0
गोल्डेन न्यूज संवाददाता
आठौं पुस्तकालय दिवसको अवसरमा पोखराका पुस्तकालय कर्मी, पुस्तकालयसेवी तथा सामाजिक कार्यकर्ताहरु बीच मालेपाटनस्थित सहिद स्मृति पुस्तकालय परिसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । आठौं पुस्तकालय दिवस समारोह समिति कास्की, सहिद स्मृति पुस्तकालय र पुस्तकालय विकास मञ्च, काठमाडौंको आयोजनामा सम्पन्न भएको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा पुस्तकालयकर्मीका तर्फबाट दुर्गाप्रसाद आचार्य, खिम लामिछाने, र रामचन्द्र कार्की सहभागी भएका थिए भने पुस्तकालयसेवी सामाजिक कार्यकर्ताका तर्फबाट धनबहादुर नेपाली, कृष्णप्रसाद बराल, माधब बराल, भुमिन्द्र बराल, केशव कोइराला, द्रोण बराल, जितु कुँवर, रविन पराजुली, अजय पौडेल, अर्जुन जिशी, धनबहादुर नेपाली, शालिकराम पन्त तथा पत्रकार माधव बराल लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । पुस्तकालयमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा बोल्दै टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रिले प्रतियोगिता पुस्तकालयको प्रचार–प्रसारमा नयाँ शैली भएको भन्दै पठन संस्कृतिको विकास गर्न अझै बढी पुस्तकालयको प्रचार–प्रसार हुनुपर्ने कुरा बताएका थिए । पोखरा विश्वविद्यालयका सहायक लाईब्रेरियन दुर्गाप्रसाद आचार्यले पुस्तकालयकर्मी र पुस्तकालय सेवीहरु बीचको सम्बन्धलाई अझै सुमधुर गर्दै एकअर्को पुस्तकालय बिचको अन्तर सम्बन्धलाई बलियो बनाउने र पुस्तकालय सेवालाई अझै सुदृढ बनाउन यस किसिमको प्रतियोगिता आयोजना गरिएको बताएका थिए । आठौं पुस्तकालय दिवस समारोह समिति कास्कीका सचिव सूर्य क्षेत्रीले प्रतियोगीलाई कर्क र र्याकेट हस्तान्तरण गरेपछी सुरु भएको प्रतियोगिता सकिएपछि सूर्यचन्द्र विकास समाज तथा सहिद स्मृति पुस्तकालयका अध्यक्ष वसन्तराज भण्डारीले खेलाडीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । नेपालमा २०६५ देखि भाद्र १५ गते पुस्तकालय दिवस मनाउने गरिएको हो । यस पटक पोखरामा फरक तरिकाबाट शुरु गरिएको आठौं पुस्तकालय दिवस सम्बन्धी कार्यक्रमहरु यही भाद्र १५ गते  पोखरा उद्योग बाणिज्य संघको हलमा दिउसो २ बजे विशेष समारोहका बीच  समापन गरिने छ । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त प्रमुख अतिथि रहने उक्त समारोहमा पुस्तकालय दिवसबारे परिचर्चा, पुस्तकालय क्षेत्रमा योगदान पु¥याएका अग्रज व्यक्तित्व तथा ऐतिहासिक संस्था सम्मान साथै आठौं पुस्तकालय दिवसको अवसरमा आयोजना गरिएको “गुणस्तरिय शिक्षामा पुस्तकालयको भूमिका“ शीर्षक निबन्ध प्रतियोगितामा विजयी प्रतियोगिहरुलाई पुरस्कार बितरण गरिने कार्यक्रम रहेको कुरा आठौं पुस्तकालय दिवस समारोह समिति कास्कीले जानकारी गराएको छ । पुस्तकलाई माया गरौं, पुस्तकालयको विकाश गरौं भन्ने नाराका साथ यस वर्षको पुस्तकालय दिवस मनाउन लागिएको छ ।

Post a Comment

 
Top