गोल्डेन न्यूज संवाददाता
कास्कीको मिजुरेडाँडा गाउँ विकास समितिलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी पूर्ण साक्षर गाविस घोषणा गरिएको हो । गाविसमा रहेका २२०१ जना निरक्षर मध्ये ९५ प्रतिशतलाई साक्षर बनाएपछि पूर्ण साक्षर घोषणा गरिएको गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाविस सचिव ऋषि सुवेदीले जानकारी दिए । योसँगै मिजुरे कास्कीको ३१ औं पूर्ण साक्षर गाविस हुन सफल भएको छ । यसअघि ३० वटा गाविस र पोखरा उपमहानगर पालिकाका केही वडाहरु पूर्ण साक्षर घोषणा भैसकेका छन् । कार्यक्रममा बोल्दै जिल्ला विकास समिति कास्कीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत कृतनराज पौडेलले यो घोषणाले कास्की जिल्लाको पूर्ण साक्षरतामा महत्वपूर्ण सहयोग गरेको बताए । कास्कीलाई जेठ मसान्तसम्म पूर्ण साक्षर जिल्ला बनाउने तयारी गरिएको छ । पौडेलले यो अभियानमा सहयोग गर्न सबैसँग आग्रह समेत गरेका छन् । उनले साक्षरता घोषणा संगै यसको सफल कार्यन्वयनको लागि निरन्तर सिकाईको विकास सहित आयआर्जनमा लाग्नुपर्नेमा जोड दिए । शिक्षाबाटै देशको विकास हुने र देश साक्षर हुन घर परिवारबाटै सुरुवात गर्नुपर्ने पौडेलको भनाई छ । यस्तै मिजुरेडाँडाका श्रोतब्यक्ति बिष्णु तिवारीले पनि जिल्ला साक्षरता घोषणा अभियानमा लागेको बताए । उनले बाँकी रहेका निरक्षरलाई साक्षर बनाउन पनि पहल गर्न अनुरोध गरेका छन् । मिजुरे साक्षरता अभियान सफल बनाउनका लागि मिजुरे बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्रको अगुवाईमा साक्षरता कक्षा सञ्चालन गरिएको केन्द्रका अध्यक्ष लाल बहादुर गुरुङ्गले जानकारी दिए । यसका लागि विद्यार्थीहरुलाई खटाएर ईच वान टिच वान पद्धति अपनाईएकाले चाँडै घोषणा गर्न सफल भएको उनको भनाई छ ।
Post a Comment