0
गोल्डेन न्यूज संवाददाता
नेपालमै पहिलो पटक  स्वर्णविन्दु प्राशन गराइने भएको छ । पोखरा उप–महानगरपालिका वडा नं. १० इन्द्रचोकमा रहेको पञ्चम आयुर्वेद क्लिनिक प्रालिले पहिलो पटक स्वर्णविन्दु प्राशन गराउने भएको हो । यहि असार ५ गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले बालबालिकालाई स्वर्णविन्दु प्राशन गराएर कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । आयुर्वेद चिकित्सकका अनुसार स्वर्ण (सुन), विन्दु (थोपा), प्राशन (खुवाउनु) अर्थात सुन जस्तै मूल्यवान थोपा खुवाउने प्राचीन पद्धतिलाई स्वर्णविन्दु प्राशन संस्कार भन्ने गरिन्छ । त्रेतायुगमा महर्षि कश्यपद्वारा बच्चाको स्मृति, वुद्धि एवं रोगप्रतिरोधात्मक क्षमता बढाउनका स्वर्णविन्दु प्राशन गराएको धर्मशास्त्रहरुमा पाइन्छ ।  स्वर्णविन्दु प्राशन कार्यक्रमकी संयोजक एवं गण्डकी अञ्चल आयुर्वेद औषधालयकी प्रमुख डा. शुभद्रा कार्कीका अनुसार आयुर्वेद चिकित्सा पद्धतिको काश्यप संहिता शिशुहरुको विकासक्रम, स्वास्थ्य र रोगव्याधि विशेषको वर्णन भएको महत्वपूर्ण ग्रन्थ हो । स्वर्णबिन्दु प्राशनले बालबालिकाहरुलाई संक्रमणजन्य रोगहरुबाट बचाउनुका साथै बच्चाहरुको शारीरिक क्षमतामा वृद्धि गराउने उनले बताइन । डा.कार्कीले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको ग्रहण शक्ति तथा सोच्ने क्षमतामा बृद्धि, भोजन पाचन क्षमतामा वृद्धि, त्वचामा प्रभाव एवं ंओजन वृद्धि, मोटोपन, कुपोषण, सिक्ने कुरामा कमि, बच्चाको वृद्धि विकासमा समस्या, विभिन्न किसिमका एलर्जी जस्ता रोगहरुका लागि अत्यन्त उपयोगी हुन्छ । डा. कार्कीले भनिन्–‘आजभोलि समय, पर्यावरण र परिवेश बदलिँदो छ । हाम्रो खानपिन, रहनसहन, हावापानी सबैमा अशुद्धता व्याप्त छ । नयाँकिसिमका रोगहरु बढ्दै छन् । वैज्ञानिक अनुसन्धानको गति जति तीव्र छ त्यति नै मानवलाई आक्रान्त पार्ने व्याधिको गति छ । विशेषगरी हाम्रा सन्तति यसको खतरामा छन् । बच्चाहरु मैदा र अशुद्ध खाद्यान्नको संस्कारमा हुर्किरहेका छन् । नउ चितपोषण छ, न यथोचित शुद्धता । सानै उमेरबाट बच्चाहरु शारीरिक र मानसिक व्याधिहरुबाट ग्रसित बनिरहेका छन् । यसको न्युनिकरण तथा यसबाट बचाउनका लागि स्वर्ण विन्दु भरपर्दो औषधि हो ।’ बच्चाहरुको स्वास्थ्य रक्षाका लागि अत्यन्त उपयोगी रहेको स्वर्णप्राशन महिनामा एक पटक विशेष नक्षत्र (साइत) पारेर सेवन गराइन्छ भने ६ महिनादेखि १६ बर्षसम्मका बच्चाहरुलाई चिकित्सकको सल्लाहमा सेवन गराइने पञ्चम आयुर्वेद क्लिनिकका प्रबन्ध निर्देशक डा.विष्णुप्रसाद चापागाईले जानकारी दिए ।

Post a Comment

 
Top