0
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यसमिति सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मीले संविधान बनेर मुलुकले आर्थिक विकास र समृद्धिको दिशा लिनु पर्नेमा अझै पनि राजनितिक अस्थिरता कायम रहनु दुःखद् रहेको बताएका छन् । सु–शासनका लागि नागरिक समाज (सुनास) कास्कीको सातौं साधारण सभाको शनिबार उद्घाटन गर्दै मुल्मीले राजनीतिक अस्थिरता मुलुकको लागि चुनौतीपूर्ण भएको बताए । दण्डहिनताको अन्त्य र सुशासन कायम गर्नको लागि अब बन्ने नयाँ सरकारलाई सबै नागरिकले सहयोग गर्नुपर्ने उल्लेख गर्दै मुल्मीले भारत संगको समस्यालाई कुटनीतिक र रणनीतिक ढंगले हल गर्नु पर्ने धारणा राखे । मुलुकको स्रोत र साधनको सदुपयोग र भ्रष्टाचार नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै प्रमुख अतिथि मुल्मीले सुनासलाई कार्यक्षेत्र विस्तार गर्न र ४ नम्वर प्रदेशको समृद्धि र सुशासन व्यवस्थापनका लागि कार्यक्रम केन्द्रित गर्न सुझाव दिए ।
 
सुनासको गतिविधि प्रति टिआई नेपालले गर्व गरेको उल्लेख गर्दै मुल्मीले सुनासको कार्यक्रमले टिआईको अनुसन्धान र गतिविधिमा सहयोग पुगेको विचार व्यक्त गरे । कार्यक्रममा सेवा प्रदायक कार्यलयहरु मध्ये पारदर्शिता र सुशासन प्रवद्र्धनमा उल्लेखनिय काम गरेवापत पोखरा उपमहानगर पालिका वडा नं.९ का सचिव लोकदर्शन कोइरालालाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो । त्यस्तै सुनासका कार्यकारी सदस्य इन्जिनियर लेखबहादुर गुरुङले चन्द्रविष्णु गुरुङ खोज पत्रकारिता पुरस्कारको अक्षयकोषको लागि सुनासलाई १ लाख ११ हजार १ सय ११ नगद प्रदान गरे । सुनासका अध्यक्ष पुण्य पौडेलको अध्यक्षतामा भएको सभाले सचिव दिपेन्द्र श्रेष्ठको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्धि मल्लको आर्थिक प्रतिवेदन सुधारसहित पारीत गरेको छ ।
 
कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर वैरागी, एनेकपा माओवादी कास्कीका उपाध्यक्ष गंगा पोखरेल, पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक सरला कुमारी पाण्डे, गैसस महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारी, पोखरा वडा नं.९ का सचिव लोकदर्शन कोइराला, सुनासका उपाध्यक्ष सुन्दर गुरुङ, सहसचिव तारा शर्मा, कार्यकारी सदस्य कृष्ण प्रसाद वराल लागायतका वक्ताले मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top