0
यतिबेला मुलुक भूकम्पको पीडाबाट आक्रान्त छ । पीडाबाट उम्कन खोजिरहेको छ तर प्राकृतिक बिपतबाट त्राण पाउने विषय सजिलो हुँदोरहेनछ । पटक–पटक आइरहेका पराकम्पनले नागरिकहरुको मन अझै हल्लिरहेको छ । यतिबेला नेपाल साँच्चै इतिहासको सबैभन्दा अप्ठेरो र जटिल मोडमा छ । संविधान नबनेको र राजनीतिक द्वन्द्व समाधान नभइसकेको परिस्थितिमा आएको महाभूकम्पबाट सबै राजनीतिक शक्तिहरु एकताबद्ध भई राष्ट्रको पुनर्निर्माण वा नवनिर्माणमा लाग्नुको विकल्प छैन । महाभूकम्पका कारण राष्ट्रिय एकताको नयाँ आधार खोजेर त्यसकै जगमा टेकेर संविधान निर्माण र राष्ट्रको नवनिर्माण सँगसँगै गर्न सकियो भने आगामी दश वर्षमा साँच्चै नयाँ नेपाल बनाउन सकिने छ । यसका लागि कम्तिमा राजनीतिक दलहरु क्षणिक सत्ता स्वार्थबाट थोरै मात्र टाढा रहन सक्नुपर्छ । नेपाली राजनीति सेवामुखी हुन सकेन, यो सधै सत्तामुखी रह्यो । त्यसैको परिणाम राष्ट्र र जनताले हविगत व्यहोर्नु परिरहेको छ । राजनीति जनतामुखी नभएर सत्तामुखी भयो भने लूटतन्त्र मच्चिन्छ र नयाँ अभिजात वर्गको जन्म हुन्छ । हिजो चप्पल लगाएर हिंड्नेहरु राजनीतिमा लागेर ५÷७ वर्षमै करोडपति, अर्बपति बनेका उदाहरण धेरै छन् । यसबाट पाठ सिकेर राजनीतिलाई स्वच्छ र सङ्लो बनाउन त्यति सजिलो छैन । आफूलाई स्वच्छ छु भनेर दाबी गर्ने नेता पनि पार्टी चलाउनुपर्ने भएकाले भ्रष्टाचारप्रति आँखा चिम्लने गरेका छन् । सत्ताकेन्द्रित चिन्तनले नेपाली राजनीतिलाई गाँजिरहेको छ । अहिले सत्ता साझेदार दोस्रो ठूलो दल एमाले र प्रमुख प्रतिपक्ष एमाओवादीले सुशील कोइरालाको नेतृत्वलाई अस्वीकार गरिसकेको अवस्था छ । राष्ट्रिय एकताको नयाँ सरकार अहिलेको आवश्यकता भए पनि प्रधानमन्त्रीलाई कुर्सी छोड्न गाह्रो भइरहेको छ । राज्य कमजोर र निरीह बन्दै गएको छ तर प्रधानमन्त्री आफ्नै अडानमा छन् । सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दल नयाँ राष्ट्रिय सरकारको पक्षमा उभिइसकेको अवस्थामा प्राकृतिक बिपतको आडमा अल्पमतको सरकार चलाउन खोज्नु लोकतान्त्रिक आचरण र व्यवहार हुन सक्दैन । नेपालमा लोकतान्त्रिक दलहरु नै लोकतन्त्रको आफू अनुकूल व्याख्या गर्न खप्पिस छन् । लोकतन्त्र सिद्धान्त, व्यवहार र आचरणमा देखिने कुरा हो । तर हाम्रो यहाँ यो सिधै सत्ता वा सरकारसँग जोडिने गरेको छ । मुलुकमा यति ठूलो प्राकृतिक बिपत्ति आउँदा सबैलाई मिलाएर लैजानुपर्ने शक्ति नै म एक्लै सबै काम फत्ते गर्छु भन्छ भने अन्तर्राष्ट्रिय समुदायले त विश्वास गरेनन् नै नेपाली जनताले पनि पत्याउने छैनन् । सबै शक्तिहरु एकताबद्ध भएर राष्ट्रिय संकट सामना गर्ने प्रयासको थालनी अझै हुन सकिरहेको छैन । अहिलेको प्राकृतिक बिपतले राष्ट्रिय एकताको आवश्यकता बोध गराएको छ भने त्यसमा विलम्ब गरिनु हुँदैन । आगामी आषाढसम्म संविधान जारी गर्ने, कार्तिक–मंसिरमा स्थानीय निर्वाचन गर्ने र ४÷५ वर्ष राष्ट्रको पुनर्निर्माण वा नवनिर्माणमा एकताबद्ध भएर लाग्ने प्रतिबद्धताका साथ दलहरुले एउटा मिलनबिन्दु खोज्नैपर्ने हुन्छ । ४–५ वर्ष राजनीतिक मतभेद थाँती राखेर नै किन नहोस्, सबै शक्ति एकताबद्ध हुन जरुरी छ । यसो भयो भने साँच्चै नयाँ नेपाल निर्माण गर्न सकिनेछ । अब कसैले पनि मेरो नेतृत्व नै हुनुपर्छ भनेर हठ गर्नुहुँदैन । बृद्ध र रोगी नेतृत्वले मुलुकको नवनिर्माण गर्न सक्दैन । विभिन्न दलहरुभित्र रहेका सक्षम र जुझारु नेताहरुलाई अगाडि सारेर नै नयाँ नेपाल निर्माणको संकल्प पूरा गर्न सकिन्छ । म नै हुनुपर्छ भन्ने हठ लोकतान्त्रिक चरित्र होइन । पुराना नेताहरुले न्यूनतम लोकतान्त्रिक संस्कार देखाउने वित्तिकै धेरै समस्याहरु समाधान भएर जानेछन् ।

Post a Comment

 
Top