गोल्डेन न्यूज संवाददाता
लेखनाथ–१७ कालिकास्थानमा यस बर्ष पनि तीज गीत प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ । साविकको भरतपोखरी गाविस बागमाराको स्थानीय शुभतारा क्लबले कालिकास्थानमा आयोजना गर्ने दोस्रो संस्करणको यस प्रतियोगिता भदौको २९ र ३० गते दुई दिनसम्म सञ्चालन गरिने क्लबले जनाएको छ । क्लबका अनुसार प्रतियोगितामा कास्की लगायत तनहुँ र स्याङ्जाको गरी ५० टीमको सहभागिता रहने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमका लागि १५ हजार, द्वित्तीय हुने टीमका लागि १० हजार, तृतीय हुने टीमका लागि ५ हजार र सान्त्वना पुरस्कारका लागि २ हजार रुपैयाँ नगद साथै शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य र अनुशासित टिमका लागि १÷१ हजार नगद र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा आमा समूह, युवा क्लब, सांस्कृतिक तथा सामाजिक संघसंस्थाहरुले सहभागिता जनाउनेछन् । स्थानीय कला संस्कृतिको जगेर्ना एवं प्रतिभावान ब्यक्तिहरुको अन्तरनिहित क्षमताको विकास गर्ने उद्देश्यले गत प्रतियोगिताको आयोजना गरिएको संयोजक भूमेन्द्र थापामगरले बताए । छरिएर रहेका युवाहरुलाई गोलबन्द गर्दै यस क्षेत्रमा समाज सेवा, खेलकूद, स्वास्थ्य, साहित्यको सम्बद्र्धन एबं संस्कृतिको संरक्षण र विकास गर्ने क्लबको अर्को ध्यय रहेको संयोजक थापामगरले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि अनुमानित रकम कूल १ लाख, ७१ हजार रुपैयाँ लाग्ने बताइएको छ भने प्रतियोगितालाई विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय तथा बाह्य व्यवसायी र चन्दादाताहरुले प्रायोजन गर्ने संयोजक थापामगरले बताए ।
Post a Comment