नेपाली जनताले बैशाख १२ गतेको भूकम्पले मानवीय क्षति र ठुलो धनजनको क्षतिको सामना गरिरहेको अवस्थामा नेपाली काँग्रेस पार्टीको महाधिबेशन भाद्र २४ देखी २८ गतेसम्म काठमाडौंमा हुन गइरहेको छ । मुलतः पार्टीलाई बैधानिकता दिलाउनका पनि ५ बर्षमा महाधिबेशन गनुपर्ने अन्तरीम संविधान र पार्टीको विधान अनुरुप तोकीएको समयमा पार्टीको महाधिवेशन हुँदैछ यसमा कनै दुइमत छैन । नेपाली काँग्रेस पार्टीको महाधिबेशनले भोलिको नेपाल कस्तो हुनेछ भन्ने सम्मको राष्टिूय प्रभाव पार्ने हुँदा सबैको ध्यान यसतर्फ खिचिएको छ । लामो इतिहास बोकेको र मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गरेको काँग्रेस पार्टीका कार्यकर्ताहरु भूकम्पबाट सहनुपरेको पीडालाइ आत्मसाथ गर्दैं महाधिवेशनतर्फ लागेको देखिन्छ । नेपाली काँग्रेसको १३औंं महाधिवेशनमा पार्टीको संगठनको अवस्था, पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका बारेमा बृहत् छलफल हुनु आवश्यक छ । पार्टीको १२औं महाधिवेशनमा जीवनभर कुनै लाभको पदपनि नलिएको, अविवाहित रहि पार्टीमा निरन्तरता लागेको हुनाले एकपटकका लागि नेपाली काँग्रेसको पार्टी सभापतिमा सुशिल कोइराला जिम्मेवारी दिइयो । दोस्रो संविधानसभापछि सुशिल कोइराला मुलुकको प्रधानमन्त्री हुनुभयो । नेपाली काँग्रेसको पार्टी सभापति मुलुकको प्रधानमन्त्री हुँदा न त सरकारको नेतृत्व राम्रोसँग हाँक्न सक्नुभयो न त काँग्रेस पार्टी व्यवस्थित तरिकाले सञ्चालन गर्न सक्नुभयो । १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवालाई पार्टी नेतृत्वको जिम्मेवारी दिनुपर्दछ भन्ने पक्षमा काँग्रेसका कार्यकर्ताहरु वकालत गरिरहेका छन । संकमणकालिन अवस्थामा ३ पटकसम्म मुलुकको बागडोर सम्मालिसकेका, दूरदर्शी, हर्की स्वभाव, कार्यकर्तालाई संरक्षण गर्न सक्ने, पछिल्लो समय पार्टीभित्र र वाहिर दिनप्रतिदिन बढेको लोकप्रियताका कारणले पार्टीको नेतृत्वमा पुग्न सक्ने बाटो खोलेको देखिन्छ । कास्की जिल्ला राजधानी पछिको महत्वपूर्ण जिल्लामा रहेतापनि राष्ट्रिय राजनीतिमा यहाँका नेताहरुको बलियो र मजवुत उपस्थिति हुन नसक्नु के कति कारण छन् गहिरिएर सोच्ने समय आएको छ । हरेक दृष्टिकोणले विकसित भएतापनि पार्टीको नेतृत्वमा नेताहरु पुग्न नसक्नुको कारण आन्तरिक खिचातानी एउटा महत्वपूर्ण पक्ष हो । कास्की काँग्रेसमा नेतृत्व लिनसक्ने दक्ष, योग्य र अनुभवी नेताहरु भएतापनि एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्नु, खुट्टा तान्ने प्रवृत्ति हावी वुद्धि हुँदै जानु, राजनीतिक विचार र सिद्धान्तप्रति फरक मत राख्नुका सट्टा व्यक्तिको व्यक्तिगत कटाक्षमा अधिकांश समय बिताउने प्रवृत्तिले जड गाडेकोले केन्द्रीय राजनीतिमा पुग्न नसकेको यर्थावत हो । पछिल्लो समय कास्की काँग्रेसभित्र १३ औं अधिबेशनकबाट कास्की काँग्रेसमा पार्टी नेतृत्वको बाजी कसले मार्छ भन्ने अड्कलबाजी भइरहेको छ । यसपटक कास्की काँग्रेसको नेतृत्वमा आमुल परिवर्तन हुने सम्भावना बढेर गइरहेको छ । कास्की काँग्रेसका अग्रज नेताहरु तारानाथ रानाभाट, शुक्रराज शर्मा, खेमराज पौडेल, शोभियत बहादुर अधिकारी, यज्ञबहादुर थापा र माधव गुरुङ्ग लगायतका नेताहरुको कास्की काँग्रेसको अधिवेशनमा कस्तो भूमिका रहनेछ भन्ने विषयले चर्चा लिइरहेको छ । पछिल्लो समय काँग्रेस पार्टीभित्र शेरबहादुर देउवाको बढ्दो लोकप्रियता र वलियो उपस्थितीको प्रभावले कास्की काँग्रेसमा पनि प्रत्यक्ष प्रभाव देखिएकोछ । यस पटकको महाधिबेशनमा कास्की काँग्रेसभित्र नयाँ राजनीतीक समीकरण बन्ने सम्भावना बढेर गएको छ, जुन राजनीतीक समीकरणले कास्की काँग्रेसभित्र आमुल परिवर्तन ल्याउनेछ । कास्की काँग्रेसको सभापती हुनाका लागी धेरै नेताहरुले इच्छा देखाएतापनि चुनावी मैदानमा यूवा नेता गुरु बराल सभापतीको उम्मेदवार घोषणा गरी कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । कास्की काँग्रेसका सचिव कृष्ण के.सी., नेता पोषनाथ शर्माको नामपनि सभापतीका उम्मेदवारका रुपमा चर्चा आइरहेको छ भने कास्कीका अग्रज नेताहरुपनि चुनावी मैदानमा होमिन सक्ने सम्भावना पनि बढेर गइरहेको छ । पछिल्लो समय कास्की काँग्रेस पार्टीको जिम्मेवारी लिन यूवा जमातको पनि तिव्र इच्छा देखिएको छ जसको प्रतिफल कति आउँला समयले नै देखाउला । पार्टीको अधिबेशनमा गुटका नाममा सक्षम र योग्य व्यक्तिलाई पाखा लगाउने काम नगरौ । लोकतान्त्रिक पार्टी भित्र फरक मत हुन्छ र वहुमतीय प्रक्रियाबाट हुने निर्णयलाइ सबैले आत्मसाथ गनुपर्दछ । बहुमतका नाममा संख्यात्मक पक्षलाई ध्यानमा दिने र गुणात्मक पक्षलाई गुटका नाम पाखा लगाएमा कालान्तरमा पार्टीमा पर्ने क्षतितर्फपनि अधिवेशनमा आउने प्रतिनिधीको ध्यान जाओस् । पदीय जिम्मेवारी लिन होइन विचार र सिद्धान्तप्रति गहिरो बहस मार्फत सबैले राजनीती जित्नतर्फ लाग्यौं । आशा गरौं, यसपटकको अधिवेशनमा विचार, सिद्धान्त, पद्धतिप्रति गहिरो बहस हुनेछ जसले आगामी दिनमा राजनीतिक संस्कार र पद्धतीबाट पार्टी चल्नेछ भन्ने विश्वास गरौं । यसैमा हामी सबैको भलो छ । जय नेपाल !
Subscribe to:
Post Comments (Atom)
Post a Comment