0
रेडियो जननी र पद्मावती हस्तकला उद्योगले पोखरा नयाँबजारस्थित तमु धिं नेपाल, पुनःस्थापना केन्द्रमा रहेका भूकम्प प्रभावितका लागि छ्वाली सम्बन्धी सीपमूलक तालिम मंगलबार सम्पन्न भएको छ । भूकम्पमा परि घाइते भएका, उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका र घरबास गुमाएर  तमुधिंमा आश्रय लिइ रहेका भूकम्प प्रभावितहरुलाई लक्षित गरि तालिम आयोजना गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तमु धिं नेपालकी अध्यक्ष कर्मा तमुले सीप सिक्ने कुरा अरुका लागि नभएर आफ्नै लागि हुने भएकाले सिकेका कुरालाई सिकाईमा मात्रै सीमित नराखी व्यहारमा उतार्नु पर्नेमा जोड दिइन । पद्मावती हस्तकला उद्योगका सञ्चालक तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले भूकम्पले पीडित बनाएको मनलाई भुलाउन र समयको सदुपयोग गर्दै सीप सिकाउने उद्देश्य सहित तालिम आयोजना गरिएको बताइन । रेडियोकी स्टेशन म्यानेजर विमला भण्डारीले  सीपमूलक र रचनात्मक कार्यमा तमु धिसँग आगामी दिनमा पनि सहकार्यका लागि आफूहरु तयार रहेको बताइन । तमु धिं नेपाल कास्कीकी विदेश विभाग प्रमुख सरस्वती गुरुङ्गले सीप सँधै आफैसँग रहने भन्दै आयआर्जनमुलक सीप सिक्नु महत्वपूर्ण रहेको बताइन । कार्यक्रममा तमु धिं नेपाल आमा समूहकी अध्यक्ष हरिमाया गुरुङ्ग,  कान्तिपुर दैनिकका पोखरा व्यूरो प्रमुख भिम घिमिरे, प्रशिक्षार्थीको तर्फबाट बोल्दै गोरखा बारपाककी तारा घले लगायतले आ–आफ्नो भनाइ राखेका थिए । १३ दिनसम्म संचालित तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने तालिम सिकेका मध्ये उत्कृष्ट प्रशिक्षार्थी लाई पुरस्कृत पनि गरिएको थियो । प्रथम भएका बुद्ध गुरुङ्ग, द्वितीय तारा घले, तृतीय पूर्ण विक र सान्त्वना चन्द्र बहादुर गुरुङ्गलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो । तालिमका प्रशिक्षकहरु मीना बराल र शान्ति गुरुङ्गलाई सम्मान पनि गरिएको थियो । तालिममा सहभागीहरुलाई गहुँको छ्वालीबाट बास्केट, ढकिया, टि–म्याट, पेन होल्डर र ट्रे बनाउन सिकाइएको थियो । रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल र नारी नेपालले समेत तालिममा आयोजकको भूमिका निर्वाह गरेका थिए । यसैगरी रेडियो जननी र पद्मावती हस्तकला उद्योगकै संयुक्त आयोजनामा पोखरा १७ विरौटा स्थित बालहितकारी परियोजनामा पनि भूकम्प प्रभावितहरु लाई लक्षित गरि मकैको खोस्टा सम्बन्धी तालिम जारी रहेको बताइन्छ ।

Post a Comment

 
Top