0
 असफल गौतम
सन्दर्भ ः
घाचोक–१, कास्कीमा जन्मेका स्रष्टाको नाम हो टेकनाथ पोखरेल । माता कुन्ती पोखरेल र पिता हरिलाल पोखरेलको कोखबाट जन्मेका टेकनाथ नेपाली वाङ्मयको क्षेत्रमा टेकनाथ पीडितका नामले परिचित छन् । वि.सं. २०४१ सालदेखि साहित्य यात्रामा लागेका लेखकका हालसम्म पद्य पुष्पाञ्जली (कवितासङ्ग्रह–२०५०), तर्पणका अञ्जुली (शोककाव्य–२०५१), घाम–छायाँका तरेलीहरू (कवितासङ्ग्रह–२०५७), तोता–मैना (खण्डकाव्य–२०६१), आमाहरू (कवितासङ्ग्रह–२०६९) लगायतका काव्यकृतिहरू यस अगाडि नै प्रकाशित भइसकेका छन् । सिर्जना पुरस्कार–२०६८ बाट सम्मानितसमेत भइसकेका पीडितले सिर्जना, हिमशिखर, हेमजाका कविताहरू, चन्द्रज्योति स्मारिकालगायतका विभिन्न पत्रपत्रिकाहरूको सम्पादनको जिम्मेवारी पनि वहन गरिसकेका छन् । सिर्जना साहित्य सदनका तत्कालीन संस्थापक सचिव तथा वर्तमान संरक्षक सदस्य, हेमजा साहित्य प्रतिष्ठान, नेपाली भाषा शिक्षक परिषद् कास्कीका आजीवन सदस्य र नेपाली लेखक सङ्घका सदस्यसमेत रहेका पीडितले १४ वर्षको निजामती सेवा अवधिपछि अवकाश लिएर हाल प्राध्यापन पेशामा क्रियाशील रहदै आएका छन् । पृथ्वीनारायण क्याम्पस पोखरामा छ वर्ष प्राध्यापन गराएका पीडित हाल चन्द्रज्योति उच्च माध्यमिक विद्यालय तनहुँको उच्च मा.वि. संयोजकका रुपमा रहेर प्राध्यापन गराउँदै आएका छन् ।

विषयप्रवेश ः
वि.सं. २०७२ सालको नयाँ बिहानी सँगसँगै पीडित आफ्नो नयाँ कृति यात्रा (कथासङ्ग्रह–२०७२) लिएर बजारमा आएका छन् । सधै कविता र काव्यमा रमाएका पीडित वाङ्मयिक यात्राको झण्डै रजत वर्षको अवसर पारेर आख्यान विधामा आकर्षित भएका छन् । यसो त उनले यसभन्दा अगाडि आख्यान विधामा कलम नचलाएका भने होइनन् । फुटकर रुपमा केही रचना प्रकाशन गर्दै आएको भए पनि यो उनको पहिलो आख्यान कृति हो । २०५६ सालमा छोटो आयामको (हेर्दा लघुकथा जस्तो लाग्ने) कथा खिस्रिक्कदेखि लिएर २०७२ वैशाखसम्म लेखिएका, केही पत्रपत्रिकाहरूमा प्रकाशन भएका र केही अप्रकाशित कथासहित जम्मा २१ थान कथा प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत भएका छन् ।
टेकनाथ कसरी पीडित बने ? त्यो चासो र चिन्ताको कुरा होइन तर प्रस्तुत सङ्ग्रहका कथाहरू अध्ययन गर्दै जाँदा उनलाई यही हाम्रो गाउँ, समाज, टोल र बस्तीको परिवेशले पीडित बताएको रहेछ की ! भन्ने अनुमान प्रस्तुत कथासङ्ग्रह अध्ययनपछि गर्न सकिन्छ । त्यो परिवेशको सिर्जना गर्न प्रस्तुत कथाहरू सवल रहेका छन् । पीडितले सङ्ग्रहमा समावेश गरेका कथाहरूमा कुनै नयाँ विषयवस्तु समावेश छैनन् । एक समय पीडित निजामती कर्मचारी थिए । निजामती कर्मचारीका कुरा आउँदा उनकै जीवनमा घटेका घटना हुन् कि ? भन्ने भान हुन्छ । कुनै समय पीडित प्राध्यापक थिए र अझै पनि छन् । रिखे माडसाब, हेडसर र सिफारिस जस्ता कथा पढ्दा यि सबै कथा उनकै जीवनका घटना हुन् कि ? भन्ने अनुभुत हुन्छ । किन भने इमान्दार, श्रमजीवि र मेहेनती व्यक्तिले आजको दुनियाँमा स्थान पाउन मुस्किल छ । त्यसैले अन्याय र अत्याचार नसहने बानीका कारण पाउनु परेको दुःख, पीडा र वेदना उनका कथामा पाइन्छ । कथाहरूमा निजामती कर्मचारीका क्षेत्रका विकृति, शिक्षाका क्षेत्रमा भएका विकृति र विसङ्गती, राजनीतिक प्रभावले थिलोथिलो पारेको कर्मचारीतन्त्रलाई थोरबहुत चिरफार गरिएको छ । यहाँ चाकडी नगर्नाले माडसाबहरू र हेडसरहरूलाई चिन्ता परेको छ । त्यसैले यी कथा उनका आफ्नै विषय जस्ता लाग्छन् ।
उनका आफ्ना विषयजस्ता लाग्ने कथा मात्र होइन, हाम्रै गाउँ समाजका विभिन्न पात्रहरूका जीवनमा घटेका घटनाहरू पनि उनका कथाका विषयवस्तु बनेका छन् । कयौं नेपाली दाजुभाइहरू आफ्नो घर परिवारको खुशीका लागि, सुन्दर भविष्यका सपना साचेर परदेश गएका छन् । ती परदेशिएकाका पीडा एक ठाउँमा छन् । त्यही मौका पारेर मन एकातिर र ज्यान एकातिर भएका प्रेमीकाहरूका जीवनमा आएका विपत्तिका क्षणहरू र मनका अन्तरवेदनाहरूलाई पनि उनले कथामा प्रस्तुत गरेका छन् । पूर्व प्रेमीले पटक–पटक प्रेमिकाको सामिप्यतामा आउन खोजेर अप्ठ्यारो पारेका विषयवस्तु उनका कथामा छन् । गाउँमा मान्छे मरे भने मलामी पाइदैन । वृद्ध र केटाकेटीबाहेक युवा जवानहरू देखिदैनन् । कोही रहरमा सहर पसेका छन् । कोही दुई चार पैसा कमाउन विदेश पलायन भएका छन् । हाम्रै गाउँटोलमा श्रीमान विदेश गएर, सहरमा गएर दुई चार पैसा कमाएर पठाएका । विदेशी भूमिमा रहेर वर्षौैवर्षसम्मको कमाई घर परिवार भन्दै पठाउँदै गरेका र घर आउँदा न श्रीमती न सम्पत्ति भएका घटनाहरू कयौं घटेका छन् यसर्थ उनी सचेत कथाकार हुन् । यसरी उनले विषयगत विविधता भएका कथाहरू समावेश गरेर कृति अध्ययनका क्रममा रुचिकर लाग्ने बनाएका छन् ।
पीडितका कथामा गाउँ घरमा देखिएका विकृति र विसङ्गत पक्षको चिरफार मात्र गरिएको छैन । केही कथामा युद्धकालिन परिवेशको चित्रण पाइन्छ । उनको  अनुत्तरित प्रश्नहरू कथाले देशले भोगेर आएको द्वन्द्वको परिवेशको प्रतिनिधित्व गरेको पाइन्छ । कथामा स्कुलमा पढाउने गरेको शिक्षकलाई सेनाले अपहरण शैलीमा लगेको सन्दर्भ आएको छ । सोही कारण उनको भाइ पनि माओवादी सेनामा लागेको छ । आफैले जन्माएका बाबुले आफ्नै छोरो घरमा नआइदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । एकातर्फ द्वन्द्वको पीडा छ, अर्कोतर्फ बालसुलभपन पनि देखाइएको छ । पछिल्लो समय देशमा सहीदको संख्या मौलाउँदै गएको छ । सानो नाबालकले सोधेको छ ः बा, बा ! सहीद भनेको को हो ? (पृ.३२) त्यही मौलाएको सहीद भन्ने शब्दको जवाफ दिने सन्दर्भ निकै कारुणिकता व्यक्त भएको छ ।

