यहि वैशाख १२ गते शनिबार नेपालमा गएको महाविनाशकारी भुकम्पका पीडितहरुका लागि राहत तथा रकम संकलनमा देश विदेशमा रहेका विभिन्न संघ संस्थाले तीव्रता दिएपनि भुकम्प पीडितहरुले भने आफूहरुले ७÷८ दिन बित्दा समेत केही नपाएको गुनासो समेत गरिरहेका छन् । विकट गाउँमा नभई यातायात सुविधा पुगेका गोरखाका हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी, हंसपुर लगायतका गाविसका स्थानीयबासीले आफूहरुलाई राहत नआएको बताएको पत्रकार घनश्याम पाण्डेले जनाएका छन् । केही स्थानीय बासीले भने राहत आएपनि निकै कम मात्र सामग्री आउँदा व्यवस्थापन गर्न नसकिएको समेत बताएका छन् । गोरखाको जिल्ला विपत व्यवस्थापन समितिले भने हरेक गाविसमा राहत सामग्री र उद्दार टोली पुगेको बताएको छ । मानवीय क्षति नभएका तर बस्ने घर भत्किएका स्थानहरुमा उत्खननको काम हुन सकेको छैन् । जौवारीका स्थानीयबासीले राजनीतिक दलका नेता तथा प्रशासनका कोही पनि आफूहरुको समस्या सोध्न नआएको बताएका हुन् । एक स्थानीयका अनुसार सरकारबाट एउटा गाविसका लागि १ सय वटा पाल आएकामा वडामा भाग लगाउँदा १० वटा जति पर्ने तर एउटै गाउँमा १ सय घर विनाश भएकाले उपयोगमा समेत समस्या थपिएको छ । कतिपय स्थानमा विवाद समेत भएको छ । कतिपय स्थानमा बाहिरबाट सहयोगीहरुले स्वतःस्र्फुत रुपमा राहत लिएर लानेहरुलाई वीच बाटोबाटै स्थानीयहरुले खोस्ने गरेका छन् । राहत सामन लिएर सयौं गाडीहरु सञ्चार सम्पर्क र पहुँचका आधारमा मात्र ती सामन सम्बन्धित ठाउँहरुमा गएका देखिन्छन् । गोरखाकै कतिपय विकट गाउँहरुमा अहिले पनि सञ्चार सम्पर्क र राहत सामग्री पुग्न नसकेको स्वयं गाविस सचिवहरु बताउँछन् । यसैगरी गत महाभुकम्पले लेखनाथ नगरपालिका को वडा नं २, ३ र ६ मा करिब एक सय १८ घरमा क्षति पु¥याएको प्रारम्भिक तथ्याङ्क सार्वजानिक गरिएको छ । वडा सेवा केन्द्र अर्घौको पहल र राजनीतिक पार्टीका प्रतिनिधिको स्थलगत सर्वेक्षणबाट एक सय १८ घरमा क्षति पुगेको र त्यस मध्ये २४ वटा घरमा पूर्णरुपले क्षति पुगेको वडा सचिव लिलामणि भण्डारीले जानकारी दिए । यसैबीच आफ्नो वडाभित्र भुकम्पले क्षति पु¥याएका घर परिवारका लागि स्थानीय तह र राजनीतिक पार्टी प्रतिनिधिहरुको सक्रियतामा राहत संकलन गरि पीडित परिवारलाई वितरण गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment