गोल्डेन न्यूज संवाददाता
कास्कीको विकट मिजुरेडाँडा गाविस वडा नंं. २ नागीधार, ४ पाखुरीकोट, ६ र ७ गोर्जे, ९ कुवेरडाँडा तथा रखलगाउँ लगायत गाउँ टोलका करिब ३ सय ५० घरधुरीमा हालसालै विद्युतीकरण भई झिलिमिलि भएको छ । विद्युतीकरणको शनिबार मिजुरेडाँडा गाविसको भवन प्राङ्गणमा एक विशेष समारोहविच कास्कीको सेही क्षेत्र नं. १ बाट निर्वाचित संविधान सभाका माननीय सभासद् यज्ञबहादुर थापाले स्विच अन गरेर औपचारिक समुद्घाटन गरेका थिए । समुद्घाटन संगै सभासद् थापाले मिजुरेडाँडाको सर्वाङ्गीण विकासका लागि आफू सधै लागी रहने बताए । त्यस्तै नेपाली काँग्रेस कास्कीका महाधिवेशन प्रतिनिधि तथा कास्की जिल्ला संयन्त्रका प्रतिनिधि प्रकाश मोहन खनालले विद्युतीकरण गर्न बाँकी रहेका मिजुरेडाँडाका अन्य गाउँ टोलहरुका लागी जिल्ला विकास समितिमा रहेर आफु सहयोग गर्न कहिल्यै पछि नहट्ने प्रतिबद्घता गरे । जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख इन्जिनियर नारायण श्रेष्ठले मिजुरेडाँडामा विद्युतीकरण गर्न बाँकी रहेका गाउँ टोलहरुका लागि विद्युतीकरणको प्रक्रिया छिटै अघि बढाइने बताए । कार्यक्रममा स्वागत मन्तब्य विद्युत विस्तार उपभोक्ता समिति मिजुरेडाँडाका वरिष्ठ उपाध्यक्ष यमबहादुर गुरुङ नेन्थेले राखेका थिए भने मिजुरेडाँडाका निवर्तमान गाविस अध्यक्ष मिनबहादुर गुरुङ, रेडक्रस उपशाखा मिजुरेडाँडाका सभापति बसन्तराज अधिकारी, वडा नं. ४ पाखुरीकोटका वडा संयोजक लालबहादुर गुरुङ, वडा नं. २ नागीधारकी वडा संयोजक लालदेवी घले, छिमेकी गाविस हंसपुरका नेपाली काँग्रेस प्रतिनिधि तथा इलाका नं. ३ का नेपाली काँग्रेस सचिव नारायण श्रेष्ठ, हिमालय उच्च मावि गोर्जेका प्रअ विष्णुप्रसाद सुवेदी, एनेकपा माओवादी मिजुरे डाँडाका अध्यक्ष यमनाथ अधिकारी, नेकपा एमाले मिजुरेडाँडाका भूपूअध्यक्ष पितृराज कमल पहारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्र र जिल्ला विकास समिति कास्कीको लगानी तथा स्थानीयबासी, विद्युत विस्तार उपभोक्ता समिति मिजुरेडाँडा, सभासद्, राजनीतिक दल लगायतको विशेष पहलमा हालसालै मिजुरेडाँडा गाविसको ३ सय ५० घरधुरीमा केन्द्रीय प्रसारण लाइनबाट विद्युतीकरण भएको हो ।मिजुरेडाँडा गाविसको ३ सय ५० घरधुरीमा हालसालै विद्युतीकरण भएतापनि गाविसकै वडा नं. ६ गोर्जेको वनपाले, पातिखोला, वडा नं. २ नागीधारको सुन्दरबेँशी, वडा नं. १ र ३ रबैडाँडा, हर्षे, पोसी, परक्यु, साम्ले, वडा नं. ४ पाखुरीकोटको लुम्दी लगायत गाउँ टोलहरुमा भने विद्युतीकरण भएको छैन । बाँकी रहेका यी गाउँ टोलहरुका लागि समेत पहल भइरहेको विद्युत विस्तार उपभोक्ता समिति मिजुरेडाँडाका वरिष्ठ उपाध्यक्ष यमबहादुर गुरुङले बताए । कार्यक्रममा विद्युत विस्तार उपभोक्ता समिति मिजुरेडाँडाको आयब्यय समेत सार्वजनिक गरिएको थियो । विद्युत विस्तार उपभोक्ता समिति मिजुरेडाँडाका वरिष्ठ सचिव कृष्णप्रसाद अधिकारीद्वारा सञ्चालित उक्त समुद्घाटन कार्यक्रममा मिजुरेडाँडाको विद्युत विस्तारका लागि उपभोक्ता समितिलाई सहयोग गर्ने सबैप्रति धन्यवाद प्रकट गर्दै उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश गुरुङले समापनको घोषणा गरेका थिए ।
Post a Comment