पीडित आफ्नो कथा सङ्ग्रहमा कतै निडर कथाकार बनेर निस्केका छन् । कतै सामाजिक यथार्थवादी कथाकार बनेर प्रस्तुत भएका छन् । उनी यो गाउँ समाजमा असल पात्र नपाएर चिन्तित भएका छन् । पात्रको खोजी कथाले त्यही भाव व्यक्त गरेको छ । कथा लेख्नका लागि पात्र खोज्दै हिडेका कथाकारले असल पात्र नपाएर दिक्क परेका छन् । उनी धेरै हिड्छन् खोज्छन्, दिमाख लगाउँछन् तर पात्र पाउँदैनन् त्यो पीडा प्रस्तुत कथामा व्यक्त भएको छ । किन भने समाजमा असल आचरण र चरित्र भएका पात्रहरू नै पाइदैनन् ।  भन्ने सन्देश कथाले दिएको छ । कृतिमा समावेश गरिएका खोसिएको खुशी र यात्रा जस्ता कथाहरू पनि उत्कृष्ट सामाजिक सन्देशमुलक कथा हुन् । उनका कथामा प्रेम कहानीहरू पनि आएका छन् । जोसँग प्रेम गर्न चाहेको छ त्यो व्यक्तिसँग प्रेमसम्बन्ध प्रगाढ हुन सकेन भने जिन्दगी सबल हुँदैन भन्ने सन्देश उनका कथामा पाइन्छ । जीवनका हरेक पक्षले सकरात्मक प्रेमको अपेक्षा गरेको हुन्छ भनेर धेरै जसो कथामा प्रेमका सन्दर्भहरू आएका छन् । जिन्दगीको हरेक यात्रामा असल साथी भएन भने यात्रा सफल हुँदैन भन्ने सन्देश उनका कथामा पाइन्छ । जसरी उनका कथामा द्वन्द्वकालिन पीडाको चित्कार समावेश गरिएको छ । जसरी सामाजिक यथार्थवाद प्रस्तुत गरिएको छ त्यसैगरी कथाका माध्यमबाट व्यङ्ग्य पनि प्रहार गरिएको छ । कृतिका कुकुर र खिस्रिक्क दुवै कथाहरू व्यङ्ग्यप्रधान कथाहरू हुन् । जन्मदिने बाबुआमा भन्दा कुकुरको माया धेरै भएका छोराछोरीका कारण अधिकांश बाबुआमाले दुःख पाएका छन् भन्ने सन्देश उनको कुकुर कथामा पाइन्छ । यसैगरी उनको पछिल्लो समय लेखिएको कथा हो सन्तमाया, छयाङ र भूकम्प । १९९० सालपछिको ठूलो विनाशकारी भूकम्पका कारण पीडित बनेका लाखौं नेपालीको पीडाको कथा प्रस्तुत कथामा समावेश रहेको छ । जे जस्तो परे तापनि जीवन जिउनु छ । जिउनका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने खालको सन्देश प्रस्तुत कथाले दिएको छ ।

कथाका सीमाहरू ः
समग्रमा कृतिका राम्रा नराम्रा पक्ष सबैका हुन्छन् । आफूलाई जुन सुकै विषयमा विज्ञता भएको ठानेता पनि, सचेत हुँदाहुँदै  सामान्य त्रुटि भइनै हाल्छन् । यस्तै पीडितका कृतिमा झिनामसिना केही समस्याहरू देखिएका छन् । उनका कथाहरूमा कहीँकहीँ वाक्य गठनमा त्रुटि र अस्पष्टता देखिन्छ । जस्तो ‘भुइँचालोमा परेर खुट्टा गुमाएकी शकुन्तलाकी छोरी आमासँग सुत्छे, स्टीलको अर्को खुट्टा कहिले लाउने आमा ?’ (पृ. ९४) । पात्रविधानमा केही समस्या देखिएका छन् । यो समस्या उनको आख्यान विधाको पहिलो कृति भएकाले हुनसक्छ । उनका अधिकांश कथाहरूमा संवाद र द्वन्द्व पक्षको कमी रहेको छ । कथाहरू संवादमा भन्दा वर्णन पक्षमा बढी केन्द्रीत रहेका छन् । जसबाट कथाहरू निबन्धात्मक पाराका बन्न पुगेका छन् ।

