0
बैशाख १२ मा गएको महाभुकम्पबाट पीडित भएका हरुका लागि कास्कीका विभिन्न संघसंस्थाहरुले राहत संकलन र वितरण कार्यलाई तीव्र पारेका छन् । यसैक्रममा महाभुकम्पबाट क्षतिग्रस्त रसुवा जिल्लाको लहरेपौवा र धैबुङ्ग गाविसमा सिद्धार्थ क्लब पोखरा, लायन्स क्लब अफ पोखरा सेन्टर स्टार, अन्नपूर्ण सामूदायिक बिकास मञ्च, एक्टीभिष्टा कास्की, जागृति युवा मञ्च, भूमि अधिकार मञ्च, टुरीष्ट बुक्स एशोसिएशन, लगायतका संस्थाहरु एक लाख ५८ हजार रुपैयाँ भन्दा बढीको खाद्य सामग्री सहित रसुवा जाने भएका छन् । जिल्ला रेडक्रस सोसायटी कास्कीको समेत सहयोगमा संकलीत स्वस्फुर्त रुपमा खाद्य तथा अन्य अति आवश्यकिय सामग्री संकलन गरी सिद्धार्थ क्लबले उक्त सामग्रीको व्यवस्थापन गरेको क्लवका अध्यक्ष दीपेन्द्र मर्सानीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैगरी कास्की जिल्लामा रहेको सहकारी संघ संस्थाहरुले हाल सम्म रु, ४ लाख ३४ हजार रकम संकलन गरेको छ । दोस्रो दिनको संकलन अभियानमा सहयोग गर्ने संघ संस्थाहरुमा जिल्ला सहकारी संघ लि.कास्कीको सञ्चालकहरु बाट ६ हजार १२०, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघका सञ्चालकहरुबाट ३ हजार ५७०, तोडा बचत तथा ऋण सहकारीबाट ५१ हजार, कोन सामुदायिक बचत तथा ऋण सहकारीबाट ३८  हजार २५ सहयोग गरेका छन् । यसैगरी निलगिरी बचत तथा ऋण सहकारीबाट २५ हजार १००, आमामिलन बचत तथा ऋण सहकारीबाट १७ हजार १०९, पुईमे बचत तथा ऋण सहकारीबाट १६ हजार ११, नमुना बचत तथा ऋण सहकारीबाट १४ हजार २५, नवसाथी बचत तथा ऋण सहकारी बाट ११ हजार १११, जनसेवा बचत तथा ऋण सहकारी बाट ११ हजार १११, पवित्र बचत तथा ऋण सहकारी बाट ११ हजार १११, पिपल्स बचत तथा ऋण सहकारी बाट १० हजार २४५, हाम्रो बहुउद्देश्यीय सहकारीबाट १० हजार, कोपिला बचत तथा ऋण सहकारी बाट ९ हजार, एभरेष्ट सहकारी संस्थाबाट ७ हजार, कोलपाटन बचत तथा ऋण सहकारी बाट ५ हजार ५, बिरौटा बचत तथा ऋण सहकारी बाट ५ हजार, घाचोक दुग्ध उत्पादक सहकारीबाट ३ हजार, हिमशिखर दुग्ध उत्पादक सहकारीबाट १ हजार १५१, कालिका कृषि सहकारीबाट १ हजार, गुन्टेचौर दुग्ध उत्पादक सहकारीबाट १ हजार, पिपलबोट दुग्ध उत्पादक सहकारीबाट १ हजार र फेवा जनजागृति दुग्ध उत्पादक सहकारीबाट १ हजार सहयोग संकलन भएको छ । संकलित रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिने भएको छ । यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चल कार्यसमिति र कास्की जिल्ला कार्यसमितिले भुकम्प पीडितलाई ५० हजार सहयोग गरको छ । उक्त रकम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङगानालाई अञ्चल अध्यक्ष जीवन दाहाल र कास्की अध्यक्ष शिवहरि ढुङगानाले संयुक्त रुपमा हस्तान्तरण गरे । देशभर