0
गोल्डेन न्यूज संवाददाता
नेपालमा आएको बिनाशकारी भूकम्पले पारेको जनधनको क्षतिसंगै बिस्थापित हुन पुगेका ज्येष्ठ नागरिकहरुलाई पोखरामा पुनस्थापना गर्न थालिएको छ । जिल्ला ज्येष्ठ नागरिक संघ र पोखरा वृद्घाश्रमको संयुक्त पहलमा पुनस्थापना कार्य आरम्भ भएको कुरा पोखरा वृद्घाश्रमका अध्यक्ष बसन्त केशव पराजुलीले दिएका हुन् । बृद्घाश्रममा हाल भक्तपुर र गोरखाबाट आएका भूकम्पपीडित ज्येष्ठ नागरिकहरु पुनस्थापना गर्न लागिएको हो । पोखराका समाजसेवी तथा पोखरा उपमहानगर पालिका वडा नम्वर ९ का वडा सचिव  कोईरालाको प्रयासमा पोखरा स्थित तमुधिंमा अस्थाई आश्रय लिएका भूकम्प पीडित ज्येष्ठ नागरिकलाई पोखरा बृद्घाश्रममा लगिएको हो । स्थानीय फेवासिटी अस्पतालका अध्यक्ष चेतबहादुर गुरुङ्ग बताउंछन् ‘तर घर फर्कन चाहनेलाई पुनःस्थापनाका लागि कुनै करकाप भने लगाईने छैन ।’ यसैबीच जेष्ठ नागरिकहरुकै हकहितका लागि कार्य गर्दै आएको ज्येष्ठ नागरिक कल्याण समिति कास्कीले पनि भूकम्प पीडित ज्येष्ठ नागरिकहरु लाई लक्षित गरी सहुलियत ढंगले पुनस्थापनामा सघाउने जनाएको छ । पोखराका बिभिन्न अस्पतालमा उपचार गरी घर फर्कने ठाउँ नभएका विभिन्न अस्पतालबाट ज्येष्ठ नागरिकहरुको पुनस्थापनाका लागि सरोकारवालाहरुसंग अनुरोध गर्न थालिएको छ । कल्याण समितिका अध्यक्ष डा. अमृत घिमिरेका अनुसार यस सम्बन्धमा सहयोग गर्न आफूहरुले गत जेष्ठ ९ गते पोखराका आठ र नौ नम्बर वडाका ज्येष्ठ नागरिक र सरोकारवालाहरुको भेला सम्पन्न गरेको बताए । यसैगरी अध्यक्ष डा. घिमिरेका अनुसार भूकम्प पीडितलाई मात्रै होईन सम्पूर्ण वडास्तरीय ज्येष्ठ नागरिकहरुका समस्याहरु समाधान गर्न वडा स्तरीय ज्येष्ठ नागरिक क्लव गठन गर्न लागिएको छ । यसै शिलशिलामा आगामी ज्येष्ठ २३ गते कालिका उच्च मा.वि. रामबजारमा वडा नम्बर १० र १५ को भेला राखिएको जानकारी उनले दिंदै उक्त वडाका ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरेका छन् ।

Post a Comment

 
Top