भाषाशैली ः
पीडितका कथामा प्रयोग गरिएको भाषाशैली सरल, सहज र सरस रहेको छ । सामान्य र वौद्धिक दुवै पाठकले एकै बसाइमा पढेर कथाको सारतत्व ग्रहण गर्न सक्ने भाषाको प्रयोग नै उनका कथाको सवल पक्ष हो । उनका कथाहरू पढेपछि छोड्न मन लाग्दैन । ग्रामीण भेकको चरित्र चित्रण उनका कथामा पाइन्छ । पीडितका कथाका विषयवस्तु आफू जन्मेको, हुर्केको, बाँचेको र हासखेल गरेको परिवेशमा घुमेका छन् त्यसैले कथामा आञ्चलिकताको प्रभाव देखिन्छ । केही कथाहरू पढ्दा संस्मरण जस्ता लाग्ने संस्मरणात्मक शैलीको प्रयोग कथामा भएको पाइन्छ । उनका कथामा कताकति आलङ्कारिक भाषाको पनि सवल प्रयोग छ यो उनको सवल पक्ष हो । यस्तै उनी व्यङ्ग्यवादी कथाकारका रुपमा पनि प्रस्तुत भएका छन् । कवि मन भएकाले नै हुनुपर्छ कतै कथामा कविता पनि प्रस्तुत गरेका छन् । यसले उनको काव्यप्रवृत्तिलाई सङ्केत गरेको छ । पहिलो पटक प्रस्तुत कृति पढ्नेहरूलाई उनको बहुआयामिकताबारे प्रष्टयाउनका लागि सघाएको छ । अध्ययनका क्रममा कुनै उल्झन फेला पर्दैन । सहजै अनुभुत गर्न सकिने, आफ्नै गाउँ टोलमा भइरहेका, हुँदै आएका र भइरहने घटनाहरूको नालिवेली नै उनका कथाका विषयवस्तु बनेकोले कथाहरू सरल रहेका छन् ।
निष्कर्ष ः
कथाकार पीडितको सवल पक्ष भनेको कथा लेखनमा देखिएको निडरपन हो । यसबाट उनको विषयवस्तुलाई प्रस्तुत गर्न सक्ने सामथ्र्यको लेखाजोखा गर्न सकिन्छ । उनका कथामा चाकडी, चाप्लुसी र ज्यूहजुरको पुकार नगरीे आफूलाई निडर कथाकारका रुपमा प्रस्तुत गरेका छन् । उनका कथामा जीवन भोगाइका परिस्थितिहरू आएका छन् । देशको वर्तमान परिवेश, शिक्षा, स्वास्थ्य र रोजगारीदेखि लिएर विविध विषयमा देखिएका समस्याहरूलाई छताछुल्ल पारिएको छ । नातावाद र कृपावादले गाँजेको समाजको चित्रण गरिएको छ । देशमा मौलाएको बेरोजगारी र आर्थिक कठिनाइले जनजीवनमा पारेको प्रभावलाई व्यक्त गरिएको छ । युवा विदेश पलायन भएर स्वदेश रित्तिएको पीडा व्यक्त गरिएको छ । देशमा राजनीतिले पारेको नकरात्मक प्रभावको प्रस्तुति, राष्ट्रवादी चेतना र आशावादी दृष्टिकोण नै उनका प्रवृत्तिगत विशेषता हुन् । यसर्थ कथाकार टेकनाथ पीडित सबल कथाकार हुन् भन्न सकिन्छ । 
सन्दर्भ सूचीः
प्रस्तुत समालोचना तयार पार्न सहयोग लिइएका सम्पूर्ण पुस्तकहरू ।
पीडित, टेकनाथ ( २०७२) यात्रा,  पोखरा ः श्रीमती इन्द्रा पोखरेल ।
..................... ( २०६९) आमाहरु, पोखरा ः सिर्जना साहित्य सदन ।
ठूलाडिही ६ स्याङ्जा, ९८५६०३१२२८

Post a Comment

 
Top