0
बिनाशकारी महाभूकम्पबाट थिलोथिलो भएर मुलुक राहत र पुनःनिर्माणमा जुटिरहेको बेला थप प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने देखिएको छ । म्याग्दीमा पहिरो खसेर कालीगण्डकी नदी थुनिंदा सिर्जना भएको भयावह स्थितिले त्यही देखाएको छ । आउँदै गरेको वर्षा ऋतुमा भूकम्पले हल्लाएका कमजोर संरचनाहरु थप जोखिममा पर्ने खतरा छ । कालीगण्डकीमा आएको पहिरोलाई त्यहीरुपमा बुझियो भने अन्यथा हुने छैन । यसबाट बच्नका लागि पूर्वशतर्कता र पूर्वतयारी त चाहिन्छ नै यसबाहेक राष्ट्रिय एकता र दृढ इच्छाशक्ति भएको सक्षम नेतृत्व खट्किएको विषय हो । भूकम्पको पीडाबाट मुलुक छट्पटाइरहेको परिस्थितिमा राजनीतिक दलहरुले राहत र उद्धारमा सक्रियता देखाएर एक खालको एकताको सन्देश प्रवाह गरेका छन्, त्यसलाई सकारात्मक नै मान्नुपर्छ । चरम राजनीतिक द्वन्द्वको अवस्थाबाट गुज्रिंदै आएका दलहरु प्राकृतिक बिपत्तिको घडीमा एकताबद्ध हुँदा आमजनता र अन्तर्राष्ट्रिय समुदायमा समेत सकारात्मक सन्देश प्रबाह भएको छ । तर पनि हिंजोका असहमतिका मुद्दाहरु हल गर्नैपर्ने भएकोले त्यसलाई छिटोभन्दा छिटो टुंग्याउनु राष्ट्र र जनताको हितमा हुनेछ । राजनीतिक समस्याको हल खोजेर राष्ट्रिय एकता सुदृढ पार्न सकियो भने प्राकृतिक बिपत्तिको सामना गर्न थप सजिलो हुनेछ । सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण गरेर दुबै समस्याको एकै साथ समाधान खोज्न सकिन्छ । केही स्वार्थी तत्वहरुले प्राकृतिक बिपत्तिलाई कमाउने अवसरको रुपमा लिएका छन् । त्रिपाल खरीद प्रकरणमा भएको भ्रष्टाचार त्यसको गतिलो उदाहरण हो । यसबाट राज्य सञ्चालकहरु नै भ्रष्ट भएको सन्देश जनतामा गएको छ । मन्त्रीस्तरमा भ्रष्टाचार हुँदा पनि प्रधानमन्त्री निरीह देखिएको लाजमर्दो अवस्था छ । अब दलहरुले राजनीतिक मतभेतलाई बिर्सेर कम्तिमा पाँच–दश वर्ष राष्ट्रको पुनःनिर्माणमा लगाउनुपर्छ । यसका लागि राष्ट्रिय एकताको सर्वपक्षीय सरकार निर्माण गरेर दलहरु अगाडि बढे भने प्राकृतिक बिपत्तिको सामना गर्दै राजनीतिक संकट समाधान गर्न सकिनेछ । तत्काल संविधान जारी गरेर स्थानीय निकायको निर्वाचन मात्रै गर्न सकियो भने पुनःनिर्माणको काम थप सहज बन्नेछ । त्यसैले राष्ट्रिय सरकार निर्माण गर्ने विषयलाई सरकार गठन वा पुनर्गठनको रुपमा नलिई राष्ट्रको नवनिर्माण गर्ने अर्थमा बुझ्नुपर्छ । हाम्रो राज्य अहिले कति कमजोर अवस्थामा छ भने विदेशी दाताहरुले समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न मानिरहेका छैनन् । विदेशी सहयोगबिना पुनःनिर्माणको काम कति सम्भव होला ? मुलुकको राष्ट्रियता बलियो बनाउनका लागि कम्तिमा देशभित्र भावनात्मक एकता पैदा गर्न जरुरी छ । दलहरुभित्र देखिएको बिरोधाभाष र नेताहरुका फरक–फरक भनाइ हेर्दा बलियो राष्ट्रिय एकताको सरकारको चाहना नै नभएको आशंका जन्मिएको छ । प्राकृतिक प्रकोपको बहानामा सत्तामा रहिराख्ने चाहना राख्नुभन्दा पार्टीभित्रका सक्षम युवाहरुलाई जिम्मेवारी दिने उदारता नेतृत्ववर्गले देखाउनुपर्छ । अहिलेको प्राकृतिक बिपत्तिलाई राजनीतिक सहमतिको आधार बनाएर नवनिर्माणमा जुट्न विलम्ब गर्नुहुँदैन । नेपाल प्राकृतिक बिपत्तिको उच्च जोखिममा परिसकेको छ । बाढीपहिरोले नागरिकका मनहरु हल्लिन थालिसकेका छन् । वर्षात नजिकिदैछ र सँगसँगै त्रास बढ्दै जाने खतरा छ । भूकम्पपछिको पुनःनिर्माण आफैमा चूनौतीपूर्ण काम हो । थप बाढीपहिरोबाट लाखौं नागरिक प्रभावित हुने खतरा देखिदैछ । छोटो मन, संकीर्ण चिन्तन र क्षणिक स्वार्थ कायम राख्ने हो भने मुलुक पार लाग्दैन । सबै गलत प्रवृत्ति त्याग गरेर नै राष्ट्रको नवनिर्माण सम्भव छ ।

Post a Comment

 
Top