0
गोल्डेन न्यूज संवाददाता
 बैशाख १२ र २९ गते देशमा गएको शक्तिशाली भूकम्पबाट पूर्णरुपमा घर क्षति भएका कास्की जिल्लाको ल्वाङ्घलेल गाविसका २६ घर परिवारलाई एक समारोहका बीच राहत स्वरुपप्रति परिवार १÷१ बण्डल जस्ता पाता वितरण गरिएको छ । ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट काठमाडौंकी मेनेजर विष्णु दवाडी पौडेलको पहलमा विदेशमा बस्ने नेपालीहरु समेतबाट संकलित रकमबाट सो राहत सामाग्री वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जि.सी.ले राहत सामाग्री हस्तान्तरण गर्दै वर्षायाममा पानीबाट ओत लाग्न यो सानो सहयोगले पनि महत्व राख्ने बताउँदै मातृशक्तिलाई जागृत गराउन यस कार्यक्रमले प्रेरणा दिने धारणा राखेका थिए । क्षेत्रीय प्रशासन कार्यालय पोखराका पूर्व शाखा अधिकृत रामचन्द्र पौडेल, नेकपा एमाले क्षेत्र नं.४ का अध्यक्ष विष्णु केसी, विष्णु दवाडी पौडेलले भूकम्प पीडितलाई सहयोग गर्नु सबैको दायित्व रहेको धारणा व्यक्त गरेका थिए । नेपाल रेडक्रस सोसाइटी धिताल, धम्पुस, ल्वाङ्घलेल उपशाखाका सभापति वासुदेव दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य गाविस सहायक दुर्गा दाहाल र कार्यक्रम संचालन कृष्ण दवाडीले गरेका थिए । यसैगरी लेखनाथ नगरपालिका वडा नम्बर ११ स्थित पचभैयामा रहेका विभिन्न संघसंस्थाहरुले  भूकम्प पीडितका लागि नगद सहयोग गरेका छन् । पचभैया प्रगतिशील युवा मञ्चको पहलमा विभिन्न व्यक्ति तथा संस्थाहरुबाट संकलित ५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो । संकलित रकममध्ये पचभैया सामुदायिक वन उपभोक्ता समूहले १५ हजार, कुर्लुङखोला खानेपानी आयोजनाले पाँच हजार रुपैयाँसहित त्यहाँ क्रियाशील संघसंस्था एवं टोलविकास संस्थाहरुले रकम प्रदान गरेका हुन् । आईतबार मञ्चका अध्यक्ष शरण थापा लगायत विभिन्न सहयोगी संस्था तथा व्यक्तिहरुका प्रतिनिधिहरु पोखरा आई स्टाण्डर्ड चार्टड बैङ्कको प्रधानमन्त्री राहत कोष खातामा रकम जम्मा गरेका हुन् । भूकम्पबाट पचभैयामा क्षति पुगेको भएता पनि पनि रुमा दुःखी बनाएकाले अन्य जिल्लामा भएको क्षतिले आफूहरुलाई दुःखी बनाएकाले सानो सहयोग मार्फत उनीहरुको दुखमा साथ दिने प्रयास गरेको मञ्चका सचिव धनबहादुर गुरुङ्गले जानकारी दिए । कोषमा जम्मा गरेको रकम वास्तविक पीडितसम्म पुग्ने विश्वास पनि गुरुङ्गको छ । यसैगरी विनाशकारी भूकम्पका कारण घाईते भई पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारत विरामी तथा तिनका आफन्तहरुलाई नगर महिला समन्वय समितिले ३ दिनको खाना खुवाएको छ  । तथा वडा महिला समन्वय समति पोखरा १५ का अध्यक्ष पार्वती कार्कीको संयोजकत्व मा विरामी हरुलाई खाना खुवाईएको हो । खाना खुवाउने कार्यमा कोलपाटन आमा समूह, जनशक्ति टोल लेन १ नयाँगाउँ, ढुंगेसाँघु आमा समूह, चेतना कृषि महिला समूह टुटुंगा, फूलबारी आमा समूह र एकता आमा समूह लगायत वडा नं १५ मा रहेका सबै आमा समूहका सदस्यहरुले सक्रियता पूर्वक सहभागिता जनाएको महिला समन्वय समति पोखरा १५ का अध्यक्ष पार्वती कार्कीले जानकारी दिए ।

Post a Comment

 
Top