0
गोल्डेन न्यूज संवाददाता
भविष्यमा हुनसक्ने विपदबाट पोखरालाई बचाउन सेतीनदी किनारका घाटहरुमा हुने गरेको गिटी बालुवा निकाल्ने कार्यलाई बन्द गर्दै  मापदण्डलाई कडाईका साथ लागू गर्नुपर्नेमा सरोकार वालाहरुले जोड दिएका छन् । पोखराको उज्वल भविष्यसँग जोडिएको सेतीनदीको स्वच्छता र सुन्दरताका लागि यसको संरक्षण आवश्यक भएकाले विपद् आईलाग्नु पूर्व नै सचेतना अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । सेतीगंगा संरक्षण र व्यवस्थापन समिति पोखराले बुधवार आयोजना गरेको ‘सेतीगंगा संरक्षण र विकासमा सरोकारवालाहरुको दायित्व’ विषयक अन्तत्र्रिmया कार्यक्रममा भूगोल विद्हरुले कागजमा भएको मापदण्ड व्यवहारमा कडाईका साथ कार्यान्वयन नहुँदा विपदपछि सृजना भएको प्रतिकुल अवस्थाको बढी सामना गर्नुपरेको औंल्याएका छन् । भूगोलविद्ध प्रा.डा. विश्व श्रेष्ठले संसारका अधिकांश देशमा नदी, खोला तथा ताल–तलैया आसपासका क्षेत्रमा मानववस्ती नबसाई संरक्षण गरेर राखेको  उदाहरण दिंदै पोखराको जमिनलाई वैज्ञानिक तथा प्राविधिक रुपले अध्ययन गरेर अधिकतम प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । ‘प्राकृतिक सिद्धान्त अनुरुप पनि नदी, खोला तथा ताल किनारबाट सय मिटर वरपर भौतिक संरचना निर्माण गर्न राम्रो मानिंदैन ।’, उनले भने–‘तर पोखरामा वि.सं.२०६२ सालमा नदी, खोला तथा तालको ५० मिटर वरपर भौतिक संरचना निर्माण गर्न नहुने मापदण्ड निर्धारण गरिएपनि व्यक्तिगत स्वार्थका कारण पछि संशोधन भइ पाँच मिटर कायम गरिएको थियो । हाल आएर सबै ठाउँमा उक्त पाँच मिटर पनि कार्यान्वयन भएको देखिंदैन । जुन अत्यन्त दुःखद् पक्ष हो ।’ सेतीको उद्गमस्थल अन्नपूर्ण हिमश्रृङखला,माछापुच्छ«े र साना, ठूला गरि नौ हजार मूलहरु रहेको जानकारी गराउँदै प्रा.डा. श्रेष्ठले यसको जलाधारको श्रोत अवस्थाका बारेमा वैज्ञानिक अनुसन्धान आवश्यक रहेको बताए । नदीमा जुनसुकै बेला पनि बाढी आउन सक्ने भएकाले पोखराका विभिन्न १४ वडा र सेतीसँग प्रत्यक्ष सम्वन्ध भएका गाविसहरुलाई संवेदनशील क्षेत्रका रुपमा लिनुपर्नेमा उनको जोड थियो । नदीमा आउने ढुङ्गा गिटी, वालुवा नदी किनारको डिल भत्किएर नै आउने भएकाले सेती नदीबाट ढुङ्गा, गिटी–वालुवा जथाभावी उत्खनन गर्दा नदीको स्वरुपनै परिवर्तन भई मौसमी तथा बेमौसमी बाढीले विपद निम्तने खतरा बढ्दै गएको विज्ञहरुले बताएका छन् ।  ‘भू–संरचना प्राकृतिक भएकाले यसलाई परिवर्तन गर्न र प्राकृतिक प्रकोपलाई रोक्न कसैले पनि सक्दैन’, भूगोलविद डा.कृष्ण केसीले भने–‘समयमै होस र सोचका साथ पोखरेलीहरुले शतर्कता अपनाए क्षति न्युनिकरण गर्न सकिन्छ ।’  पोखराका संवेदनशिल ठाँउहरुको पहिचान भईसकेकाले जमिनको संवेदनशिलता हेरि संरचना निर्माण गर्न सकिने बताउँदै उनले नदी वरपरका जमिनमा आयआर्जन तथा अन्य रुपले प्रयोग नगर्न सुझाव दिए । सेतीको बाढीमा प्रवाह आउनासाथ शतर्कता केन्द्र आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । सेती नदीको रामघाट लगायतका विभिन्न ठाउँमा स–साना वाँध र फुट ट्रयाक संचालनमा ल्याउन सके आन्तरिक पर्यटक प्रवद्र्धन गर्न सकिने उनले बताए ।कार्यक्रममा स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले आगामी वर्ष २०७२÷०७३ मा नदी संरक्षणको योजना सहित जिल्ला विकास समितिले रामघाट क्षेत्रमा तारजाली तथा घाट निर्माणमा लगानी गर्ने प्रतिवद्धता जनाए ।  यस वर्षदेखि वातावरणीय प्रभावलाई ध्यानमा राखेर नापी कार्यालय, कर कार्यालयसँग समन्वय गरेर मापदण्ड निर्धारण गरि बालुवाको परिमाणमा नियन्त्रण गर्न लागिएको उनले जानकारी दिए । जिल्ला प्राविधिक कार्यालयका डिभिजन ईन्जिनियर नारायण प्रसाद श्रेष्ठले रामघाटबाट उत्खनन कार्य बन्द गरे विकास निर्माण कार्य प्रभावित हुने भन्दै संरक्षण सहित यसको उत्खननमा लाग्नुपर्नेमा जोड दिए । रामघाट क्षेत्रले मात्र पोखरामा मागको ४० प्रतिशत ढुङ्गा गिटी बालुवा आपूर्ति गर्दै आएको बताइन्छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखराको गहनाको रुपमा रहेको सेतीनदीलाई समयमै सम्वद्र्धन र संरक्षण गर्न नसके विनाशको रुप धारण गर्न सक्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए । क्षेत्रीय प्रशासन कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत रामजी प्रसाद कोईरालाले रामघाटमा मात्र नभएर समग्र सेतीनदी किनारमा हुने विकास योजनामा एकीकृत लगानी हुनुपर्ने बताए ।  सेतीगंगा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष विश्व प्रकाश लामिछानेले सेती नदीको संरक्षणका लागि अल्पकालिन र दीर्घकालिन गरी १५ वटा योजनाहरु प्रस्तुत गरेका थिए । सेतीनदी संरक्षणका लागि पोखरामा नागरिक स्तरबाट अभियानको थालनी गरिएको उनको भनाई थियो । कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका सदस्य सचिव सुरेन्द्र सिग्देल, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, बौद्ध अघौं सदनका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, समाजसेवी ईन्द्रबहादुर गुरुङ, सुन्दर गुरुङ, पत्रकार कमल पौडेल अथक, वडा सचिव लोकदर्शन कोइराला, समितिका सचिव नारायण सुवेदी लगायतले सेतीनदीको महत्व र यसले पार्न सक्ने दूरगामी असरबारे चर्चा गर्दै सेतीको संरक्षण र यसका लागि उचित मापदण्ड निर्माणमा अब ढिलाई गर्न नहुने बताएका थिए ।

Post a Comment

 
Top