0
महाभुकम्पले प्रभावित मध्येको धादिङ जिल्लाका उत्तरी भेगका अधिकांश गाउँहरुमा नौ दिन बितिसक्दा समेत आवश्यक राहत पुग्न सकेको छैन । सडकले छोएका गाउँहरुमा सरकारले प्रत्येक घरधुरी एक बोरा चामल बाहेक अन्य सहयोग गर्न नसकिरहेको स्थानीयले गुनासो गरेका छन् । यद्यपी, केहि गाउँहरुमा तत्कालका लागि आवश्यकताहरु पोखरेलीले पुरा गरिदिएका छन् । पोखराबाट मानव मिलन नारी जागरण नेपाल,  श्री स्वामीनारायण मन्दिर पोखरा–१७, रामबजार युथ क्लब, निर्माण व्यवसायी समिति पोखरा लगायतका संघसंस्थाले धादिङको अति प्रभावित गाउँहरु पुगेर राहत वितरण गरी फर्किसकेको छ। बुधबार धादिङ पुगेको रामबजार युथ क्लबको टोलीले सल्यानटार ९ सिकटार, मुलपानी ९ ठुलोवेशी र मुलपानी ७ सिउरेनीबासीहरुलाई खाद्यान्न तथा पाल वितरण गरेको अध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिए । ‘राहत लिएर पहिलोपटक सो ठाउँमा पुगेपछि स्थानीयहरु राहतका लागि हानथाप गरे ।’ उनले भने– ‘हामीले धेरै लिएर गएका थियौ । तीन गाउँकालाई मिलाएर बाँड्यौ । सचिव खगेन्द्र क्षेत्रीले वास्तविक पीडित समक्ष पुगेर राहत प्रदान गर्न पाएकोमा सन्तोष मिलेको बताए । उनले भने– ‘यस्तो अवस्था होला भन्ने लागेको थिएन । यहाँ त पानी पिउन नपाएको अवस्था रहेछ । हामी अन्य संघसंस्थालाई पनि सोहि ठाउँमा गएर मिलाएर राहत बाँड्न सुझाव दिन चाहन्छौं ।’ टोली भोलिपल्ट मात्रै वर्षाका बाबजुत हिलाम्मे कच्ची बाटो छिचोल्दै पोखरा फक्र्यो । विहीबार निर्माण व्यवसायी समितिको टोली सल्यान्टारको माझगाउँ र सल्यानकोट ५ क्षेत्रका स्थानीयवासीलाई राहत प्रदान गरी फर्किसकेको छ । यस्तै, शनिबार मानव मिलन नारी जागरण नेपाल र श्री स्वामी नारायण मन्दिर पोखरा १७ बिरौटाको टोली ठूलो संख्यालाई पुग्ने गरी राहत लिएर धादिङ पुगेको हो । त्रिपाल, म्याट्रिक्स, चामल, चिउरा, दाल, ब्लान्केट लगायतका सामाग्री लिएर नौ घण्टाको यात्रापछि धादिङको मूलपानी ७ सिउरेनी पुगेको टोलीले सो क्षेत्र सहित लमिडाँडा, ठुलोवेशी, बुढाथुम गाविसको बुढाथुमबेशीका करीब एक सय घर परिवारलाई राहत वितरण ग¥यो । गाउँमा पुग्नासाथ पुष्पगुच्छाले स्वागत गरेका गाउँलेहरु देखेर टोलीमा सहभागी स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोलाले भने–‘भुकम्पले जनधनको क्षति पु¥याएपनि मनको क्षति भएको छैन । हर्षविभोर गाउँलेको आतिथ्यताले हामीलाई निकै खुशी लाग्यो ।’ मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष सावित्री शर्माले निकै असजिलो बाटो भएपनि वास्तविक पीडित समक्ष पुगेर राहत वितरण गरेपछि आउँदा जाँदाको दुःख चटक्कै बिर्सने र मनमा निकै सन्तोष लाग्ने बताईन् । आदर्श समाजकी व्यवस्थापक एवं सल्लाहकार दुर्गादेवी बास्तोलाले निकै राम्रो खेतीपाती हुने धादिङको सो ठाउँका स्थानीयको थातथलो नै उठाउने गरी गएको भुकम्पले आफूलाई निकै दुःखित तुल्याएको बताईन् । सचिव पार्वती पौडेलले अन्य राहत बाँड्न चाहनेहरुलाई यस्तै वास्तविक पीडित खोज्दै जान आग्रह गरिन् । स्थानीयसँग उपाध्यक्ष सविता बराल, सहसचिव कमला गिरी, पत्रकार गुप्तप्रसाद शर्मा लगायतले भुकम्पपछि सबै घर ढलेपनि नआत्तिन सान्त्वना प्रकट गरेका थिए । श्री स्वामी नारायण मन्दिर भुजगछ, गुजरात भारतबाट आएको राहत सामाग्रीलाई पनि सोहि स्थानमा वितरण गरियो । वितरणको जिम्मा लिएको श्री स्वामी नारायण धर्मशाला पोखराका संस्थापक संरक्षक श्रीप्रसाद दासजी स्वामीले प्रेसर कुकर, डेक्ची देखि लिएर सबै भाँडाकुँडा, तीन दिनका लागि हुने खाद्यसामाग्री वितरण गरेको जनाए । टोलीमा शास्त्री स्वामी अक्षरप्रिय दासजी, शास्त्री भक्तिचरण दासजी, रामजी बाई पटेल, खिमजीबाई पटेल, स्वामी नारायण मुक्तिनाथ विकास ट्रस्ट नेपालका महासचिव गंगाधर पौडेल, केन्द्रीय सदस्य रविप्रसाद बराल, स्वामीनारायण बाल मण्डलका अध्यक्ष सनेष सुवेदी, सदस्य धरणी बराल, कृष्ण अर्याल (मनोज) लगायतको सहभागिता थियो । यस्तै, बिरौटा युथ क्लबका सदस्यहरु स्वयं सेवकका रुपमा खटिएका थिए । चार हजार दुई सय रुपैंयाको सामाग्री रहेको कार्टुन सो क्षेत्रका एक सय ७५ घरपरिवारलाई वितरण गरिएको थियो । धादिङका सो क्षेत्रमा ६ लाख बढिको सहयोग प्रदान गरिएको हो । स्वामीनारायण मन्दिरले पर्वतको हुलास गाविसमा खाद्यान्न वितरण गर्नुका साथै गोरखामा सात सय किमि खानेपानी पाईप हेलिकोप्टरमार्फत पठाएको छ भने गोरखाका तीन सय बढि परिवारलाई खाद्यान्न भाँडाकुँडा वितरण गर्ने जनाईएको छ । यसैबीच टासिलिङ तिबेतियन शरणार्थी क्याम्प छोरेपाटनको तर्फबाट एकलाख १० हजार रुपैयाँ बराबरको ८२ बोरा चामल र अन्य सामाग्रीहरु राहत संकलन केन्द्र पोखरा विमानस्थलमा आइतबार बुझाइएको छ । क्याम्पका सोनाम साङ्पोले दिएको जानकारी अनुसार सोही क्याम्पको दुई वटा समूह विभिन्न राहत सामाग्री लिएर सोमबार धादिङ जिल्लाको आगिन्चोक गाविस वडा ३ स्थित गोलाङ जाने बताइन्छ ।

Post a Comment

 
Top