महाभुकम्पले निम्त्याएको महाविपत्तिको मारमा परेका सम्पूर्ण नेपाली महानुभावलाई थोरै मात्र भएपनि बल्झिएको घाउमा मलम लगाउनका लागि प्रतिष्ठानले राहत वितरण गरेको अञ्चल कार्यसमिति का अध्यक्ष जीवन दाहालले जानकारी दिए । यसैगरी पोखरा उद्योग वाणिज्य संघले पीडित महिलाहरुलाई सेनीटरी प्याड पठाइएको छ । गोरखा बारपाक र लारप्राक लगायतका  प्रभावित ठाउँहरुका महिलाले रजस्वला पछि असहज परिस्थितिको सामाना गरीरहेको भन्ने खवर आएपछि  पोखरा उद्योग वाणिज्य संघको राहत कोष मार्फत ५ हजार ४० वटा थान सेनीटरी प्याड संघका कार्यसमिति सदस्य हिरा भट्टराई र विन्दु कोइराला र सीता गुरुगंको संयुक्त पहलमा प्रभावित क्षेत्रमा पठाएको हो । ‘पीडित महिलामा मानसिक त्रास त छँदैछ त्यसमाथि शारीरिक समस्यका कारण झन् बढि महिला पीडित हुन पुगेका छन् । संघका केही सदस्यहरु प्रभावित क्षेत्रमा पुग्दा महिलामा रजस्वलाको समस्या देखिएको त्यसबाट महिलाहरुलाई असहज भइरहेको भन्ने खबर प्राप्त भएपछि सो प्याड पठाएको संघका सदस्य हिरा भट्टराईले बताइन । यसैगरी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले गत शनिवार गएको भूकम्पबाट प्रभावित १ हजार २ सय ४ परिवारलाई राहत वितरण गरेको छ । पूर्ण र आंशिक रुपमा क्षति पुगेका पीडितहरुलाई बिहीवारसम्म कास्कीसहित विभिन्न जिल्लामा   राहत प्रदान गरिएको हो । हालसम्म शाखाले १ हजार ७ सय ४१ थान त्रिपाल, १ हजार २ सय १८ थान कम्वल वितरण गरिएको सभापति बामदेव ढुङ्गानाले जानकारी दिए ।  साथै ३ हजार ४ सय ४५ केजी चामल लगायत खाद्य सामग्री वितरण गरिएको छ ।  यसमध्ये ५ सय ५१ थान त्रिपाल गोरखा र धादीङ र १ हजार १ सय ९० थान कास्कीमा वितरण गरिएको शाखा उपसभापति एवम् विपद व्यवस्थापन समितिका संयोजक दण्डराज शर्माले बताए । कास्कीमा सल्यान, रुपाकोट, थुमाकोडाँडाँ, रिभान, घाँचोक, धिताल, पार्चे, नामार्जुङ र भाचोकमा  गाविसहरुमा राहत वितरण गर्न अझै बाँकी रहेको कास्की शाखाका मन्त्री कृष्ण तिमिल्सिनाले जानकारी दिए । भुकम्प प्रभावितहरुलाई बस्नको लागि आवश्यक पर्ने त्रिपाल अभाव हँुदा वितरणमा समस्या परेको छ । वितरणसँगै शाखाले राहत संकलन अभियान जारी राखेको छ । शाखाको कार्यालयमा स्थापना गरिएको सहयोग कक्षमा पुगेर सहयोग विभिन्न संघसंस्था र व्यक्तिहरुले नगद तथा जिन्सी सहयोग गरेका हुन् ।