0
गोल्डेन न्यूज संवाददाता
 यहि वैशाख १२ गते नेपालमा आएको महाभूकम्पमा परि पीडित भएकाहरुका राहत संकलन एवं वितरण कार्य जारी छ । यसैक्रममा वाराही मार्ग मालेपाटन–५ का दिदी बहिनी समूहले सिन्धुपलाञ्चोक जिल्लाका भूकम्प पीडितलाई सहयोग गरेका छन् । समाजसेवी देवी कोइराला, बिन्दु के.सी., गीता खत्री, लक्ष्मी अधिकारी, शकुन्तला थापा, बुधु श्रेष्ठ, निर्मला अर्याल, सीता श्रेष्ठ, लक्ष्मी खड्का लगायतको अगुवाइमा विभिन्न खाध्य सामग्री वितरण गरेको थियो । समूहले दाल, चामल, तेल, चिउरा, बिस्कुट, आलु त्रिपाल, कपडा लगायत सामग्री वितरण गरेको सुनिता कोइरालाले जानकारी दिइन् । समूहले सिन्धुपलाञ्चोक पिस्कर गाविसमा वितरण गरेको थियो । मालेपाटनमा घरदैलो कार्यक्रम गरी राहत संकलन गरी सो क्षेत्रमा वितरण गरेको जनस्वास्थ्य कार्यालय दमौलीका लेखा अधिकृत वसन्त कोइरालाले बताए । उक्त राहत वितरण कार्यक्रममा कञ्चन बचत तथा ऋण सहकारीका हेमन्त कोइराला लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीयहरुको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण गरिएको थियो ।यसैगरी सहारा प्रतिष्ठापन नेपाल, पोखरा–१२ ले धादिङको महादेवस्थानको चेपाङ वस्तीमा  पुगेर राहत वितरण गरेको छ । महादेवस्थान–१, मासखर्कका ३८ परिवार र वडा नं. ४ स्थित लाइपुरखर्कका २२ परिवारलाई राहत वितरण गरिएको सहारा प्रतिष्ठापन नेपालका संस्थापक निर्देशक डि.वी. विश्वकर्माले जानकारी दिए । भूकम्प प्रभावितहरुलाई दैनिक उपभोग्यका सामाग्री चामल, दाल, नुन, बिस्कुट र त्रिपाल गरि करिब २ लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको बताइन्छ । कार्यक्रममा संस्थापक निर्देशक विश्वकर्मा, समाजसेवी अमृत विश्वकर्मा, पत्रकार राजन उपाध्याय, चेपाङका अगुवा कृष्णबहादुर लगायतले राहत प्रदान गरेका थिए । यसअघि प्रभावित स्थानको वास्तविकता अवलोकन गरेर ती स्थानहरुमा पुगि वितरण गरिएको विश्वकर्माले बताए । मासखर्कका ३७ घरपरिवार खुला आकाश मुनि दिन गुजारिएका थिए । यसअघि सरकारले ७ परिवारलाई मात्र त्रिपाल वितरण गरेको थियो । सात घर पूर्ण क्षति भएपनि बाँकी सबै चर्किएका छन् । वर्षमा मुस्किलले तीन महिना खान पुग्ने चेपाङहरुलाई प्रदान गरिएको खाद्यन्न र त्रिपालले आफूहरुलाई ठूलो राहत मिलेको गाउँका ५२ वर्षीय अगुवा कृष्णबहादुर चेपाङले बताए । उनका अनुसार गाउँमा रहेको पश्चकन्या प्रा.वि. पढ्नै नहुने गरि चर्किएको छ । दुई कोठामात्र रहेको सो विद्यालयमा ४४ जना विद्यार्थीहरु अध्ययनरत छन् । भवन चर्किएका कारण उनीहरुको पठन–पाठन अनिश्चित बनेको बताउँदै कृष्णबहादुरले सहयोगका लागि आग्रह गरे ।यसैगरी पोखराका युवा पर्यटन व्यवसायी राधाकृष्ण आचार्यले गोरखाको छोप्राङका भूकम्प पीडितलाई राहत वितरण गरेका छन् । गत वैशाख १२ र २९ गते गएको भूकम्पले प्रभावित त्यस गाउँका १५ घर परिवारलाई आचार्यले फ्रान्सेली साथीहरुको सहयोगबाट संकलित राहत वितरण गरेका छन् । १५ घर परिवारलाई अस्थायी आवासका लागि १५ बण्डल जस्तापाता, खाद्यन्न तथा नगद हस्तान्तरण गरेका हुन् । २ लाख ५५ हजार रुपैैँया बराबरको राहत वितरण गरेको आचार्यले जानकारी दिए । सोही अवसरमा भूकम्पबाट परिवार नै गुमाएकी पाँच वर्षिया मनिता विकलाई दश जोड दुईसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने आचार्यले घोषणा गरिन् । उनले त्यसका लागि सदरमूकाममा रहेका विद्यालयसँग छलफल भैरहेको बताइन । त्यस्तै पीडित थप २ परिवारलाई १०÷१० हजार प्रदान गरिने उनले जानकारी दिइन । पोखरा—२८ कुरेचौरमा जन्मिएका आचार्य हाल फ्रान्समा पर्यटन व्यवसायीका रुपमा आवद्ध छन् । उनले फ्रान्सका युवाहरुलाई नेपालका विभिन्न ग्रामीण क्षेत्रमा घुमाउन ल्याउने गरेका छन् । पोखराका विभिन्न विद्यालयलाई सहयोग गर्नुभएका आचार्यसँग राहत वितरणका लागि लामाचौरका शिव बानिया र रामचन्द्र बानिया पनि छोप्राङ पुगेका थिए ।