गोल्डेन न्यूज संवाददाता
कास्कीको चापाकोट गाविस–७, ऐसेलुचौर स्थित पञ्चकोश निमाविमा विद्यालयका लागि आवश्यक पर्ने ह्वाइट बोर्ड र मार्करका साथै जस्तापाता प्रदान गरिएको छ । रोट्¥याक्ट क्लव अफ अन्नपूर्णले ६५ हजार मूल्य बराबरको बोर्ड र मार्कर तथा ताइवानको एक संस्थाको तर्फबाट नौ वन्डल रङ्गीन जस्तापाता प्रदान गरिएको हो । कास्कीमा वैशाख १२ को महाभूकम्पबाट सबै भन्दा बढी प्रभावित विद्यालयको रुपमा रहेको पञ्चकोशीमा भवन भत्किएपछि अस्थायी टहरामा पढाइ संचालन भइरहेको छ । शनिबार विद्यालयमा आयोजित एक कार्यक्रममा रोट्¥याक्ट क्लवको तर्फबाट प्रदान गरिएको सामाग्री रोटरी इन्टरनेशनल नेपालको असिस्टेन्ट गभर्नर दिनेशशंकर पालिखे सहितले हस्तान्तरण गरेका थिए । अन्नपूर्ण रोटरी क्लवका अध्यक्ष तेजनाथ न्यौपानेको अध्यक्षता रोट्¥याक्ट क्लवका प्रदीप पहारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण रोटरी र अन्नपूर्ण रोट्¥याक्ट सदस्य एवं पदाधिकारीहरु र स्थानीय अभिभावकका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि पालिखे, अन्नपूर्ण रोटरीका अध्यक्ष न्यौपाने, चापाकोट गाविसका पूर्व अध्यक्ष तथा सिद्धबराह उच्च माविका अध्यक्ष भेषराज पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पराजुली र शिक्षक गंगाधर चापागाइँ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । सोही अवसरमा ताइवानी संस्थाको तर्फबाट संयोजक यामबहादुर गुरुङले विद्यालयका लागि आवश्यक पर्ने ९ वण्डल रङ्गीन जस्तापाता समेत प्रदान गरेका थिए । विद्यालय र ताइवानी संस्थाको बीचमा पोखराका व्यवसायी झम्कनाथ बरालले संयोजन गरेका थिए । यसैबीच पञ्चकोशी निमाविका लागि आवश्यक पर्ने डेक्स बेन्च समेत विभिन्न व्यक्ति र संस्थाको तर्फबाट सहयोग स्वरुप प्राप्त हुने अपेक्षा विद्यालयले गरेको छ । विद्यालयका पूर्व विद्यार्थी तथा पत्रकार गंगाधर पराजुलीका अनुसार एक रसियन महिलाले पोखरा घुम्न आएको बेला विद्यालयको स्थलगत भ्रमण गरि आफूले सक्दो सहयोग गर्ने बताएकी थिइन । उनले १५ हजार रुपैयाँ फर्निचर खरिदका लागि उपलव्ध गराएको र आफ्नै देशबाट सहयोग संकलन गरि केही रकम पठाउने आश्वासन दिएकी छन् । पोखराको बजार क्षेत्रमा रेष्टुरेन्ट व्यवसायमा संलग्न व्यवसायीहरुको संस्था सिटी रेवानले पनि कास्कीमा भूकम्पबाट सबैभन्दा बढी क्षतिग्रस्त विद्यालय भएकोले पञ्चकोशीलाई फर्निचरका लागि केही सहयोग गर्ने निर्णय गरेको सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्यालाई उद्धृत गर्दै पराजुलीले बताए ।
Post a Comment