0
‘गरिबको छोरो, त्यसमाथि भन्दै आएको तल्लो जातको । सबैले कस्तो बुद्धि लिएर जन्मेछ ? भन्थे’– २० वर्षे युवा सुजन नेपाली भन्दै थिए–‘सरस्वतीले त बास गरिन्, लक्ष्मीको श्राप परेछ । आज पैसाकै लागि भौंतारिँदा निःशुल्क पढ्ने अवसर पनि गुम्छ कि भन्ने चिन्ता छ ।’ दुवै मृगौला काम नगरेर थलिएका बुबाकै उपचारका लागि पैसाको जोहो कसरी गर्ने चिन्ता छ उनलाई । एसएलसी परीक्षा २०६८ मा सरकारी स्कुलबाट ८४.५ प्रतिशत अंक ल्याउँदा सम्मानको ओहिरो लागेको उनी सम्झन्छन् । काठमाडौंको डेरामा एक भित्तो त पुरै मेरो सम्मानपत्रले भरिएको छ । सानैदेखि अतिरिक्त क्रियाकलाप मा समेत अब्बल थिएँ, उनी भन्छन्– ‘बुबाको उपचारका लागि मात्रै चिन्ता नभए पनि म त नखाएरै पढेर पनि निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सक्छु ।’रत्न राज्य उच्च मावि, काठमाडौंबाट एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण भएपछि उनले सरिता मैनाली पुरस्कार सहित काठमाडौं महानगरपालिकाबाट मन्त्रीहरुको हातबाट पुरस्कार थापे । काठमाडौं वडा नं. १० कै टपर भएपछि नाम चलेका कलेजहरुको निःशुल्क पढाईदिने होडबाजी बीच डेरा नजिकै न्यु समिट उच्च मावि छाने र साईन्समा राम्रो अंकका साथ प्लस टु उत्तीर्ण गरे । अहिले सुजन पोखरा विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति अन्तर्गत पोखराको ला–ग्राण्डी कलेजमा ब्याचलर ईन पब्लिक हेल्थ (बीपीएच) पहिलो वर्षमा अध्ययनरत छन् । परिवारको आर्थिक अवस्था कमजोर छ । बुवा डिलबहादुर दमाई टेलरिङ गर्दै आएका थिए । तर, ३९ वर्षीय डिलबहादुर सात महिना अघिदेखि दुवै मृगौलाले काम नगरेर मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको बेडमा छन् । सिन्धुली दुम्झा ३ कुशेश्वर स्थायी घर भएका सुजनको विनाशकारी भूकम्पले पुरानो घर पनि ढल्यो । अब घर जग्गा बेचेर उपचार गर्ने अवस्था रहेन । परिवारका एउटै छोरो भएकाले पनि जिम्मेवारी सबै सुजनको काँधमा छ । दुई बहिनी सुमित्रा र सिर्जना मध्ये सुमित्राले पढाई छाडिसकिन् । दमको रोगी आमा पनि मजदूरी काम गर्ने अवस्थामा छैन । ‘बुबालाई हप्तामा दुई पटक डायलोसिस गर्नुपर्ने हुन्छ । कम्तिमा १५ हजार त बुबाकै औषधिका लागि तयार गर्नुपर्छ’, निराश हुँदै सुजन थप्छन्–‘कहाँबाट ल्याउनु ? चार महिना भयो रे घरबेटीलाई भाडा नबुझाएको । कराएका छन् भन्नुहुन्छ आमा ।’‘एमबीबीएस पढ्ने धोको थियो । तीन हजार नभएर रोकियो ।’ गला अवरुद्ध पार्दै सुजनले भने–‘कति रातहरु रोएरै बिते । पियूमा निःशुल्क छात्रवृत्तिमा नाम निस्किएपछि पोखरा आउन पाँच हजार नभएर डेढ महिना लाग्यो । कलेजले झण्डै नाम काटेन ।’ सात कक्षा पढ्दै देखि काम गर्दै पढेका सुजन पोखरामा राम्रो काम पाए गर्ने बताउँछन् । ‘म पढाउन सक्छु । अंग्रेजी राम्रो छ । कम्प्युटर साईन्स पनि पढाउन सक्छु ।’ सुजन आत्मविश्वासका साथ बताउँछन् । कलेजमा खर्च र यहाँ खाना बस्नकै लागि काम गर्नै पर्ने बाध्यतामा छन् उनी । सुजनले यसअघि काठमाडौंमा विभिन्न कन्सल्टेन्सीमा काम गरिसकेको अनुभव छ । बुबाको उपचारका लागि सहयोगी हातहरु अघि बढे आफू पढाईमा केन्द्रित हुन सक्ने भन्दै उनी भन्छन् ‘बुबाको जीवनको मात्रै सवाल होईन, मेरो भविष्य पनि जोडिएको छ । पढेर गर्न सक्ने क्षमता हुँदा हुँदै आज यस्तो अवस्थाबाट गुज्रिएको छु ।’ सुजनले आफ्नो पुरानो मोबाईल समेत बेचेर काठमाडौं पैसा पठाइसके । जिरोकिमिमा सानो कोठालाई २६ सय तिरेर बस्दै आएका उनले चिनेजानेका, साथीभाईसँग ऋण काढेरै यो दुई महिना कटाएका छन् । बिहानको खाना नखाएको महिना दिन पुगिसक्यो । भूकम्प पीडित मध्येका एक सुजनलाई बुबाको उपचारका लागि पैसाको जोहो भए मृगौला दिने मान्छे तयार रहेकाले आफू पनि केही काम गरेर पढाई अघि बढाउने सोंचमा छन् ।

Post a Comment

 
Top