0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देव क्षेत्रीले उद्योग वाणिज्य संघको सवलिकरणको लागि नेपाल उद्योग वाणिज्य महासंघ संवेदनशील हुनुपर्ने बताएका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा पोखरा आएको इलाम उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा सोमबार आयोजित छलफल कार्यक्रममा बोल्दै उनले साझा अवधारणा निर्माण हुन सके मात्र निजी क्षेत्र बलियो बन्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले स्थापनादेखि नै सामाजिक उत्तरदायित्वलाई मूल ध्येय बनाएको प्रष्ट पार्दै उनले व्यवसायीले सामाजिक छवि निर्माण गर्नुपर्नेमा जोड दिए । संघका गतिविधिबारे प्रकाश पार्दै उनले पोखराको बजारमा माग हुुने वस्तु उत्पादन गरे ति बस्तुहरुको बजारीकरणमा सघाउने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै इलाम उद्योग वाणिज्य संघकी अध्यक्ष सुशिला सापकोटाले इलामको पर्यटकीय र उद्योगको प्रचुर सम्भावना भए पनि इलामले प्रगति गर्न नसकेको बताइन् । इलाममा उत्पादित चिया, जडिबुटीहरु कच्चापदार्थको रुपमा भारत निकासी हुने गरेको बताउँदै उद्योग खोल्न सके त्यसको प्रतिफल राज्यले नै लिनसक्नेतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन् । पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले भारत र चीनको बजारलाई ध्यानमा दिएर उत्पादन गर्न सके मात्र देशको अर्थतन्त्र मजबुत हुने बताए । उनले कृषि लगायतका क्षेत्रमा अब सामूहिक लगानीका साथ अगाडि बढ्नुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले संचालन गरेको कार्यक्रममा संघका पूर्व अध्यक्ष सुरेशराज राजभण्डारी, कार्यसमिति सदस्यहरु सीता गुरुङ, ईश्वर कर्माचार्य, इलाम उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य दिव्या भट्टराई, एक गाउँ एक उत्पादन कार्यक्रमका गंगा विष्ट लगायतले मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top