0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लाको पुरुन्चौर गा.वि.स.लाई पूर्ण साक्षर गा.वि.स. घोषणा गरिएको छ । भारतीभवन उच्च मावि पुरुन्चौरमा एक आयोजित कार्यक्रममा प्रमुख अतिथि कास्की जिल्लाका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद अधिकारीले प्रतिवद्धता ब्यानरमा हस्ताक्षर गरी पूर्णसाक्षर गा.वि.स. घोषणा गरेका थिए । कार्यक्रममा गा.वि.स. सचिव टिकाराम आचार्यले पूर्णसाक्षर घोषण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । गा.वि.स.मा रहेको कुल ८ सय ३९ घरधुरीमा २ हजार ४ सय ९ महिला र २ हजार ५ सय ९ पुरुष मध्ये पछिल्लो चरणमा कायम रहेको निरक्षरता संख्या १ सय ८ रहेकोमा इचवान टिचवानको विधि प्रयोग गरी भारती भवन उच्च माविमा अध्ययनरत विद्यार्थीहरु मार्फत साक्षर बनाउने कार्य सम्पन्न गरी गाविसको कुल जनसंख्याको ९७ प्रतिशत साक्षर भएको उक्त अवसरमा जानकारी गराइएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारीले सरकारी लगानीबाट उचित प्रतिफल आउने गरी शैक्षिक गतिविधि संचालन गर्न आवश्यक रहेको र भारती भवन उच्च माविले सोही अनुसार हालैको एसएलसी परीक्षामा सरकारी सामुदायिक विद्यालयमध्ये कास्की जिल्लामा उत्कृष्ट स्थान ल्याउन सफल भएकोमा प्रसंसा गर्दै पूर्ण साक्षर गाविस घोषणा भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल सेकोरस अफ वेल्जियमका अध्यक्ष राम प्रसाद तिमिल्सिनाले शैक्षिक तथा सामाजिक विकासमा सबैमा एकता र समन्वयको खाँचो रहेको औंल्याए । उक्त अवसरमा २०७१ सालको एसएलसी परीक्षामा सरकारी सामुदायिक विद्यालयहरु बाट कास्की जिल्लामा उत्कृष्ट स्थान प्राप्त गर्ने भारती भवन उच्च मावि पुरुन्चौरलाई सम्मानपत्रले सम्मान गरिएको थियो । उक्त अवसरमा विद्यालयमा यस शैक्षिक वर्षदेखि विज्ञान विषयमा दश जोड दुईमा अध्ययन अध्यापन कार्य शुरु भएको र आगामी शैक्षिक वर्षदेखि कृषि तथा वन विश्वविद्यालयको सम्बन्धमा कृषि विषयको स्नातक तहको अध्ययन अध्यापन कार्य शुरु हुन गइरहेको जानकारी गराइएको थियो । स्थानीय निकायबाट आगामी समयमा बालमैत्री तथा वातावरण मैत्री कार्यक्रम अभियानको रुपमा संचालन गर्न सहयोगको अपेक्षा समेत गरिएको छ । कार्यक्रममा आमा समूहको तर्फबाट देवु आचार्य, विद्यालय व्यवस्थापन समितिहरुको तर्फबाट तेज बहादुर अधिकारी, गाविस स्थित क्रियाशील राजनीतिक दलहरुको तर्फबाट नेका सभापति गणेश प्रसाद पौडेलले आ–आफ्नो भनाई राखेका थिए । गाविस सचिव टिकाराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत गाविस बोर्ड सदस्य गुरुप्रसाद अर्याल र कार्यक्रमको संचालन भारती भवन उच्च माविका प्राचार्य दीपक पौडेलले गरेका थिए ।

Post a Comment

 
Top