गोल्डेन न्यूज संवाददाता
लेखनाथमा रहेको जनप्रकाश वहुमुखी क्याम्पस एक दशक पछि आफ्नै सुविधा सम्पन्न भवनमा संचालन हुने भएको छ । आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढाउन विसं.२०५४ सालमा स्थानीयले स्थापना गरेको भएपनि पोखरा विश्वविद्यालयका कुनैपनि आंगिक क्याम्पस नहुँदा स्थानीयका छोराछोरी उच्च शिक्षाका लागि पोखरा धाउनुपर्ने बाध्यता थियो । घरकै मीठो नमिठो खाएर छोरा छोरीलाई लेखनाथमै पढाउने प्रण गर्दै स्थानीयले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएर जनप्रकाश बहुमुखी क्याम्पसको स्थापना गरेका हुन् । स्थानीय जनप्रकाश उच्च मा.वि.को भवनमा व्यवस्थापन संकायबाट कलेजले स्नातक तहको कक्षा शुरु गरेको हो । स्थापनाको एक दशकपछि कलेज अहिले आफ्नै सुविधा सम्पन्न भवनमा सर्ने तयारी गरेको छ । झण्डै चार करोड लागतमा निर्माण हुँदै गरेको भवनबाट आगामी शैक्षिक सत्रको पढाई शुरु गर्ने तयारीमा क्याम्पस जुटेको हो । पुरै फिनिसिङ नभएपनि दुई तला यो आर्थिक बर्षको अन्त्यसम्म झण्डै डेढ करोडको खर्चमा पढाउन योग्य बर्नाँदैछ । क्याम्पसको चार करोडको परियोजना बन्दै गर्दा, आफ्नो स्वामित्वमा जमिन पनि थिएन । यति ठूलो रकम दिने दाता पनि कोही थिएनन् । तर पनि हिम्मत हारेनन् स्थानीयले र शुरु गरे क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीको नेतृत्वमा सरकारी निकायका ढोका ढक्ढक्याउन । स्थानीय जनप्रकाश उच्च मा.वि ले आफ्नै कम्पाउण्डभित्र रहेको १० रोपनी जग्गा बहुमुखी क्याम्पसलाई काटेर दिएपछि आफ्नै भवनको अभियान अघि बढेको हो । यसैक्रममा सुविधा सम्पन्न र गुणस्तरीय शिक्षा उपलब्ध गराउने परिकल्पनामा विश्वविद्यालय अनुदान आयोग र लेखनाथ नगरपालिका कार्यालयका साथै स्थानीयको चन्दा अभियान सहयोगी बन्यो । क्याम्पसको ग्राउण्ड र फस्ट फ्लोर तयार भैरहँदा विश्वविद्यालय अनुदान आयोगले ३७ लाख ५० हजार रुपैयाँ रकम निकासा दिई सकेको छ । क्याम्पसको नयाँ भवन निर्माणका लागि लेखनाथ नगरपालिकामार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट ७० लाख रुपैयाँ, स्थानीयको १६ लाख चन्दा सहयोग र कास्की कांग्रेसका सभापति एवं सभासद् यज्ञबहादुर थापाले संसद पूर्वाधार विकास कोष मार्फत १६ लाख रुपैयाँको योगदान रहेको क्याम्पस प्रमुख बुढाथोकीले गोल्डेन न्यूज दैनिकलाई बताए । ‘चार भाग मध्ये एक भाग काम सकियो । अझ धेरै बाँकी छ ।’ चर्को घाममा क्याम्पसको फस्ट फ्लोरको ढलानको रेखदेख गरिरहेका क्याम्पस प्रमुख बढाथोकीले गोल्डेन न्यूजसंग भने–‘स्थानीयको अथक सहयोग, प्राध्यापक र कर्मचारीको योगदानका कारण क्याम्पस अहिलेको अवस्थामा आइपुगेको हो ।” “श्रोत अभावका कारण एक बर्ष त पिल्लर मात्रै खडा गरेर राख्यांै, पछि नगरपालिकालाई आग्रह गर्यौ, विश्वविद्यालय अनुदान आयोगमा प्रस्तावना पठायौं, सबैले सकारात्मक रुपमा लिएपछि, आत्मविश्वास बढ्यो’–उनले भने ।भवन निर्माणका लागि चार करोड लागत अनुमानको नक्सा तथा डिजाईन फ्यूजन कन्सल्टेन्सीले तयार पारेको हो । तीन तला रहने भवनमा १६ कोठा रहने छन् । भवनलाई भूकम्प प्रतिरोधात्मक बनाईएको आर्किटेक्ट इन्जिनियर बाबुराम भण्डारीले बताए । उनले भने–“नेपाल उच्च भूकम्पीय जोखिममा छ, प्रतिरोधात्मक बनाउनुको विकल्पै छैन ।” भवन पुरै सम्पन्न गर्न अझै साढे दुईकरोड रुपैयाँ आवश्यक छ, क्याम्पस प्रमुख बुढाथोकीले भने–‘अब त्यसका लागि स्थानीयको अझै ठूलो योगदानको आवश्यकता छ ।” कुल लागतमा २५ प्रतिशत हिस्सा लगानी स्थानीयको रहे अपनत्व वढ्ने उनको ठम्म्याई छ । क्याम्पसको शिक्षा विश्वविद्यालय अनुदान आयोगले तोके अनुसारको गुणस्तरमा पुर्याईने समेत क्याम्पस प्रमुख बुढाथोकीले बताए । हामी विश्वविद्यालय अनुदान आयोगबाट क्यूएएको प्रमाणपत्र लिने तयारीमा छौं, उनले भने–‘यसले अन्तर्राष्ट्रिय गुणस्तर कायम हुनेछ ।” विविएस सँगै क्याम्पसलाई टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तर्फको शिक्षामा जोड दिन विश्वविद्यालय अनुदान आयोगले सुझाव दिएको छ । निकट भविष्यमा क्याम्पसले एमविएसको कक्षा समेत संचालन गर्ने तयारी गरेको छ । जनप्रकाश उच्च मा.वि को भवनमा बिहान मात्र कक्षा संचालन हुँदै आएको क्याम्पस अव बिहान र दिउँसोमा समेत संचालन हुने तयारीमा छ । शुरुमा बर्षमा आर्थिक संकट व्यहोरेको क्याम्पसमा झण्डै १३ महिनासम्म प्राध्यापकले तलव समेत नखाएको तितो अनुभव छ । अहिले भने क्याम्पस आर्थिक रुपमा समेत बौरिंदै गएको छ । हालै विश्वविद्यालय अनुदान आयोगले कम्प्यूटर उपकरणको लागि साढे सात लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम ल्यापटप, कम्प्यूटर, प्रोजेक्टर लगायतका सामाग्री खरिदमा खर्च गरिने छ । क्याम्पसमा अहिले विविएस तर्फ झण्डै दुईसय भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
Post a Comment