेपालको राजनीतिक समस्या चाँडै हल हुने आश्वासन मन्त्री स्वराजलाई दिलाएका थिए । मन्त्री स्वराज सोमबार राति न्यूयोर्क राष्टसंघीय महासभामा जाने तयारी भएकाले तत्कालै भेटघाट मिलाइएको दुतावासका एक अधिकारीले बताए । विदेशमन्त्री स्वराजसँग विदेश मन्त्रालयमा नेपाल डेस्कका सहसचिव अभय ठाकुर, उपसचिव प्रियंका चौहानसहितका पदाधिकारी सहभागी थिए । मन्त्री थापासँग नेपाली दुतावासका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र द्धित्तिय सचिव शिवानी बस्नेत समेत वार्तामा थिए । तर, दुबै पक्षका प्रतिनिधिमण्डल बाहेक मन्त्रीद्धयले १५ मिनेट छुट्टै पनि वार्ता गरेका थिए । वार्तालगत्तै काठमाडौंमा मन्त्री महेश आचार्य र डा.रामशरण महतलाई वार्ता–उपलब्धीबारे थापाले जानकारी गराए । प्रधानमन्त्री सुशील कोइरालाले पनि दिल्ली–वार्ताका बारेमा मन्त्री थापासँग फोन गरेर सरोकार राखेका थिए । ‘सरोकार नरहेको र नभएको बिषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोधमा स्वर उचालिन थालेको तथा कहीं भारतीय सरोकारका बिषयमा अनर्गल प्रचार गरिएकोमा विदेश मन्त्रीले चासो राख्नुभएको थियो’वार्तामा सहभागी एक अधिकारीले भने–‘प्रधानमन्त्री मोदी मंगलबार न्यूयोर्कबाट दिल्ली फिरेपछि वा तत्कालै नेपालमा देखिएको समस्याका बारेमा संवोधन हुने संकेत पाएका छौं ।’ साउथ एसियन इकोनमिक इन्क्लाभको बैठकमा सहभागी हुन आएका मन्त्री थापाले नेपालको राजनीतिक परिस्थिती र आपुर्ती कठीनाइका बारेमा एकसाथ विदेश मन्त्रीलाई जानकारी गराएका थिए । ‘नेपालमा आइपरेको समस्याका बारे हामी जानकार छौं र, एकसाथ दुःखी पनि बनेका छौं भनेर विदेश मन्त्री भन्नुभयो–मन्त्री थापाले भने–‘मैंले पनि १७ बर्षपछि नेपाल–भारत सम्बन्धमा आएको नयाँ आयाम र प्रधानमन्त्री मोदीको नेपाल सद्भाव पनि एकाएक अहिले नकारात्मक बनेर गएको यथार्थ अवगत गराएको थिएँ ।’ मन्त्री थापाले सिमावर्ती बिन्दूदेखि नेपालतिर सामान लैजान नेपाल सरकारले पूर्ण सुरक्षा दिलाउने प्रतिबद्धता दिलाएका थिए । ‘नाकाबन्दी भएकोबारे कसले के खोंचें थाप्यो भनेर कुरा गरिरहनुको अर्थ थिएन’मन्त्री थापाले भने–‘मैंले तत्काल देखिएको आपुर्ती समस्या सुल्झाउन र पारवहन अवरोध हटाउन दुबै देशले राख्नुपर्ने सरोकारमा जोड दिएँ ।

Post a Comment

 
Top