‘आकाश मेरो दायरा होइन, यो मेरो लागि खेल मैदान हो’, सुवेक श्रेष्ठले यही आशयको अंग्रेजी भनाई दुई बर्ष अघि फेसबुकमा पोष्ट गरेका थिए । आकाशलाई आफ्नो खेल मैदान ठान्ने सुवेक अब कहिल्यै आकाशसँग खेल्न पाउने छैनन् । ११ महिना अघिको पाइलबाट पाइलटको जिम्मेवारी पाएपछि सुवेक श्रेष्ठ खादा र अविरले रंगिएका थिए । नेता शैलीमा हात उचाल्दै खिचेको तस्विर फेसबुकमा पोष्ट गर्दा उनले सयौं लाइक पाए । तर, उनको यो खुशी एक बर्ष पनि टिक्न पाएन । मंगलबार सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा उनले ज्यान गुमाए । ‘पाइलटको कमाण्ड पाएकै दिन दाईले त्यो फोटो अपलोड गर्नुभएको थियो’,–सुवेकका भाई सागर सम्झिन्छन्न्,‘आफ्नो काम रमाइलो गर्दै सिध्याउने उनको बानी थियो ।’ सुविकाका भाई सागर पनि सिम्रिक एयरका को–पाइलट हुन् । बैशाख १२ गते भूकम्प गएपछि सुवेक श्रेष्ठले एक दिन फुर्सदमा बिताएनन् । हरेक दिन उद्दार र राहतको टोली लिएर उनी पहाड र कन्दरा पुगिरहे । जहाँ पुगे पनि उनी बेलुका सुत्न घर आइपुग्थे । अब न उनले आकाशमा खेल्न पाउनेछन् न घरमा सुत्न । सुवेकले अधिकांश उडान हिमाली क्षेत्रमा गरेको भाई सागरले सम्झिए । २८ वर्षीय सुवेक श्रेष्ठ हँसिला र रमाइला खालका थिए । साथीभाईलाई बेला बेला चुट्किला सुनाउने र रमाइला कुरा गर्ने उनको स्वभाव थियो । सन् २०१० मा सुवेक फिलिपिन्सको योकोता एभिएसनबाट एक बर्षे पाइलट कोर्स गरेर नेपाल फर्किएका थिए । लगत्तै उनले माउन्टेन एयरमा को पाइलटको रुपमा करिअर सुरु गरे । उनी माउन्टेन एयरमा आवद्ध भएको तीन बर्ष भएको थियो । तीन दाजूभाईमध्ये सुवेका माइला हुन् । उनको परिवारमा आमासहित चार दिदी छन् । सुवेकका बुवाको १५ बर्षअघि निधन भएको थियो । एक जनाका दिदीको बिहे भइसकेको छ । सागरले पनि सुवेकले पनि योकोताबाट कोर्स पूरा गरेका हुन् । सागर सिम्रिक एयरमा आवद्ध भएको एक महिना मात्रै भएको छ । यसअघि उनी गुण एयरलाईन्समा को पाइलट थिए । ‘पाइलट बन्दा यस्तो होला भन्ने कहिल्यै सोचेको थिइनँ’, उनी भन्छन्,‘साहसी पाइलटको रुपमा दाजूलाई सम्झिरहनेछु ।’
Subscribe to:
Post Comments (Atom)
Post a Comment