0
विनासकारी भूकम्पपछि निम्तिएको विपद्मा पीडितलाई सहयोग गर्न सबैजना एकजुट हुनुपर्ने कार्यक्रमका वक्ताले जोड दिएका छन् । क्षेत्री समाज नेपाल म्याग्दीले भूकम्पबाट मृत्यु भएकाहरुको मोक्ष प्राप्ति र घाइतेको सहयोगका निमित्त राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति अयोजित श्रीमद्भागवत ज्ञानमहायज्ञ आयोजना गरिएको थियो । नौ दिनसम्म चलेको सो महायज्ञमा एक करोड ५४ लाख रुपैयाँ संकलन भएको थियो । समापन अवसरमा सभासद् रेशमबहादुर बानियाँले सबै पार्टी, जाति एक भइ अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले समाजले सधैँ राष्ट्रिय हित हुने कार्य गरेकोले सबै क्षत्रीहरुले एकताको सन्देश दिनुपर्ने बताए । समाजका केन्द्रीय सल्लाहकार सोभियतबहादुर अधिकारीले आस्था र विश्वासलाई बलियो बनाउन सके सहयोग र विकास पूरा हुने बताए । राष्ट्रिय परोपकार महासंघका अध्यक्ष युवा पण्डित कमलनयन गौतमले धर्मको रक्षाले सबैलाई शक्ति मिल्ने हुँदा सबैले धर्मको रक्षा गर्नुपर्नेमा जोड दिए । क्षेत्री समाज नेपाल म्याग्दी अध्यक्ष अमृतदेवी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार प्रेमबहादुर जिसी, महासचिव रोमबहादुर कार्की, महिला उपाध्यक्ष उर्मिला खड्का, सचिव कृष्ण थापा, केन्द्रीय सदस्यहरु क्या. अनिरुद्र थापा, दया बराल, चेतबहादुर कार्की, कृष्णबहादुर थापा, समाजका संस्थापक अध्यक्ष योगेन्द्रबहादुर रावल, पूर्वअधयक्ष मीनबहादुर कार्की, वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर के.सी., सचिव कृष्ण बहादुर बानियाँलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रमुखवाचक पण्डित गौतमसहित चन्दादाता, कलाकार, सहयोगीलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top