फोहरमैलाको दिगो व्यावसायिक उत्पादनमा सार्वजनिक निजी साझेदारीमार्फत हरित तथा साना तथा मझौला उद्यम, हरित नगर, हरित कृषि उत्पादन र हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले इलाम नगरपालिकामा लागू गरिएको हरित उद्यमशीलताको लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । हरित नगर निर्माण अभियानलाई साथ दिंदै फोहर व्यवस्थापनमा दिगोपना स्थापना गर्न युरोपियन युनियनको आर्थिक सहयोगमा स्वीच एसिया कार्यक्रम अन्तरगत इलाम नगरपालिका, विनरक इन्टरनेशनल, प्लानेट फाइनान्स, र नाम्सालिङ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालन गरिएको यस कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरूले हरित इलाम अभियानलाई सफल पार्न फोहर व्यवस्थापन कार्यलाई दिगो बनाउनुपर्ने धारणा राखेका हुन् । चार वर्षका लागि सञ्चालित यस परियोजनाबाट दिगो फोहरमैला व्यवस्थापनका लागि हरित साना तथा मझौला उद्यम, हरित नगर, हरित कृषि उत्पादन र हरित रोजगार सिर्जना गर्न खोजिएको विनरक इन्टरनेशनलका निर्देशक विनोद श्रेष्ठले बताए । उनका अनुसार यस परियोजनाबाट दिगो फोहरमैला व्यवस्थापन प्रणाली स्थापना, सार्वजनिक निजी साझेदारीमार्फत कम्पोस्ट प्लान्ट निर्माण र सञ्चालन, प्राङ्गारिक खेतीका लागि कम्पोस्ट मल प्रवद्र्धन र प्राङ्गारिक खेती विस्तारका लागि कृषकहरूको ऋणमा पहुँच बढाउन वित्तीय संस्थाहरूको परिचालन गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment