0
गोल्डेन न्यूज संवाददाता
विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) ले प्रत्येक वर्ष संचार क्षेत्रका लागि प्रदान गर्दै आएको डब्लु डब्लु एफ संचार संरक्षण पुरस्कार–२०१५ पत्रकार शिव शर्मालाई प्रदान गर्ने भएको छ । कान्तिपुर राष्ट्रिय दैनिकका पोखरा स्थित संवाददाता शर्माले संरक्षण सम्बन्धी समाचार तथा लेख प्रकाशन गरी योगदान पुराएवापत अवार्ड दिन लागिएको कोषले जनाएको हो ।
राष्ट्रिय संरक्षण दिवसको अवसरमा असोज ७ गते प्रदान गरिने पुरस्कारको राशी २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । वन वातावरण, जैविक विविद्यता तथा वन्यजन्तुको क्षेत्रमा कलम चलाउने देशभरबाट एक पत्रकारलाई छनौट गरी यो पुरस्कार प्रदान गरिदैं आएको छ । शर्मा बिगत डेढ दशकभन्दा बढी समयदेखि पोखरामा रहेर पत्रकारिता गदै आएका छन् । उनले वन्यजन्तु, वातवारण तथा पर्या–पर्यटनको विषयमा कलम चलाउदै आएका छन् । संरक्षण सम्बन्धी समाचार लेख्नमा रुची राख्ने शर्माले यसै वर्ष अर्को राष्ट्रिय स्तरको पुरस्कार पनि प्राप्त गर्न सफल भएका छन् । नेपाल वातावरण पत्रकार समुहले हरेक वर्ष प्रदान गर्ने वातावरण पत्रकारिता पुरस्कार पनि शर्माले नै पाएका छन् । यो पुरस्कारको राशी २५ हजार रुपियाँ नगद र प्रमाण–पत्र रहेको छ । यो वर्ष राष्ट्रियस्तरको दुई संरक्षण पुरस्कार शर्माले एकसाथ प्राप्त गरेका छन् । समूहले प्रत्येक वर्ष विश्व वातावरण दिवस जुन ५ को दिन अघिल्लो वर्षभरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा उत्कृष्ट लेख–रचनाहरु प्रकाशित प्रसारित गर्र्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार प्रदान गर्दछ ।
पत्रकार शर्माले यस अघि लाटोकोसेरा तथा हुचिल उत्सवको अवसरमा राष्ट्रिय स्तरको प्रकृति संरक्षण पुरस्कार पाइसकेका छन् । गत वैशाखमा मात्रै ग्रिनफोर्स युवा क्लब सार्दिखोलाले उनलाई संरक्षण पुरस्कार दिएको थियो । मनाङ र लाहाचोक संरक्षण व्यवस्थापन समितिले पनि उनलाई संरक्षण सम्मान प्रदान गरिसकेको छ ।

Post a Comment

 
Top