यसैगरी पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टले स्याङजा स्वरेकका भूकम्प पीडितलाई झण्डै डेढ लाख मूल्य बराबरको राहत वितरण गरेको छ । रिसोर्टका प्रबन्ध निर्देशक नरेश भट्टराईले स्वरेक गाउँ विकास समितिको कार्यलयमा एक कार्यक्रमका विच स्वरेकका भूकम्पबाट घरमा क्षति पुगेका र अहिलेसम्म राहत नपाएका झण्डै ७० जनालाई राहत वितरण गरेका थिए । द आर्ट अफ लिभिङ पोखराका संयोजक समेत रहेका भट्टराईले पिडामा परेका लाई मलम पट्टि लगाउन आफू स्वरेक पुगेको बताए । स्वरेक गाविसका सवै पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै पत्रकार घनश्याम पाण्डेयले  स्वरेक आफ्नो जन्म घर मात्रै भएर नआएको बताउँदै भूकम्प गएको लामो समय सम्म पनि राहत पाउन नसकेको खबरले आहातमा परेका लाई राहत दिनको लागि पुगेको बताए । पाण्डेयले भट्टराईले स्वरेकलाई लगाएको हरेक क्षणको गुन कुनै पनि स्वरेकीले नभुल्ने बताए । भट्टराईले ३७ वटा त्रिपाल, ३६ बोरा खाद्यन चामल नुन, दाल, चाउ चाउ, चिउरा लगायतका सामाग्री वितरण गरेका थिए भने रेडक्रस उपशाखा स्याङ्जा मार्फत ३० थान त्रिपाल वितरण गरिएको थियो । स्थानीय कमल पंगेनी, नारायण  प्रसाद अर्याल लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम स्वरेक गाविसका सचिव राम प्रसाद अर्यालको अध्यक्षता भएको थियो ।यसैगरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वी चोकले भूकम्पबाट प्रभावित निम्न आय भएका, एकल महिला, अपाङ्ग तथा जेष्ठ नागरिकलाई मंगलबार राहत सामाग्री वितरण गरेको छ । कास्कीकोे सिद्ध गाविसका ४, कालिकाका ३, घाचोकका २, पुरञ्चौरका १ र माझठाँनाका १ गरी ११ जना परिवारलाई १ बण्डल जस्तापाता र बाटो खर्च स्वरुप नगद रु.१ हजार प्रदान गरियो । सोही अवसरमा सत्यश्वर आमा समाज बसपार्क पोखराका अध्यक्ष विष्णुमाया श्रेष्ठले प्रति परिवार १ बोरा चामल लगायत राहत सामाग्री वितरण गरेकी थिइन । सामुदायिक सेवा केन्द्र पृथ्वी चोकका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले भूकम्प प्रभावित क्ष्ोत्रको स्थलगत अवलोकन गरी आवश्यकताका आधारमा राहत सामाग्री वितरण गरिएको बताए । अध्यक्ष श्रेष्ठले भूकम्प प्रभावत मध्ये एकल महिला, जेष्ठ नागरिक,अपाङ्ग र न्यून आय भएका परिवारलाई प्राथमिकताका आधारमा राहत उपलब्ध गराइएको जानकारी दिए । कालिका ४ कास्कीकी ७८ वर्षिय एकल महिला विष्णुमाया अधिकारीले राहत सामाग्रीले ठुलो सहयोग पुगेको बताइन । १० वर्षमा बिहे गरी १३ वर्षमा श्रीमान गुमाएकी अधिकारीले राहत सामाग्री पाएपनि घर बनाइदिने कोही नभएको गुनासो गरिन । राहत पाउनेमा कालिका ८ का ३४ वर्षिय दीपेन्द्र थापा क्षेत्री अपांङ्ग छन् । त्यस्तै सिद्ध ५ की ४३ वर्षीय उजेली वंशी श्रीमान वेपत्ता भएकोले स–साना बालबालिका सहित अरुको घरमा बस्दै आएकी छिन् ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका नायव उपरीक्षक केदार रजौरेले घाचोकका ८८ वर्षीय भूकम्प प्रभावित पस बहादुर राना मगरलाई सामाग्री प्रदान गरी कार्यक्रमको उद्घाटन गर्दै आधारभूत तहका जनतामा राहत पु¥याएर सामुदायिक सेवा केन्द्रले प्रशंसनीय काम गरेको बताए । उनले राहतले भूकम्प प्रभावितलाई मनोवल बढाउने विश्वास व्यक्त गरे । सामुदायिक सेवा केन्द्र पृथ्वी चोकका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार श्याम कुँवर, केन्द्रका उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, सचिव जयराम अधिकारीले पारिवारिक स्थिति दयनीय