पोखराबाट गएको युवा विद्यार्थीहरुको एक टोलीले गत वैशाख १२ गतेको महाभूकम्पबाट क्षतिग्रस्त स्याङ्गजा जिल्लाको ओरष्टे गाविस वडा नं. ७ मा रहेको श्री नवज्योति प्राथमिक विद्यालयको लागि अस्थायी भवन निर्माण गरेको छ । भूकम्पका कारण विद्यालयको ६ मध्ये ४ वटा कक्षाकोठाहरु बस्नै नमिल्ने गरी भत्केकोमा टोलीले दुई दिन लगाएर दुई कोठाको अस्थायी विद्यालय निर्माण गरेको छ । ति कक्षाकोठाहरुमा आइतबारदेखि नै अध्ययन अध्यापन शुरु भएको छ भने टोली पनि आइतबार साँझ पोखरा फर्केको छ । जिल्ला शिक्षा कार्यालय स्याङ्गजाले जिल्लामा क्षतिग्रस्त भनी सुचिकृत गरेका चार विद्यालय मध्येको एक सो विद्यालय निर्माणका लागि युथ भोलेन्टियर फर चेञ्ज, टेक्नोभो र गुरु चेला, द करियर प्वाइन्ट लगायतका संस्थाहरुले सहकार्य गरेका थिए । टोलीमा पृथ्वी नारायण क्याम्पस, पोखरा विश्वविद्यालय, पोखरा इञ्जीनियरिङ्ग कलेज, इन्फोम्याक्स कलेज लगायतका विभिन्न कलेजमा अध्ययनरत १० जना विद्यार्थीहरु सहभागी थिए । टोलीलाई नेतृत्व गरेका युथ भोलेन्टियर फर चेञ्जका अध्यक्ष सुवास मल्लका अनुसार टोलीमा टेक्नोभोका अध्यक्ष बाबुराम नेपाली सहित प्रतिक्षा गैह्रे, सृष्टी रेग्मी, दुर्गादत्त पौडेल, आशिष दनाई, विद्या ताम्राकार, अस्मिता ढुङ्गाना, योगेन्द्र लामिछाने र श्यामकृष्ण थापाको सहभागिता रहेको थियो ।टोलीलाई आवास र खानाको व्यवस्थापन विद्यालय परिवार तथा स्थानिय समुदायले गरेको थियो भने विद्यालय निर्माणका लागि पाल, जस्ता, निर्माण सामाग्रीहरु, यातायात लगायतको प्रवन्ध भने टोलीले नै गरेको थियो । यसका लागि टोलीलाई नेपाल रेडक्रस सोसाइटी, पोखरा इञ्जिनियरिङ्ग कलेज, नेकपा एमालेका नेता जीवन पौडेल, पोखरा विश्वविद्यालयका पूर्व विद्यार्थीहरु जीवन भट्ट, बिमल न्यौपाने र रेडियोलोजिष्ट कृष्ण केसीले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । उता पोखरा विश्वविद्यालय का विद्यार्थीहरुले संकलन गरेको रकम समेत यही अभियानमा खर्च गरिएको थियो । विद्यालयको निर्माण कार्य सकिएपछि स्वयंसेवक टोलीलाई विद्यालयले एक कार्यक्रम आयोजना गरी सम्मान तथा बिदाई कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै ओरष्टे गाविसका पूर्व वडा अध्यक्ष चुन प्रसाद शर्माले विपद् व्यवस्थापनका लागि नेपालले जापानबाट सिक्नु पर्नेमा जोड दिए । कार्यक्रममा दिव्य प्रकाश उच्च माध्यामिक विद्यालयका प्राचार्य टुक नारायण शर्मा, नवज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक तेजमाया शर्मा, समाजसेवि हुमबहादुर थापा, बासुदेव थापा र इन्द्र बहादुर थापा तथा स्वयंसेवक टोलीका सुवास मल्ल, बाबुराम नेपाली र सृष्टी रेग्मीले पनि बोलेका थिए ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
शिक्षा
» पोखरेली विद्यार्थीहरूद्वारा विद्यालय भवन निर्माण
Subscribe to:
Post Comments (Atom)
Post a Comment