गोल्डेन न्यूज संवाददाता
सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडले कास्की जिल्लाको थुम्की गा.वि.स वडा नं ७ मा रहेको शिवालय उच्च माध्यमिक विद्यालयमा सहयोग गरेको छ । भूकम्पले पीडित बनेको विद्यालयमा सहकारीका कार्यवहाक अध्यक्ष विश्वराज बाँस्तोला सहितको टोलीले १ दिने श्रमदान सहित विद्यालयमा ५ वटा अस्थायी कक्षा कोठा निर्माण गरि सहयोग गरेको सहकारीले जनाएको छ । उक्त कक्षा कोठा निर्माण कार्यक्रम संयोजक रोहितराज बाँस्तोलाले सहकारीले शैक्षिक थलोमा सहयोग गर्दा विद्यार्थीको भविष्य जोडिएको बताएका थिए । सहकारीले आर्थिक कलेक्सन मात्र नभै सामाजिक क्षेत्रमा उद्दार र सहयोग गर्ने योजनाका साथ करिव ९० हजारको लागतमा सो विद्यालयमा पठन–पाठन गर्ने विद्यार्थीलाई शैक्षिक वातावरण तयार गरेको सस्थाका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले जानकारी दिए । करिव ३ सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले सहयोगको अपेक्षा गरेपछि स्थानीय स्रोत र साधनको प्रयोगगरी कास्की जिल्लाको नमूना सहकारी सयपत्री सहकारीले सहयोग गरेको सहकारीका सहसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । ४ सय थान स्थानीय बाँसको खरिदगरी ठूला साइजका ५ थान त्रिपालबाट निर्माणगरिएको उक्त कार्यले विद्यार्थी र अभिभावकको भावनामा परिवर्तन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराप्रसाद सुवेदीले बताएका थिए । उक्त विद्यालयमा निर्माण गरिएको अस्थायी कक्षा कोठा निर्माण गर्न सहकारीका सल्लाहकार पदम जिसी, कार्यसमिति सदस्य राम गुरुङ, ऋण समितिका पुण्य पौडेल, लेखा समितिका भिमप्रसाद न्यौपाने, सहकारीका शुभचिन्तक विष्णु ओझा लगायतको श्रमदानमा उक्त विद्यालयको पठनपाठन सूचारु भएकोमा विद्यालयका प्राचार्य हरि सापकोटाले सहयोग र सयपत्री सहकारीको भावनालाई कदर गरेका थिए ।सयपत्री सहकारीले दोलखा जिल्लामा समेत सहयोग गरेको छ । गत वैशाख १२ गते गएको महाभूकम्प पीडित दोलखाबासीलाई सहयोगार्थ पोखरामा पत्रकारिता गर्दै आएका इश्वरी न्यौपानेको अगुवाईमा संकलन गरिएको विभिन्न सामग्री मध्ये सयपत्री सहकारीले ३१ हजारको लगानीगरी २० थान त्रिपाल सहयोग गरेको थियो । यसैगरी सयपत्री बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी बैंक मार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हुनेगरि १५ हजार १ सय १ रुपैयाँ नगद समेत प्रदान गरेको छ ।
Post a Comment