भएका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको बताए । यसैगरी कास्कीकोटमा रहेको कालिका उच्च माविका विद्यार्थीहरुले भूकम्पबाट प्रभावित जिल्लाहरुका लागि एक दिनको खाजा खर्चको रकम दिएको कालिका उच्च माविका शिक्षक नायक मित्रलाल सुवेदीले जानकारी दिए । विद्यार्थीहरुले तीन हजार पाचँ सय रुपैयाँ एक दिनको खाजाबाट संकलन गरेको रकम शिक्षक नायक सुवेदी एक कार्यक्रमका बीच जिल्ला रेडक्रस कार्यालय कास्कीलाई हस्तान्तरण गरेका छन् । कास्कीकोट उपशाखाले पनि प्रभावित भएका कास्कीकोटका घरहरुका राहत तथा पूनःस्थापना गर्न पहल  गरिरहेको कास्कीकोट उपशाखा सभापति ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिएका थिए । कास्कीकोटमा भूकम्पका कारण हालसम्म ५७ वटा घरहरुमा आंशिकक र पूर्णरुपमा क्षति पुगेको । पहिलो चरणमा क्षतिग्रस्त घरहरुमा त्रिपाल वितरण गरी सकिएको छ । विद्यालय परिवारले पनि सहयोगका लागि अन्य कार्यक्रम पनि गर्ने प्राचार्य इश्वरी प्रसाद बस्ताकोटीले जानकारी दिए । यसैगरी पोखरा ६ बैदामस्थित बटरफ्लाई फाउण्डेसनले पोखरा २६ सराङकोटस्थित अमरज्योति उच्च माविको छात्राबासमा बस्दै आएका भूकम्प पीडित तथा असहाय बालवालिका लाई सहयोग प्रदान गरेको छ ।



स्कुलका शिक्षक, विद्यार्थी तथा अभिभावक मिलेर सञ्चालन गरेको आन्तरिक छात्रावासमा बस्दै आएका ३० जना वालवालिकालाई फाउण्डेसनले डे«स, बेड, विस्तारा, पकाउने भाँडा, दैनिक रुपमा प्रयोग हुने सामानहरु गरेर करीब १ लाख ३० बराबरको रकम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक हेमप्रसाद तिमिल्सिनाले जानकारी दिए । विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच सो सामान बटरफ्लाई फाउण्डेसनका अध्यक्ष गोविन्दराज पहारीले विद्यालयका प्रअ तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए । यसैगरी लेखनाथ अर्घौ बजार व्यवसायी समितिको संयोजन र स्थानीय आमा समूह,टोल विकास सस्था र युवा क्लबको सहभागितामा धादिङ जिल्लाको सल्यानकोट गाविस वडा नं २,३,४ र ५का भूकम्प पीडित परिवारलाई सहयोग गरेको छ । स्थानीय स्तरमा संकलन गरिएको चामल,दाल,आलु,तेल,नुन लगायतका खाद्य सामाग्रीलाई सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सल्यानकोट गाविसको हतियामा मंगलबार सामूहिक रुपमा एक सय ८७ घर परिवारलाई वितरण गरिएको हो । गत बैशाख १२ र २९गते गएको भुकम्पका कारण घर बार गुमाएका पीडित परिबारलाई राहत स्वरुप गाविस सचिव र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको रोहबरमा सामूहिक रुपमा २५ सय बराबरको खाद्य सामाग्री वितरण गरिएको लेखनाथ अर्घौ बजार व्यवसायी समितिका अध्यक्ष शिवप्रसाद भण्डारीले जानकारी दिए ।यसैगरी गत बैशाख १२ गतेको महाभूकम्पमा परेर घाइते भएर पोखराको गण्डकी मेडिकल कलेजमा रहेका घाइते र तिनका कुरुवाहरुलाई इनरह्विल कल्ब अफ न्यूरोड पोखराले खाना खुवाएको छ । अस्पतालमा रहेका करीब ६० जनालाई खाना खुवाइएको क्लबका अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिइन । बेलजियमको जुइडेरटेरसमा काम गर्ने नेपाली र विदेशीबाट संकलन गरेको रकमबाट आफूहरुले सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन । उक्त रेष्टुरेण्टमा काम गर्ने नेपाली तथा विदेशीले इनरह्विल क्लब अफ न्यूरोड पोखरालाई १ लाख ३५ हजार सहयोग गरेका थिए । क्लबले यस अघि तनहुँको फिरफिरे, लामागाउँ र लिलाचोक लगायतमा खाद्यान्न सामाग्री वितरण गरीसकेको छ भने आगमी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताइएको छ । अस्पतालमा अहिले १२ जना भूकम्प पीडित रहेका छन् । अस्पतालमा अधिकांश गोरखाको बारपाक र धादिङ लगायतका क्षेत्रका भूकम्प पीडित रहेका छन् ।

Post a Comment

 
Top