0
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलसहितको सात दलीय र साना दलसमेतको ३० दलीय मोर्चासम्बद्ध दलसँग आफूहरुले अघि सारेको १० प्रदेशको अवधारणामा सम्भव भएसम्म पुनर्विचार गर्न आग्रह गरेका छन् । मधेसी दलसँग आफ्नो निवास लाजिम्पाट र ३० दलसँग सिंहदरबारमा गरेको बैठकमा दाहालले यस्तो आग्रह गरेका हुन् । ’कांग्रेस, एमालेबाट सहमतिमै अघि बढ्ने प्रतिबद्धता आएको छ । हामीले पनि १० प्रदेशमा कति मिलाउन सकिन्छ र पहिचान तथा अधिकारमा आधारित कस्तो संघीयतामा जान सकिन्छ पुनर्विचार गरौ भन्नुभयो’ एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने । आन्तरिक छलफलपछि औपचारिक निर्णयका लागि ३० दलको बैठक सोमबार दिउास बस्नेछ । सद्भावनाका नेता लक्ष्मणलाल कर्णले पुनर्निर्माण र संविधान निर्माणलाई संगसंगै लैजानुपर्नेमा विपक्षी मोर्चा एकमत भएको बताए । विपक्षी मोर्चामा संलग्न नेता पासाङ शेर्पाले विभिन्न कोणबाट २ वर्ष पुनर्निर्माणमा जुट्नुपर्ने भएको र संविधानसभाको अवधि पनि बााकी रहेकाले त्यतिन्जेल संविधानको विषय थाती राख्ने प्रस्ताव आएको उल्लेख गर्दै भने,–‘त्यसो गर्दा प्रतिगामी र संविधान बनाउन नचाहने शक्ति सल्बलाउने भएकाले संविधान निर्माणको कामलाई पनि तत्काल अघि बढाउनुपर्नेमा सबैको जोड रह्यो ।’ दुवै बैठकमा संकल्प प्रस्तावविपरीत राहत कार्यमा अनियमितता भएको र त्यसो गर्नेलाई कारवाही गर्नुपर्ने विषयमा छलफल भएको थियो । ‘एकद्वार प्रणाली भने पनि अर्थमन्त्रीसंग सम्बन्धित व्यक्ति र परिवारले अनियमितता गरेबाट सरकारका मानिस नै एकद्वारको विरुद्धमा रहेको देखियो,’ पोखरेले भने, ’अर्थमन्त्रीका स्वकीय सचिव रमेश महतका पिता रविन्द्रसिंह महतसमेतको संलग्नतामा एक ट्रिपर जस्ता अनियमित तवरले लगिएको विषयमा मैले संसदीय विशेष अनुगमन समितिमा लिखित रुपमा कारवाहीको माग गरेको छु ।’

Post a Comment

 
Top