नेपालमा स्थापित भएका सिमेन्ट उद्योग क्षेत्रका स्थानीय र उद्योगबीच तनाव बढ्दै जान थालेको छ । उद्योग स्थापना गर्दा भएका सहमति सम्झौताहरु पालना नगरेको भन्दै स्थानीयहरु बेला–बेलामा आन्दोलनमा उत्रिने गरेका छन् । सिमेन्ट उद्योग र स्थानीयबीच विभिन्न सहमति भएपनि उद्योग संचालकले त्यो सहमति उल्लंघन गर्दा तनाव बढ्दै गइरहेको हो । स्थानीयले धुवाँ, धुलो र ध्वनि प्रदूर्षण रोक्नुपर्ने माग गर्दै उद्योगको गेटमा तालाबन्दी गरेर आन्दोलन गरेपनि उद्योग संचालक तथा सरोकारवालाले सहमतितर्फ चासो दिंदैनन्, नागरिकको अधिकारमाथि खेलवाड गरिरहन्छन् । यो उनीहरुको गैरजिम्मेवारीपन र नागरिक अधिकारमाथि ठाडो हस्तक्षेप हो । उद्योगबाट हुने प्रदूर्षण र स्थानीयस्तरमा उठ्ने अन्य विभिन्न समस्या समाधान गर्न मासिक अनुगमन गर्ने संयन्त्र बनाइन्छ र त्यो संयन्त्रले काम नगरिदिंदा स्थानीय आन्दोलन गर्न बाध्य हुन्छन् । पछिल्लो क्रममा दाङको एक सिमेन्ट उद्योगमा समेत यस्तै समस्या दोहोरिएका छन् । नेपालमा सिमेन्ट उद्योग खुल्ने क्रम बढ्दै गएको छ । व्यक्तिगत तहबाट हेर्दा उद्योग खुल्नु, रोजगारको अवसर सिर्जना हुनु पनि हो । रोजगार सिर्जना हुनु भनेको देशभित्रै काम गरिखाने वातावरण सिर्जना हुनु पनि हो । सानोतिनो रोजगारीको लागि विदेश जानुपर्ने अवस्था रहेका बेला यस्ता अवसर देखिँदा नागरिकहरु खुशी हुनु स्वाभाविकै हो । त्यस्तै सिमेन्ट उद्योगले वातावरणीय क्षेत्रमा पारेको असरबारे चिन्तित हुनु पनि स्वाभाविकै हो । सिमेन्ट उद्योगकै कारण कतिपयको उठिबास हुने अवस्था आएको छ । उद्योगको चुनखानी एरियामा देखिएको प्रदूर्षण, सुक्दै गरेका पानीका स्रोत, खानी र उद्योगको धुलोको कणले खेतीपाती हुनै छाडेकाजस्ता वातावरणीय प्रभाव देखिन थालिसकेका छन्, यो दुःखद् पक्ष हो । उद्योग स्थापना हुनुभन्दा अघि गरेका सम्झौताहरु कार्यान्वयन नगरेको आरोप स्थानीयहरुले लगाउँदै आएका छन् । उद्योग स्थापना भएपछि गाउँलाई खानेपानी, सडक, स्वास्थ्यमा सहयोग पु¥याउने आश्वासन दिइएको थियो । रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने आश्वासन थियो । तर अहिले ती सबै कुराहरु पूरा भएका छैनन् । स्थानीयसँग भएका सम्झौताहरु पालना नहुँदा उद्योग स्थापनाले उद्योगीलाई त फाइदा पुग्ला तर जिल्लामा उद्योग स्थापना हुनाले जिल्लाले के पायो ? स्थानीयले के पाए भन्ने कुरा पनि महत्वपूर्ण हो । यो उद्योग परिसरका केही स्थानीयहरुको मुद्दा मात्र होइन, उद्योगले उत्सर्जन गर्ने ध्वनि, धुलो, धुवाँबाट पर्यावरणलाई बिग्रन नदिन अपनाउनुपर्ने सतर्कता नअपनाउने हो भने केही वर्षमै देश मरुभूमिमा परिणत हुन बेर लाग्ने छैन । स्वच्छ वातावरण र दिगो विकासका लागि वनजंगल, पानीका मूल, प्राकृतिक स्रोतसाधन जस्तो ढुङ्गा, गिट्टी, बालुवा, वन पैदावार संरक्षण र यिनीहरुको उत्खनन् र प्रयोगमा पर्याप्त सतर्कता अपनाउनु पर्दछ । प्रकृतिबिरुद्ध जाँदा ब्यहोर्नुपरेको भूकम्पीय क्षतिबाट पाठ सिक्दै प्रकृति दोहनसँग जोडिएका उद्योग सञ्चालनमा होशियारी अपनाउनुपर्दछ । प्राकृतिक स्रोतसाधनको अव्यवस्थित र हचुवा किसिमले हुने गरेको दोहन र शोषणले दिगो विकासमा पु¥याउने अबरोधप्रति बेलैमा सचेत हुनुपर्दछ । सिमेन्ट उद्योगले निम्त्याउने वातावरणीय समस्याप्रति बेलैमा सचेत हुन सकियो भने वातावरणीय समस्याका कारण हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । स्थापना भइसकेका उद्योग बन्द गराएर कसैको भलो हुने होइन तर उद्योग सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीप्रति नागरिकहरुले खबरदारी गर्नैपर्छ । सबैलाई थाहा छ उद्योगहरु नाफा कमाउनकै लागि स्थापित भएका हुन्छन् । तर उनीहरुका पनि केही सामाजिक दायित्व हुन्छन् । ती सामाजिक दायित्व भनेका स्थानीय क्षेत्रको विकासमा गर्नुपर्ने लगानी नै हो । उद्योग स्थापना गर्दा गरिएका सम्झौता, वातावरणीय सुरक्षाका हिसाबले निर्वाह गर्नुपर्ने दायित्व र स्थानीयहरुसँग भएका सहमतिको पालना नै हो । दाङका उद्योगहरुले आफ्नो सामाजिक उत्तरदायित्वप्रति गम्भीर बन्दै स्थानीयहरुसँग गरिएका सहमति पालना गरुन् । वातावरण जोगाउने कुरा सम्बन्धित गाउँका केही व्यक्तिहरुको मात्र विषय होइन, यो त आउने पुस्ताको लागि कस्तो वातावरण हस्तान्तरण गर्ने भन्ने विषय पनि हो । आशा गरौं, वातावरण जोगाउने काममा लगानी गर्ने उद्योगहरुले कन्जुस्याइँ नगरी स्थानीयस्तरका समस्या समाधानमा इमानदार बन्नुपर्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment