गोल्डेन न्यूज संवाददाता
कास्की चापाकोटवासीले महिला स्वास्थ्य स्वयंसेविका(मस्वासे) लाई धेरै जिम्मेवारी दिइए पनि सुविधा भने नदिएको गुनासो गरेका छन् । मंगलबार चापाकोट उपस्वास्थ्य चौकीमा गरिएको सामाजिक परीक्षण कार्यक्रममा सहभागी भएका चापाकोटवासीले २४ सै घण्टा सेवा दिन, गाउँ घर क्लिनिक तीन दिन संचालन गर्न, स्वास्थ्य संस्थामा दरबन्दी बढाउन समेत माग गरेका छन् । गुनासो गरेका हुन् । महिला स्वास्थ्य स्वयंसेविका इन्दिरा लामिछानेले भनिन्,–‘हामीलाई काममा मात्रै लगाइन्छ, औषधि राख्ने बाकस माग्न थालेको कति भइसक्यो, सरकारले खै हाम्रो दुःख देखेको ?’ सामाजिक परीक्षणमा उठेका विषयका जवाफ दिंदै जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बोधराज सुवेदीले गाउँ गाउँमा स्वास्थ्य संस्था खोलेर सरकारले तल्लो तहसम्म सेवा उपलब्ध गराएको र ती सेवाको प्रभावकारिताको लागि सामाजिक परीक्षणले सहयोग गर्ने बताए । विगतका कमजोरी सुधार गर्दै आगामी दिनमा अझै प्रभावकारी रुपमा सेवा प्रवाह गर्न उनले प्रतिबद्धता जनाए । माग अनुसार, समयमै औषधि उपलब्ध गराउँदै आएको उनले बताए । मातृ तथा बाल स्वास्थ्यमा सरकारले धेरै लगानी गरेको र लक्ष्य अनुसारको प्रगति प्राप्त गर्न मातहतका सबै कार्यालयलाई आग्रह समेत गरिएको उनले सुनाए । जिल्ला जनस्वास्थ्य कार्यालयका लेखा अधिकृत एकनारायण शर्माले स्वास्थ्य सेवा विभागले यो वर्ष औषधि खरिद नगरेकाले केही समस्या आए पनि जिल्लास्तरबाट खरिद गरी काम चलाइएको बताए । चापाकोट गाविसका मस्वासेलाई आगामि वर्ष औषधि राख्ने बाकस उपलब्ध गराउन उनले प्रतिबद्धता जनाए ।उपस्वास्थ्य चौकी प्रमुख ऋषिराम पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा २ हजार ५ सय ६१ जनाले स्वास्थ्य सेवा लिएकोमा गत आवमा तीन हजार सात सय २३ जनाले सेवा लिए । चालु आवको साउनदेखि वैशाखसम्ममा एक हजार आठ सय ९९ महिला र एक हजार ३७ पुरुष गरी दुई हजार नौ सय ३६ जनाले सेवा लिए । यसैगरी, गत आव भरीमा ५३ जनाले प्रसुती सेवा लिएकोमा यो आवमा हालसम्म ३१ जनाले सुत्केरी सेवा लिएका छन् । नेपाल समता फाउण्डेसनका अध्यक्ष नारायण कार्कीले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन समुदाय नै चनाखो रहनुपर्ने बताए । सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन फाउण्डेसनका सचिव भरत कोइरालाले प्रस्तुत गरेका थिए । पहिलो दिन कार्यालय अनुगमन, संक्षिप्त परीक्षणको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन समिति र सेवा प्रदायक बीच संयुक्त रुपमा कार्ययोजनाको समिक्षा, वस्तुस्थिति अवलोकन र सेवाग्रहीसँंग छलफल गरिएको र दोस्रो दिन मंगलबार आमभेला सञ्चालन गरिएको उनले बताए । चापाकोट गाविस सचिव युवराज पौडेलले स्थानीय तहका स्वास्थ्य संस्थालाई आवश्यक बजेट विनियोजन गर्न जिल्लाले कन्जुस्याईं गरेको बताए । यो वर्ष कास्कीका १३ वटा स्वास्थ्य संस्था सामाजिक परीक्षणका लागि छानिएका छन् । तीमध्ये आठवटामा गत वर्ष पनि परीक्षण गरिएको थियो भने पाँचवटा नयाँ छानिएका छन् ।नेपाल समता फाउण्डेसनको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सोमबार सुरु भएको परीक्षण सोमबार आम भेला गरी सकिएको थियो ।
Post a Comment