0
गोल्डेन न्यूज संवाददाता
लामो समय खडेरीका कारण बारीमा छरेको मकै सुक्न थालेपछि यहाँका किसान चिन्तित बन्न थालेका छन् । अधिकांश गाविसमा समयमै पानी नपर्दा धानचामर मुखमुखमा आएको मकै बारीमै सुक्न थालेको छ, भने कुनै कुनै गाविसमा अहिलेसम्म किसानले मकै छर्न पाएका छैनन् । यो बेलामा मकैलाई पानी चाहिने हुन्छ ।  यही समयमा मकैमा रसायनिक मलसमेत हाल्नुपर्ने हुन्छ । जिल्लाको शिखरपुर, ज्यामिरे, भोटसिपा, भीमटार, मेलम्ची, बाँसबारी, फटकशीला लगायत तल्लो भेगका गाविसमा अहिलेसम्म पानी नपर्दा मकै छर्न नपाइएको स्थानीय शिक्षक गणेश दाहालले जानकारी दिए ।  जिल्लाका माथिल्लो भेगमा पर्ने पुलपिङकट्टि, लिस्तीकोट, बाह्रबिसे, मानेस्वारा, धुस्कुन, सिन्धुकोट, पिस्कर, भोटेचौर, हैबुङ, थकनी लगायतका गाविसमा लगाइएको मकै बारीमै सुक्न थालेको छ ।    “भूकम्पबाट घरमा भएको अन्नपातसमेत गुम्यो, भित्रिन लागेको मकैसमेत खान नपाउने भएपछि भोकमारी लाग्ने हो कि भन्ने डर लागेको छ”–लामोसाँघुमा भेटिएकी पिस्करकी किसान रुकु न्यौपानेले दुःखेसो पोखे । उनका अनुसार अहिले सुकेको मकै काटेर गाईबस्तुलाई हाल्दासमेत खान छोडेका छन् । “प्रमुख खाद्यबाली धान र मकै हो । मकै बारीमै सुक्यो । खेतका गरा सबै फाँटेका छन् । धान रोप्न सक्ने सम्भावना छैन, अब के गर्ने, भोकै परिने भो”–हैबुङका किसान वीरबहादुर तामाङले भने । भूकमम्पपछि पाँङ्ग्रेटार र टेकानपुर गाविसमा खटिएका मूल्याङ्कन अधिकृत नानीराम पराजुलीका अनुसार जिल्लाको उत्तरी भेगका अधिकांश गाउँमा मकै उत्पादन त परैजाओस् बीउसमेत मासिएको छ । मकैको धानचमर लागेर सुत्ला च्याप्ने बेलामा मकै पूरै सुकेको छ ।  पानी नपरे गत वर्षको तुलनामा उत्पादन घट्ने कृषि विकास कार्यालयका प्रमुख वेदप्रसाद चौलागार्इँले बताए । केही समय पानी नपरे मकैका बोट पूर्णरुपमा सुकेर जाने स्थिति छ । जिल्लामा गतवर्ष ५० हजार ८०० हेक्टर क्षेत्रफलमा २५ हजार ९०० मेक्ट्रिक टन मकै उत्पादन भएको थियो ।

Post a Comment

 
Top