0
गोल्डेन न्यूज संवाददाता
रेडियो हेमजाको आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा सोमबार हेमजामा निःशुल्क मधुमेह परीक्षण शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा दुई सय पाँच जनाको खाना अघि र पछि निःशुल्क मधुमेह परीक्षण गरिएको थियो । तीमध्ये ६८ जनामा मधुमेह देखिएको र २६ मधुमेहका नयाँ विरामी फेला परेको युआरएलले जनाएको छ ।  कार्यक्रमका प्रमुख अतिथि मधुमेह तथा थाइराइड विशेषज्ञ डा. सचिन ढकालले आहारविहार र व्यवायममा ध्यान दिन सके धेरै रोगबाट मुक्ति पाइने बताए। उनले रोगी लागिसकेपछि हतोत्साही हुने र हेलचेक्र्याइ गर्दा अकालमा ज्यान जान सक्ने भन्दै सजग भएर उपचार गर्न आग्रह गरे । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै पोखराका विभिन्न स्थानमा विभिन्न समयमा केही निःशुल्क परीक्षण र केही महङ्गा परीक्षणमा उल्लेख्य छुट दिएर यस्ता शिविर आयोजना गरिरहेको बताए । उनले भने–‘उपचारको आवश्यकता भएका सर्वसाधारण पैसाकै अभावमा परीक्षणबाट बञ्चित नहुन भनी हामीले यस्तो प्रयास गरेका हौं।’ उनले जेठ ३० गते शनिबार पार्दी, विरौटमा निःशुल्क मधुमेह परीक्षण शिविर हुने जानकारी दिए । रेडियोका अध्यक्ष अरुणस्तोम त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रबन्ध निर्देशक अर्जुन पौडेल र सञ्चालन सचिव केशवशरण पौडेलले गरेका थिए । सो अवसरमा ५० प्रतिशत छुटमा ४८ जनाले भिटामिन डि, एक सय चार जनाले थाइराइड, १६ जनाले भिटामिन बि १२, ५० जनाले मृगौलासम्बन्धी जाँच, ४६ जनाले मुटुसम्बन्धी जाँच र २५ जनाले कलेजोसम्बन्धी जाँच गराएका थिए ।

Post a Comment

 
Top