गोल्डेन न्यूज संवाददाता
जिल्ला शिक्षा कार्यालय कास्कीले बुधबारदेखि कास्कीका विभिन्न विद्यालयमा अनुगमन सुरु गरेको छ । जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यको नेतृत्वको टोलिले बुधबार ७ वटा विद्यालयमा अनुगमन गरेको हो । अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था, विद्यार्थी नतिजा, भौतिक पूर्वाधार, शैक्षिक सामाग्रीको उपलब्धता र प्रयोगको साथै भूकम्पले पारेको प्रभावको समेत निरीक्षण र विचार विमर्श गरेको जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले जानकारी दिए । अनुगमन गर्दा स्वीकृत नगरी विदा बसेका वा ढिलो उपस्थित भएका शिक्षकलाई जिशिकाले स्पष्टीकरण सोध्ने र चित्त नबुझे आवश्यक कारवाही गर्ने पनि आचार्यले बताए । अनियमित रुपमा संचालनमा रहेका मन्टेश्वरी, निजी तथा सामुदायिक विद्यालय र नियमित विद्यालय नजाने शिक्षकलाई कार्वाही गर्न अनुगमन सुरु गरेको भनाई आचार्यको छ ।सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईले अनुगमनका क्रममा देखिएका कमजोरी सुधार्न सम्वन्धित विद्यालयका प्रधानाध्यापकको ध्यानाकर्षण गराइएको बताए । ‘केही विद्यालयमा राम्रा प्रयासहरु गरेको पनि भेटियो,‘अर्का सहायक जिल्ला शिक्षा अधिकारी नवराज चापागाईले भने–‘तर अधिकांश शिक्षक अनुपस्थित हुने समस्या रोगकै रुपमा पाईयो ।’ सहायक जिल्ला शिक्षा अधिकारी चापागाईका अनुसार अनुगमन गरिएका ६ वटा सामुदायिक विद्यालयका ५४ जना शिक्षक मध्ये केहीको हाजिर रेकर्ड अध्यावधिक नभएको र केही शिक्षक गैरहाजिर भएको पाइएको थियो । टोलीमा सहभागी नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रामप्रसाद पोख्रेल र अखिल नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष स्थिरबाबु खनालले एकै स्वरमा भने, ‘जिसिका कास्कीको यो प्रयासले विद्यालयलाई जिम्मेवार बन्न र शैक्षिक गुणस्तर सुर्धान पक्कै बल प्रदान गर्नेछ ।’ उनीहरुको संयुक्त बाचा थियो, छड्केमा परेका शिक्षकलाई जोगाउन संगठन लाग्ने छैन, जिल्ला शिक्षा कार्यालयले गरेको सुधारका कार्यलाई हामी संस्थागत रुपमै सघाउँछौं ।’ टोलीले नविन उच्च मावि गैह्रापाटन, बाराही उच्च मावि मालेपाटन, मदरल्याण्ड उच्च मावि मासवार, श्रीकृष्ण मावि, मासवार जनप्रिय उच्च मावि सिमलचौर, सहारा निमावि पुरानो बस पार्क र नवप्रभात मावि नयाँ बजारको अनुगमन गरेको थियो । अनुगमन टोलीमा जिशिअ आचार्य, सहायक जिशिअद्वय चापागाई, नेपाल शिक्षक संघका अध्यक्ष शिरोमणि लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद पोख्रेल, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष स्थीरबाबु खनाल र संचारकर्मी दीपेन्द्र श्रेष्ठ सहभागि थिए । अनुगमनलाई आगामि दिनमा पनि निरन्तरता दिने आचार्यले बताए ।
Post a Comment