0
पोखरा अमरसिंहचोक स्थित बंगुर वृडर कृषक सहकारी संस्था लि. ले बंगुरको पालन तथा बच्चा विक्रीवितरण गर्दै आएकोमा बुधबारदेखि मासु समेत बेच्न सुरु गरेको छ । पोखरा पृथ्वीचोक स्थित यातायात कार्यालय जाने बाटोमा संचालित कृषक फ्रेस हाउस एण्ड मिट सप्लायर्सको जिल्ला पशु विकास कार्यालय कास्कीका अधिकृत डा. शम्भु पाण्डेले शुभारम्भ गरे । पाँच वर्ष अघि लेखनाथ ५ विजयचोकमा स्थापित सो सहकारीले गत वर्षदेखि अमरसिंहमा सरेर दाना उद्योग समेत सञ्चालनमा ल्याईसकेको छ । अब आफै बंगुर उत्पादन गर्ने सहकारीले मासु समेत विक्री गर्न थालेपछि उपभोक्ताले कम्तिमा २० रुपैंया प्रतिकिलो मासुमा सहुलियत पाउने सहकारीले जनाएको छ । तीन लाख लागतमा मासु पसल सञ्चालनमा ल्याएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले बंगुर व्यवसायीहरु यसरी संगठित भई आय आर्जन क्षमता वृद्धि र पारस्परिक सहयोगको आधारमा व्यवसायीक विकास गर्ने उद्देश्यनुरुप अघि बढेकोमा खुशी लागेको बताए । उनले प्राविधिक हिसाबले स्वस्थ तबरले हुकाईएका बंगुर बँदेलको मासु स्वास्थ्यका लागि नराम्रो नरहने भएकाले यसतर्फ ध्यान दिन आग्रह गर्दै मासु बेच्ने ठाउँमात्र नभई बधस्थल समेत सफा हुनुपर्नेमा जोड दिए । ‘कृषकहरुले फार्मदेखि सिधै ल्याएर मासु बेच्ने भएकाले बीचमा नाफा खानेहरु नभएपछि पक्कै पनि सस्तो त पर्न जान्छ नै’ उनले भने–‘तर प्रतिष्पर्धी बजारमा टिक्न मूल्यका साथै गुणस्तरमा समेत ख्याल गर्नुपर्छ ।’ समयमै खोप दिने, स्वच्छ आहारविहारमा ध्यान दिए बंगुर, बँदेलको मासु स्वस्थकर हुने उनले सुझाए । विशेष अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका सहकारी निरीक्षक भुपेन्द्र थापाले सहकारीको अवधारणा अनुरुप अघि बढेकोमा धन्यवाद दिँदै सहकारीहरु पैसाले पैसा कमाउने भन्दा पनि यस्ता उत्पादनमुलुक हुनुपर्नेमा जोड दिए । सिप्रेड प्रोजेक्टका डा. राजेश चौधरीले सबै बंगुर व्यवसायी एकीकृत भएर वैज्ञानिक ढंगले बंगुरपालन गर्दै व्यवसायलाई अघि बढाउन सुझाव दिए । उनले मासुलाई फ्रिजिङ गरेर बेच्न समेत सुझाव दिए । सटर व्यवस्थापन समितिका सुवर्ण दुलालले किसानले उचित मूल्य पाउन नसकेको अवस्थामा अब आफै मासु विक्री वितरण गर्न थालेपनि सहकारीलाई पनि आर्थिक रुपमा लाभ हुने बताए । सहभागीलाई स्वागत गर्दै संस्थाका कानुनी सल्लाहकार योगबहादुर आचार्यले व्यवसायिक कृषक बन्दै बजारीकरणका लागि समेत मासु पसल सञ्चालन गर्न आवश्यक ठानेको बताए । गुणस्तरीय उत्पादन, शुद्धता र सरसफाईमा ध्यान दिएकै कारण पछिल्लो क्रममा बंगुरको मासुको खपत उच्च भएको बताए । उनले सहकारीमा आबद्ध करीब ५० बंगुर व्यवसायीहरुको फार्म निरीक्षण गरेर प्रतिवर्ष उत्कृष्ट ठहराई पुरस्कृत समेत गरिने जनाए । कार्यक्रमको अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष मिनबहादुर घलेले बंगुर व्यवसायीहरुलाई एकै ठाउँमा ल्याएर स्थापना भएको यो संस्था अहिले आफै दाना उद्योग संचालन गर्नदेखि मासु बेच्नसम्म सफल भएको बताए । उनले पोखरादेखि धेरै टाढा फार्म खोलेर व्यवसाय गर्नपरेकामा केही असहज भएकाले अब सबै व्यवसायीहरु एउटा राम्रो ठाउँमा एकीकृत रुपमा फार्म सञ्चालन गर्ने योजनामा रहेकाले सहयोग गर्न आग्रह गरे ।  कार्यक्रमको सञ्चालन लेखा संयोजक झलक जलारीले गरेका थिए ।

Post a Comment

 
Top