गोल्डेन न्यूज संवाददाता
सधैंभरि आन्दोलनमात्र भइरहने पोखरा विश्वविद्यालयमा केही अघिमात्र शुरु भएको आन्दोलन अझै रोकिएको छैन । विश्वविद्यालयमा अनियमति ढङ्गले विद्यार्थी ट्रान्सफर गरेको भन्दै अनेरास्ववियुले गत चैत्र १९ गतेबाट आन्दोलनले शुरु गरेको थियो । विद्यार्थी संगठनको पछिल्लो यो आन्दोलनले पोखरा विश्वविद्यालय तनावग्रस्त भइरहेको छ । पोविविमा आन्दोलनरत अनेरास्ववियु र पोखरा विश्वविद्यालय प्रशासन बीचको वार्ता शनिबार दिउँसो भंग भएको छ । शुक्रबार साँझ अबेरसम्म मानवअधिकार आयोगको क्षत्रीय कार्यालयमा बसेको वार्ता निश्कर्ष बिहिन भए पछि शनिबार पटक पटक भएको वार्ताको दुईतर्फी वार्ताको प्रयास असफल भएको थियो । शनिबार बिहान रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीसँग अनौपचारिक छलफल भएपनि दिउँसो डा. भण्डारीले सम्पर्क गरेर वार्ता भंग भएको सूचना दिएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । गौतमले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालय पदाधिकारीहरुको पछिल्लो कार्यले अनेरास्ववियुलाई जवर्जस्ती आन्दोलन चर्काउन बाध्य बनाएको बताए । गौतमका अनुसार शनिबार बसेको अनेरास्ववियु कास्कीको पदाधिकारी बैठकले आइतबारका लागि पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी जारी राख्ने, कुनै पनि पदाधिकारीहरुको गाडी चल्न नदिने, परीक्षाहरु चल्न नदिने, बिहानैदेखि विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गर्ने र सम्पूर्ण कानूनी बाटो अबलम्बन गर्ने लगायतका कार्यक्रमहरु घोषणा गरेको छ । त्यस्तै विश्वविद्यालयका पदाधिकारीहरुको पनि दिउँसो लेकसाइडमा बैठक बसेर आइतबारदेखि आन्दोलनप्रति कडा व्यवहार गर्ने निर्णय गरेको बताइएको छ । आइतबार बिहानै देखि विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ । दुवै पक्ष आ–आफ्नो तयारीमा लाग्दा आइतबारदेखि पोखरा विश्वविद्यालय मा थप मुठभेडको सम्भावना बढेर जाने सम्भावना छ ।
Post a Comment