यसैगरी पोखराको चिप्लेढुंगा र न्यूरोडमा व्यवसाय गर्दै आएका युवा विष्णुबहादुर थापाले भूकम्प पीडितहरुको लागि नगद ७५ हजार सहित करिब ३ लाख बराबरको र जिन्सी सहयोग गरेका छन् । निभा र नेहा नामक रेडिमेड कपडाको व्यवसाय गर्दै आएका उनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नगद ३५ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले पोखरा उद्योग वाणिज्य संघमार्फत सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाएका हुन् । सरकारको आह्वानालाई शिरोपर गर्दै आफूले सो रकम प्रदान गरेको उनले बताए । यसैगरी थापाले पोखरा उद्योग वाणिज्य संघमार्फत नै भूकम्प पीडितको लागि नगद ४० हजार रुपैयाँ प्रदान गरे । यसैगरी नेपाली विद्यार्थी समाज, दक्षिण कोरीयाले गोर्खाका भूकम्प पीडितहरुलाई सहयोग प्रदान गरेको छ । नेपाली विद्यार्थी समाज दक्षिण कोरीयाको सहयोगमा घ्यारुङ गाविसको खुगि, गोर्खा नगरपालिका ४ घै डाडाँ, बोर्लाङ गाविस र छोप्राक गाविस अमरईमा त्रिपाल वितिरण गरको हो । ती गाउँमा ७५ वटा पाल वितरण गरेको हो । यसैगरी थ्री एन्जल्स नेपालले सहयोग गर्ने क्रम जारी रहेको छ । सहयोगकै क्रममा बिहीबार पोखराको गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा औषधि तथा उपचार सामाग्री हस्तान्तरण गरिएको छ । थ्रीएन्जल्स नेपालका निर्देशक डा राजेन्द्र गौतमको नेतृत्वमा गएको टोलीले गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरुका लागि अपरेशनका लागि आवस्यक पर्ने सामाग्री तथा औषधि प्रदान गरेको छ । बिहीबार एक कार्यक्रमका बीच डा गौतमले गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेण्डेण्ट डा विके सिंघललाई करिब ९४ हजार बराबरको उक्त सामाग्री हस्तान्तरण गरे । यसैगरी काठमाडौंबाट पोखरा आउनका लागि शुक्रबार बिहान गोंगवुस्थित बसपार्कबाट १० वटा पर्यटक बसको व्यवस्था गरिएको र ती बसले निःशुल्क सेवा दिने जानकारी नाट्टा क्षेत्रीय संघ पोखराका अध्यक्ष पोम नारायण श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैगरी पोखरा को चिप्लेढुगांमा अवस्थित चिप्लेढुगां मिनी मार्केटले आज गोरखामा पुगेर राहत वितरण गरेको छ । आँपपिपल गाविस वडा नं ६ र ७ का साथै हर्मीको वडा नं. ८ थानेश्वरमा पुगि राहत वितरण गरेको हो । करिब १ लाख रुपैयाँ बराबरको त्रिपाल, म्याट्रेस, लत्ताकपडा, चाउचाउ, चिउरा लगायतका खाद्यान्न सहितको राहत सामाग्री वितरण गरेको छ । यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ ले देशभर भएको विनासकारी भूकम्पमा परी घरबार विहिन भएका २५ घरपरिवारलाई राहत वितरण गरेको छ । राहत वितरण गर्ने क्रममा उपशाखा १०, ११ का सचिव सूर्य बहादुर बानियाको नेतृत्वमा गएको १० सदस्यीय टोलीले गाउँका भुकम्पमा परेका परिवारलाई उपशाखा १०, ११ लाई सहयोग प्राप्त सामानहरु नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरी तनहुँको आँबुखैरेनी पौवेगाउँ भार्केचोक गाउँमा प्रति परिवारलाई टेण्ट १, चालम आधा बोरा, मेटे«क्स १, ब्ल्याङकेट १, फ्रुटी, चिउरा, कपडा, दालमोठ, चाउचाउ लगायतका खाद्य सामाग्री  वितरण गरिएको थियो ।

Post a Comment

 
Top