0
गोल्डेन न्यूज संवाददाता
पोखरा–३, नारायणस्थानस्थित श्री नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले कृष्ण जन्माष्टमीको पावन अवसरमा श्रीकृष्ण महोत्सव तथा रथयात्रा कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रम अन्तर्गत श्रीकृष्णजन्माष्टमीको दिन बेलुका पण्डित तापेन्द्र रिजालबाट श्रीकृष्ण लिलाका कथा प्रवचन एवम् कृष्णझूला कार्यक्रम आयोजना गरिनुका साथै भजनकिर्तन सम्पन्न गर्दै मध्यरातमा पण्डित बासुदेव अधिकारीद्धारा भगवान कृष्ण तथा लक्ष्मीनारायणको विधिपूर्वक पूजाअर्चना गराइएको थियो भने भाद्र २० गते आइतबारका दिन भगवान कृष्णको मूर्ति रथमा राखेर बाजागाजा र भजनकीर्तनका साथमा नारायणस्थान मन्दिरबाट नदीपुर, पालिखेचोक, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल हँदै कन्या क्याम्पस भएर नारायणस्थानमा पुगेर रथयात्रा सम्पन्न गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार हरु एवम् सदस्यहरु, महिला मिलन आमा समूह, बालमन्दिर टोल विकास संस्था, विद्यालय र महर्षि गुरुकुल वेदविद्याश्रमका विद्यार्थीहरु, रामानन्दाचार्य सेवा पीठका साधकहरु एवम् श्रद्धालु भक्तजनहरु तथा कार्यसमिति परिवारको उत्साहप्रद सहभागिता रहेको थियो । संस्थाकी सदस्य शान्ति पराजुलीको संयोजकत्वमा भएको कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई संस्थाका अध्यक्ष महेश पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । वि.सं. १९३७ पूर्व फिरन्ता व्रह्मचारी गणेश गिरीद्वारा स्थापित पोखराको पुरानो एवम् ऐतिहासिक लक्ष्मीनारायण मन्दिरको संरक्षण, संम्बद्र्धन गर्न वि.सं. २०६१ मा स्थापित श्री नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले हरेक वर्ष नियमित रुपमा श्रीकृष्ण महोत्सव, कृष्णझूला तथा रथयात्रा कार्यक्रमको आयोजना गर्दै आएको छ र संस्थाको वृहत्तर आध्यात्मिक उन्नतिका लागि गत श्रावण महिनामा सद्गुरु महायोगी सिद्धबाबा डा. श्रीवैष्णव कृष्णदास महाराजजीलाई पीठाधिशमा नियुक्त गरी पदस्थापन गराइसकेको छ ।

Post a Comment

 
Top