असार महिना लागेपछि झरी र बर्षामात्र शुरु भएको छैन, हाम्रा सरकारी कार्यालयको विकास निर्माण पनि शुरु भएको छ । विशेषगरी जिल्ला विकास समिति, नगरपालिका लगायतका भौतिक पूर्वाधार निर्माण गर्ने क्षेत्रमा यो काम बढी मात्रामा संचालनमा छ । अर्थात अव बजेट फ्रिज हुने संभावना देखिएपछि धमाधम काम गरेको देखाउने प्रवृत्ति नेपालीको संस्कृति जस्तै भैसकेको छ । हुनपनि पोखरा उपमहानगरपालिका क्षेत्रमा मात्र हेर्नेहो भनेपनि असार लागेपछि खुख्य सडक धमाधम खन्दै, कालोपत्रेको तयारी गरिएको छ । अहिले गिटी विच्छ्याउने र कालोपत्रेको कामपनि थालिएको छ । पोखरा र कास्कीका विभिन्न स्थानका सडकमा दुइतिर पूर्ण रुपमा नाली निर्माण भएको छैन । बजारको उपल्लो स्थानदेखि आएको बाढी सडकबाटै बग्छ । कतिपय स्थानमा थुनिएका नाली खोलिएको छैन भने कतिपय स्थानमा नाली विनानै कालोपत्रेको काम थालिएको हो । यस्तो अवस्थामा गरिने कालोपत्रेले कति दिन थेग्ला ? सर्वसाधारण जनताले सहजै अनुमान गर्न सक्छन् । हुनत काम गर्ने ठेकेदार र नगरपालिकालाई पनि यो कुरा जानकारी छ । बर्षादमा नाली विना कालोपत्रे गर्दा सडकको अवस्था कस्तो होला भन्ने उनीहरुले राम्रो सँग बुझेर पनि बुझ पचाइ रहेका छन् । किनकी पानी पर्न थालेपछि हतारमा गरिएको काम भत्काउनका लागि सजिलो माध्यम हो । त्यस माथी भलबाढी समेत भित्रिएपछि कालोपत्रेको हालत के हुने भन्ने सबैलाइ जानकारी भएर पनि यो काम गरिएको छ । काम नगरे भएको बजेट पनि फ्रिज भएर जाने, मन्त्रालयले कामै नगरेको नगरपालिकाको सूचिमा राख्ने र आगामी बर्ष पाउने अनुदान लगायतको बजेट कटौती हुने डर छ । काम गरेमा पनि टिक्ने कुनै ग्यारेन्टी भने छैन । कागजी रुपमा सफलता देखाउने र बजेट सकेको सफलता ठान्ने हाम्रो पुरानो परंपराले यो कच्चा काम भैरहेको छ । हिउँदभर बजेट नआउने र आएको पनि खर्च नगरी बस्ने प्रवृत्ति बढी रहेको छ भने बर्षाद लागेपछि हतारमा काम गर्ने यो परंपराले देशको समग्र विकास भत्केको छ । साथै सधैं आधा काम गरेर भ्रष्ट्राचार गर्ने बहाना पनि भएको छ । यस्तो कामको संस्कृतिलाइ रोक्ने संयन्त्र बनाउनुपर्नेमा हाम्रा राजनीतिक नेतृत्वले पनि असारे कामलाइनै प्राथमिकता दिएका छन् । बरु आफ्नो क्षेत्रमा काम गरेजसतो देखाएर जनतालाइ अलमल पार्ने कामहरु भैरहेका छन् । देशको दीर्घकालिन विकास योजना बनाएर बहुवर्षिय बजेट मार्फत खर्च गर्ने र फ्रिज हुने भन्ने अवधारणालाइ अन्त्य गर्नु आवश्यक छ । साथै काम गर्नका लागि समयमै चुस्त समिति बनाउने र अनुगमन तथा कार्वाहीको प्रकृयालाई बलियो बनाउन सकेमा मात्र जनताले चाहे जस्तो काम हुनसक्छ । नत्र हरेक बर्ष टालटुले प्रवृत्तिले काम गरिरहने हो भने नेपालको विकासले गति लिन सक्दैन । करोडौं रुपैयाँ बजेट न त सदुपयोग हुन्छ, नत देशको विकासको क्रम अगाडी बढ्छ । तसर्थ दीर्घकालिन विकास र समयमै काम गर्ने संस्कृतिको विकास गर्न जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment