0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी फेदीखोला उपशाखा स्याङ्जाले जिल्लाका दुई गाविस फेदीखोला र आरुखर्कमा गरी ४ लाख ३० हजार बराबरको राहत वितरण गरैको छ । बिहीबारबाट सुरु गरिएको उक्त २ दिने कार्यक्रमबाट दुई गाविसका गरी १ सय ४८ घरधुरी लाभान्वित भएका छन् । पीडितको अवस्था अनुसार पूर्ण क्षति ग्रस्त ३८ घरधुरीलाई तत्काल घर बनाउनुपर्ने भएकाले गुरास छाप २६ गेजको ९ फुटे ६ पाताका दरले प्रति घर जस्ता बितरण गरिएको थियो । त्यसैगरि बाँकी रहेका १ सय १० घरधुरीमा प्रति घर २५ केजी चामलको बोरा (दिब्य भोक) र ५ केजीको आटाको बोरा(सनही छाप) बितरण गरिएको छ । पीडितलाई फेदीखोला ९ सर्केटारीमा अवस्थित रेडक्रस उपशाखा कार्यालयबाट राहत वितरण गरिएको थियो । राहत वितरणलाई प्रभावकारी बनाउनका लागि रेडक्रस उपसमितीको पूर्ण बैठकले पीडितको प्रकृति हेरेर सिफारिस गरेको उपशाखाका सदस्य घनश्याम सुवेदीले जानकारी दिए । ‘राहत वितरणमा अपाङ्ग, एकल महिला तथा न्युनवर्गलाई प्राथमिकतामा राखिएको थियो’ सुवेदीले बताए । राहत संकलनका लागि हाम्रो स्याङ्जा फेदीखोला फेसबूक पेजबाट सूरु गरिएको अभियानबाट राहत रकम जुटेको थियो । जसमा फेदीखोला सेरोफेरो समाज हङकङको दुइ लाख र देशविदेशमा रहेका गाविसवासीबाट गरी जम्मा ६ लाख १२ हजार रुपैंया जुटेको थियो । उक्त रकमबाट नै उपशाखाले यसअघि गोरखाको मिरकोटमा १ लाख ३० हजार बराबरको राहत सामाग्री वितरण गरेको थियो भने दुई गाविसका भुकम्प प्रभावित क्षेत्रमा ८५ वटा त्रिपाल वितरण गरेको थियो । त्रिपाल वितरणमा ५० हजार बढि खर्च गरिएको उपशाखाका सचिव दिवाकर सुवेदीले जनाएका छन् । उपशाखाका अध्यक्ष लेखनाथ पराजुलीको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा राजनीतिक दलका स्थानीय नेता, फेदीखोला प्रहरी चौकी, गाविस प्रतिनीधि, विभिन्न संघसंस्था तथा स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष पराजुलीले राहत वितरणमा सहयोग पु¥याउने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद दिदैं आफ्नो गाउँ आँफैले बनाउनुपर्नेमा जोड दिए । साथै फेसबूक अभियानबाट उल्लेखनीय रकम संकलन हुन सकेकोमा सहभागीले हाम्रो स्याङ्जा फेदीखोला फेसबूक पेजप्रति आभार प्रकट गरेका थिए ।

Post a Comment

 
Top